साप्ताहिक संवाददाता
नेपाली बजारमा समयअनुसार फरक–फरक फेसन क्रेज देखा परिरहन्छ । कुनै फेसनले क्षणिक समय बजार पिट्छ भने केहीले सदावहार रूपमा बजारमा आफ्नो आधिपत्य स्थापित गरिरहेका हुन्छन् । नेपाली पहिरन पारखीहरूका लागि कहिल्यै पुरानो नहुने त्यस्तै फेसनमध्ये एक हो— जिन्स । जिन्सका कपडाबाट बनेका पहिरन नेपालीहरूमाझ सदावहार फेसनका रूपमा स्थापित छन् । जिन्सका पहिरन बालकदेखि वृद्धसम्म सबैको रोजाइमा पर्छन् । नेपालमा अहिले विभिन्न ब्रान्डका जिन्सका पहिरन उपलब्ध छन् । आयातित जिन्सको रेडिमेड पहिरनको बजार एकातिर छ भने अर्कातिर विदेशबाट जिन्सको कपडा मगाएर आफ्नै फ्याक्ट्रीमा पहिरन निर्माण गर्नेहरू पनि उत्तिकै सक्रिय छन् ।
त्यस्तैमध्ये पर्छिन्– फेसन डिजाइनर मुना थापा । थापाले विगत २० वर्षदेखि जिन्सका पहिरनको फ्याक्ट्री सञ्चालन गर्दै आएकी छिन् । स्वयम्भूस्थित उनको फ्याक्ट्रीमा बजारको मागअनुसार जिन्सका पहिरन उत्पादन हुन्छन् ।
उनको फ्याक्ट्रीमा जिन्सका पाइन्ट, सर्ट, कुर्ती, टिसर्ट, ज्याकेट आदि उत्पादन गरिन्छ । ती पहिरनको डिजाइन थापा स्वयंले गर्दै आएकी छिन् । उक्त फ्याक्ट्रीमा ७७ वटै जिल्लाका पहिरन व्यवसायी आउँछन् र उनीहरूले बजारको माग र आवश्यकताअनुसार पहिरन अर्डर गर्छन् । ‘हामीले उत्पादन गरेका जिन्सका पहिरन नेपालका ७७ वटै जिल्लामा जान्छन् भने काठमाडौंमा होलसेलमार्फत बिक्री गर्छौं,’ थापा भन्छिन् । उनको फ्याक्ट्रीमा उत्पादन भएका जिन्स पाइन्टको होलसेल मूल्य १ हजारदेखि ३ हजार रुपैयाँसम्म पर्छ, जसलाई खुद्रा व्यापारीले १ हजार ५ सयदेखि ४ हजारसम्ममा बिक्री गर्छन् । यस्तै सर्ट १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुन्छन् । ज्याकेट १ हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्म, जिन्सका ट्राउजर १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म, जिन्स कोट १ हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्म, जिन्स कुर्ती १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुन्छन् ।
२० वर्षअघि दुई जना कालिगढबाट सुरु गरेको उनको फ्याक्ट्रीमा हाल २ सयभन्दा बढी कालिगढ छन् । तिनै कालिगढले बजारको मागअनुसार दैनिक ४ सयभन्दा बढी पहिरन निर्माण गर्छन् । कुनै पनि फेसन डिजाइनिङका लागि फेब्रिकको ठूलो भूमिका हुने थापा बताउँछिन् ।
उनको फ्याक्ट्रीमा चीन, भारत, बंगलादेश आदिबाट जिन्सका कपडा आयात हुन्छ । अहिले बालबालिका, युवायुवती एवं अधबैंसेहरूमा रेडिमेड जिन्सप्रतिको क्रेज बढ्दै गएको थापाको अनुभव छ । रेडिमेड पहिरन सस्तो अनि सहजै उपलब्ध हुने भएकाले पनि धेरैजसो मानिसले जिन्सका रेडिमेड पहिरन रुचाएको पाइन्छ । यद्यपि जिन्सका पहिरन लगाउने नै हो भने आफूलाई मन पर्ने डिजाइन लगाउनु उपयुक्त हुने थापाको सुझाव छ । जिन्स डिजाइनिङ गरेर लगाउँँदा रेडिमेडको तुलनामा थोरै मात्र महँगो पर्छ । थापाका अनुसार अरू पहिरनमा चिनियाँ उत्पादन हावी भएजस्तै जिन्सका पहिरनमा पनि चिनियाँ उत्पादन हावी छन् । नेपालीहरू ब्रान्डका सौखिन पनि त्यत्तिकै छन्, नेपालमा सबै ब्रान्डका जिन्सका पहिरन उपलब्ध हुन्छन्, यद्यपि त्यसको कपी हुन्छ भन्ने कुरा धेरैले बुझ्दैनन् ।’
फेसनमा देखिने परिवर्तनसँगै जिन्सको डिजाइनिङमा पनि परिवर्तन आइरहन्छ । अहिलेका जिन्स बजारमा युवायुवतीहरूमा स्किनी फेसन चलिरहेको छ । यतिबेला केटाकेटी दुवैका लागि जिन्सका पहिरनमा जगर्स ट्राउजर, स्किनी पाइन्ट, भुवावाला ज्याकेट ट्रेन्डमा छ । यसअन्तर्गत भुवा भएको जिन्सको ज्याकेट पुरानो फेसन हो तर अहिले यो एकपटक फेरि फर्किएको व्यवसायीहरू बताउँछन् ।
जिन्सका कपडा पनि धेरै किसिमका हुन्छन् । जस्तै स्ट्रेच, ननस्ट्रेच, पातलो, बाक्लो आदि ।
जिन्सका पहिरन जाडो वा गर्मी, दुवै मौसमका लागि उपयुक्त हुने जिन्स फेसन डिजाइनर सुनिल महर्जन बताउँछन् । महर्जन पनि लामो समययता जिन्सकै डिजाइनिङमा संलग्न छन् । उनको पनि आफ्नै फ्याक्ट्री छ । महर्जनले विगत १० वर्षयता पाटनमा जिन्सको फ्याक्ट्री सञ्चालन गर्दैै आएका छन् । त्यतिबेला जिन्स डिजाइन गर्ने डिजाइनर नेपालमा धेरै नभएकाले जिन्सको डिजाइन अरू डिजाइनभन्दा सजिलो र बजारको माग पनि धेरै हुने भएकाले आफूले जिन्सका पहिरनको फ्याक्ट्री सञ्चालनमा ल्याएको महर्जन बताउँछन् । हाल उनको फ्याक्ट्रीमा करिब १२ जना कालिगढ कार्यरत छन् । महर्जनले चीन, भारत, जापान, इन्डोनेसिया, पाकिस्तान आदि देशबाट फेब्रिक ल्याएर जिन्सका पहिरन तयार गर्छन् । उनको फ्याक्ट्रीबाट महिला–पुरुष दुवैका लागि पहिरन उत्पादन हुन्छन्, जसमध्ये पाइन्ट, ज्याकेट, वन पिस आदिको माग बढी रहेको महर्जन बताउँछन् । शंखमूल, मंगलबजार, लगनखेल आदि स्थानका आउटलेटबाट महर्जनले उत्पादन गरेका जिन्सका पहिरन बिक्री भइरहेका छन् ।
जिन्सको पहिरन सदावहार पहिरनका रूपमा स्थापित भइसकेको छ । लगाउन सजिलो, राम्रो अनि सस्तो भएकाले यो सबै उमेर समूहका मानिसले रुचाउने महर्जन बताउँछन् । महर्जनको फ्याक्ट्रीबाट दैनिक ओच ब्रान्डका १ सय ५० भन्दा बढी पहिरन उत्पादन हुन्छन् । ओच नेपाली ब्रान्ड हो । उनको फ्याक्ट्रीबाट उत्पादन भएका पहिरन धेरैजसो काठमाडौं उपत्यकाभित्र खपत हुने महर्जन बताउँछन् । महर्जनको फ्याक्ट्रीबाट उत्पादन भएका पहिरनको होलसेल मूल्य पाइन्टको ८ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म, ज्याकेटको १ हजार १ सयदेखि २ हजार रुपैयाँसम्म तथा वनपिसको १ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ ।
बजारमा उपलब्ध ब्रान्ड
नेपाली जिन्स बजारमा धेरैजसो विदेशी ब्रान्ड उपलब्ध छ, जसअन्तर्गत लिभाइज, ग्य्राब, बर्बरी आदि ब्रान्ड चल्तीमा छन् । अधिकांशले नेपालमै निर्माण भएका जिन्सका पहिरन लगाउँँछन्, तर त्यसैलाई नेपाली ब्रान्ड हो भने ग्राहकले नरुचाउने फेसन डिजाइनरहरू बताउँछन् ।
जिन्स धुँदा ध्यान दिनुपर्ने कुरा
जिन्स यस्तो कपडा हो जसलाई धुने तरिका जानिएन भने छिट्टै रङ खुइलिएर नराम्रो देखिन्छ लामो समयसम्म टिकाउ पनि हुँदैन । त्यसैले जिन्सका पहिरन धुँदा निम्न कुरामा ध्यान दिनुपर्छ :
जिन्स आफैंमा बलियो कपडा हो, यसलाई कम धुने र धुनै परे पानीमा धेरै समय भिजाउनु हुँदैन ।
जिन्सको कपडा सुकाउँदा उल्टो पारेर छायाँमा सुकाउनुपर्छ ।
पहिलो पटक धुँदा पानीमा एक चम्चा नुन हालेर धोयो भने रङ लामो समयसम्म बस्छ ।
जिन्स कहिल्यै तातोपानीले धुनु हुँदैन
सकेसम्म ड्राई वास गनुपर्छ ।
स्ट्रेचेवल जिन्सलाई घाममा धेरै सुकाउने तथा आइरन गर्ने काम गर्नु हुँदैन ।
जिन्सको बटन तथा जिपर कसरी जोगाउने ?
धेरै टाइट जिन्स लगाइयो भने बटन खुस्किन सक्छ । त्यसैले आफ्नो शरीरमा फिट हुने गरी लगाउँँदा जिन्सको बटन लामो समयसम्म टिकाउ हुन्छ । यस्तै जिपर पनि सानै गल्तीले बिग्रन सक्छ । राम्रोसँग नसुकाई पट्याएर राख्दा जिपरमा खिया लाग्छ । त्यसपछि जिपर चाँडै बिग्रन्छ । त्यसैले जिन्सका पहिरन राम्रोसँग सुकाउनुपर्छ ।
फेरि रंगाउन सकिन्छ
जिन्स त्यस्तो कपडा हो जसलाई हामीले लामो समयसम्म लगाउन सक्छौं, तर मानिसहरू जिन्सको कपडा अलिकति रङ खुइलिएपछि फ्याँक्छन्, तर त्यसलाई फेरि रङ भरेर लगाउन सकिन्छ । ड्राइ क्लिनर्समा आफूले चाहेको रङ भरेर जिन्सका पहिरनलाई पुन: प्रयोगमा ल्याउन सकिन्छ ।
जिन्सको पुन: प्रयोग
जिन्स आफैंमा बलियो कपडा हो । यो च्यातियो अथवा फाट्यो भनेर चिन्ता लिनु नपर्ने फेसन डिजाइनरहरू बताउँछन् । यदि जिन्सको पाइन्ट च्यातियो भने पनि त्यसको बिच भागको सिलाई उधारेर झोला बनाउन सकिने डिजाइनरहरू बताउँछन् । उक्त झोला निकै बलियो हुने भएकाले बजारबाट सामान ल्याउन प्रयोग गर्न सकिन्छ । यस्तै जिन्सको पाइन्ट घुँडामा च्यातियो भने त्यसलाई घुँडाभन्दा तलको भाग फालेर हाफ पाइन्ट बनाएर पनि लगाउन सकिन्छ ।
बजारमा उपलब्ध जिन्सका प्रकार
जगर्स : जगर्स पाइन्ट अहिले एकदमै ट्रेन्डमा छ । यसको बटनमा इलास्टिक हुन्छ, अनि माथिबाट
अलि खुकुलो हुँदै गएर तलचाहिँ कसिलो हुन्छ ।
बेलीबटन : घुँडाबाट तल ठूलो हुँदै गएको पाइन्ट बेलीबटन पाइन्ट हो ।
चुज : घुँडाबाट तल सानो हुँदै गएको पाइन्ट चुज पाइन्ट हो ।
हाइ वेस्ट : हाइवेस्ट पाइन्ट धेरैजसो महिलाले लगाउँँछन्, जुन कम्मरभन्दा माथि पेटको आधा भाग छोपिने गरी लगाइन्छ ।
ममी जिन्स : योचाहिँ महिलाका लागि स्पेसल जिन्स हो । यो विशेष गरी विवाहिता तथा सन्तान भइसकेकाहरूले लगाउने भएकाले हाई वेस्ट र लुज फिटिङ खालको हुन्छ ।
ब्वाइफ्रेन्ड जिन्स : यो टिनएजरले लगाउने पाइन्ट हो । यसमा ग्रन्च हुन्छ । यो केही लुज पनि हुन्छ । ब्वाइफ्रेन्ड जिन्स पाइन्टचाहिँ आफ्नो साइजभन्दा अलि ठूलो साइजको लगाइन्छ ।
रेगुलर जिन्स : यो चाहिँ थाइदेखि तलसम्म बराबर हुन्छ, त्यसैले यसलाई रेगुलर पाइन्ट भनिन्छ ।
जिन्सका पहिरन किन्दा ध्यान दिनुपर्ने कुरा :
सस्तो र कमजोर जिन्सका पहिरन भरसक नकिनौं ।
अहिले स्ट्रेचेवल जिन्स ट्रेन्डमा छ । यस्तो जिन्स खरिद गर्दा पातलो फ्रेब्रिक छनोट गर्नु हुँदैन ।
आफूलाई असहज हुने गरी कडा कपडा प्रयोग गरिएको जिन्स किन्नु हुँदैन ।
जिन्सको वास्तविक रंग भनेकै इन्डिगो हो, त्यसैले इन्डिगो रंगको जिन्स खरिद गर्नु उपयुक्त मानिन्छ ।
जिन्स जति हल्का रंगको हुन्छ त्यति नै कमसल हुन्छ, त्यसैले हल्का रंगको जिन्सका पहिरन खरिद नगर्नु नै बेस हुन्छ ।
जिन्सका पहिरन खरिद गर्दा वासमा पनि ध्यान दिनुपर्छ । आफूले किन्न लागेको जिन्स केमिकल वा स्टोन वास के गरिएको छ थाहा पाउनुपर्छ । केमिकल वास गरिएको जिन्स धुँदा रंग जान्छ । त्यसैले स्टोन वास भएको जिन्स गरिद गर्नुपर्छ ।