जी.
महिनावारी कसरी हुन्छ ?
मस्तिष्कको hypothalamus भन्ने भाग, पिटयुटरी ग्रन्थि र डिम्बाशयबाट निस्कने हार्मोनहरूले महिनावारीलाई सञ्चालन गर्छन् । hypothalamus बाट gonadotropin releasing hormone जसको प्रभावमा पिटयुटरी ग्रन्थिले follicular stimulating hormone (FSH) तथा luteinizing hormone (LH) निकाल्छ ।
FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ, तर पनि प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने भएकाले पाठेघरको भित्री तह तुहिन्छ र ३ देखि ६ दिनसम्म महिनावारीको रगत बग्छ । त्यसपछि इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ अनि डिम्बाशयवाट डिम्बको निष्कासन हुन्छ । डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र यसको प्रभावले पाठेघरको भित्री तहलाई निषेचित डिम्ब ग्रहण गर्न अझ बाक्लो बनाई उपयुक्त बनाउँछ । यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि झर्छ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ ।
भुइँचालो गएपछि महिनावारी किन नियमित नभएको होला ?
माथि उल्लेख भएझैं यो विशेष गरेर मस्तिष्क अनि प्रजनन अङ्गबाट नि:सृत हुने विभिन्न रागरस (हार्मोन) को जटिल प्रक्रिया हो । यसमा शारीरिक पक्ष एकातिर छ भने अर्कातिर मानसिक पक्षले पनि भूमिका खेल्छ । हामी सबैलाई थाहा भएकै कुरा हो, भूकम्प र निरन्तर आएको पराकम्पले सबैमा भय उत्पन्न गरेको छ, तनाव सिर्जना गरेको छ । दैनिक जीवन सामान्य नहुँदाको तनाव भूकम्पको भयसँगै थपिएर आएको छ । महिनावारी गडबड हुने सन्दर्भमा तनावका कारणले हुने हार्मोनको असन्तुलनलाई नै यसको कारण मान्न सकिन्छ ।
अति नै तनावमा हुँदा एड्रेनालिन अनि कर्टिसोलजस्ता हार्मोन निस्कन्छन्, जसले त्यस किसिमको परिस्थितिको सामना गर्न हामीलाई सघाउँछ, तर महिलाको सन्दर्भमा यस्ता हार्मोन अत्यधिक निस्कँदा त्यसको प्रभाव इस्ट्रोजन तथा प्रोजेस्टेरोनजस्ता महिला हार्मोनको उत्सर्जनमा नकारात्मक रूपमा पर्छ । यसरी इस्ट्रोजन तथा प्रोजेस्टेरोनको पर्याप्त मात्रामा उत्सर्जन नहुँदा महिलाको महिनावारी गडबड हुने वा भनौं चाँडो वा ढिला हुन्छ । अर्कातिर रक्तश्रावको मात्रामा पनि फरक आउन सक्छ ।
अर्को कुरा, तनाव कम गर्न वा अन्य कुनै प्रयोजनका लागि तपाईंले कुनै औषधी प्रयोग गरिरहनुभएको भए त्यसको प्रभाव त होइन भनेर निश्चित हुनुपर्छ । गर्भ रहनु युवा अवस्थामा महिनावारी रोकिने प्रमुख कारण हो, तर तपाईंले यौनसम्पर्क राख्नुभएको कुरा नगर्नुभएकाले यस विषयमा सोच्नुपरेन ।
समस्याको समाधानका लागि तनाव कम गर्ने उपाय अपनाउनुपर्छ । नियमित भोजन, व्यायाम, निद्रा अनि ध्यानजस्ता कतिपय कुरामा ध्यान दिए पुरानै अवस्थामा फर्कन सजिलो हुन्छ । केही गरी महिनावारी सामान्य नभए चिकित्सकसँग सम्पर्क राख्नु बेस हुन्छ ।
महिनावारीका बेला सरसफाइ
महिनावारीको रगत फोहर हुने मान्यता व्यापक रूपमा छ र यस्तो बेला छुन नहुने कुराले भूकम्पपछिको जीवनलाई अझ कष्टकर बनाएको हुन्छ । वास्तविकता के हो भने महिनावारीको रगत आफैंमा फोहोर हुँदैन । महिनावारीको रगत आउनु भनेको पाठेघरको भित्री तह तुहिनु हो । उक्त तह बाक्लिनुको मुख्य उद्देश्य युग्मजलाई विकसित हुने राम्रो वातावरण दिनु हो । जीवनको सुरुवात हुने त्यो तह कीटाणु/जीवाणुरहित अवस्थामा हुन्छ । फोहरको त के कुरा, अलिकति पनि जीवाणु परे गर्भले निरन्तरता पाउने कुरै हुँदैन । त्यसैले यो परत नै तुहिएर आएको रगत फोहर होइन भन्ने कुरा बुझ्नु आवश्यक छ, तर पछि योनिमा आएर रगतमा जीवाणु मिसिएपछि मात्र यसको निर्मलतामा फरक पर्न सक्छ । त्यसैले निस्किसकेको रगतमा जीवाणु बढ्न नदिन महिनावारीका बेला सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
महिनावारी भैरहेका बेला आफूलाई सफा राख्नुपर्छ । रगत सोस्न यौनाङ्ग क्षेत्रमा कपडा, स्यानिटरी प्याड तथा कपासलाई कपडामा बेरेर प्रयोग गर्न सकिन्छ । कीटाणु बढ्न नपाऊन् भन्ने उद्देश्यले यस्तो कपडा वा प्याड समय–समयमा फेर्नुपर्छ । प्रयोग गरिने कपडा राम्रोसँग धुनु र घाममा सुकाउनुपर्छ । महिनाबारी कुनै पनि महिलाको स्वभाविक शारीरिक प्रक्रिया हो, त्यसैले यसमा लाज मान्नुपर्ने कुनै कुरा छैन । यस्तो विपद् परेका बेला यी कुरा गर्न सजिलो नहोला, तर यो आवश्यकता हो ।