साप्ताहिक संवाददाता
रसिला केसी फेसनकी पारखी हुन् । उनी अमेरिकाको टेक्सास राज्यको ड्यालस क्षेत्रमा बसोबास गर्छिन् । टिपिकल नेपाली पहिरन पनि केसीको रोजाइमा पर्छ । केही वर्षअघिसम्म यता नेपाली पहिरन फेला पार्न हम्मे–हम्मे पर्थ्यो अथवा नेपालबाटै मगाउनुपर्थ्यो । यसरी मगाउँदा साइज नमिल्नेदेखि लिएर अरू थुप्रै समस्या फेसन पारखीहरूले झेल्दै आएका थिए । अब त्यो सबै झन्झटबाट छुट्कारा मिलेको छ ।
अहिले नेपाली पहिरन खोज्नेहरूलाई सहज भएको छ । ‘अहिले त हामीलाई चाहिने सबै नेपाली पहिरन यतै पाइन्छ’ केसीले भनिन्– खोजेको सबै नेपाली पहिरन एकै ठाउँमा उपलब्ध हुन्छ ।
टेक्सासको अर्भिङ स्टर्स रोडमा खुलेको पहिरन फेसन नेपाली पारखीहरूको रोजाइ बनेको छ । यो शोरुम केही वर्ष अघिनै खुलेको भए पनि दुई महिनाअघि मात्र शीतल श्रेष्ठले नेपाली पहिरनलाई प्राथमिकता दिएर पुनः सञ्चालनमा ल्याएकी हुन् । नेपाली पहिरनको माग बढ्दै गएपछि पहिरन फेसनमा भीडभाड पनि बढ्दै गएको छ ।
टिपिकल नेपाली पहिरनलाई नै पहिरन फेसनमा प्राथमिकता दिइएकाले त्यहाँ नेपालीहरूकै भीड लाग्छ । मौसमअनुसारको पहिरन उपलब्ध हुने भएकाले त्यहाँ कुनै झन्झट हुँदैन । अहिले त्यहाँ नेपाली दौरा–सुरुवाल तथा गुन्यू–चोली बढी बिक्री भैरहेको श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठका अनुसार पास्नीमा प्रयोग हुने पहिरनदेखि विवाहमा प्रयोग हुने बेहुला–बेहुलीको पहिरनको पनि त्यत्तिकै माग छ । ‘नेपालको चिनारी झल्कने पहिरनको माग पनि बढिरहेको छ,’ उनले भनिन्– विदेशीहरूले समेत नेपाल लेखिएका टिर्सट सहित अन्य पहिरन चिनोका रूपमा खरिद गर्न थालेका छन् ।
विदेशमा नेपाली परिहनको प्रवर्द्धनसमेत गर्ने उद्देश्य बोकेको परिहन फेसनमा नेपालको झन्डा अंकित तथा नेपाल लेखिएको टिसर्टदेखि नेपाली टोपीलगायतका पहिरन खोज्नेहरू आउने क्रम बढेको छ । ‘नेपाली पहिरन नेपालबाटै मगाउँदै आएको थिएँ, तर अब हामीलाई चाहिने सबै खालका पहिरन यतै उपलब्ध छ,’ टेक्सासको युलेसमा बस्दै आएका नरेश महर्जन भन्छन्— खोजे जस्तो र रोजे जस्तो सबै खालको नेपाली पहिरन यही पाइन्छ । नेपाली समुदायका महिला, युवा एवं बालबालिकाहरूले अब नेपालबाट पहिरन मगाउनुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।