
कतिपयले मुख गन्हाउने समस्याबाट पीडित भै नमीठो अनुभव सँगालेको हुनुपर्छ । तपाईंले कुराकानी गर्दा नजिकै बसेको साथीले मुख खुम्च्याउन सक्छ । यो समस्याको नराम्रो पक्ष के हो भने आफूलाई आफ्नो मुख गन्हाइरहेको जानकारी नहुनसक्छ । नजिकैको अन्य व्यक्तिले गुनासो गरेपछि मात्र झसङ्ग भइन्छ । अंग्रेजीमा हेलिटोसिस वा फिटोर ओरिस पनि भनिने यो समस्या गिजा पाक्नाले, दाँतमा अड्किएको खानामा कीटाणुको चलखेल बढ्नाले तथा सल्फर नामक तत्व उत्पादन गर्ने खाद्य पदार्थ खानाले देखा पर्न सक्छ ।
कतिपय औषधि, पिनास, टन्सिल, जीर्ण खालको फोक्सोको समस्या (ब्रोङ्काइटिस, ब्रोङ्कियाक्टेसिस), मधूमेह, कलेजो तथा पेटसम्बन्धी एवं मिर्गौलाको समस्याले पनि सास गन्हाउने समस्या निम्त्याउँछ । कतिपय व्यक्तिलाई भने आफ्नो मुख गन्हाएको गलत भान हुनसक्छ तर वास्तविकतामा गन्हाएको भने हुँदैन । नियमित ब्रस नगर्ने तथा मुख कुल्ला नगर्ने व्यक्तिको मुखमा खाद्यकण अड्किई त्यसमा भएको सल्फरयुक्त प्रोटिनलाई दाँतमा भएका कीटाणुले टुक्राएपछि हाइड्रोजन सल्फाइड तथा मिथाइल मरक्याप्टेन नामक गन्हाउने ग्यासयुक्त पदार्थ उत्पादन गर्नुका साथै दाँत र गिजाको समस्या उत्पन्न गराउँछ र सास गन्हाउँछ ।
कतिपय तरकारी, मसला तथा खाना (लसुन, प्याज) बाट वाष्पशील तेल निस्कन्छ, जुन फोक्सोमा गएर सासको माध्यमले बाहिर आउँदा दुर्गन्ध फैलिन्छ । र्यालले मुख रसिलो बनाउने र मुख सफा राख्न मद्दत गर्ने हुनाले मुखमा र्यालको कमीले मुख सुक्खा भै मुखमा नष्ट भएको कोष जिब्रो तथा गिजामा जम्मा भएर पनि मुखमा दुर्गन्ध फैलिन्छ । त्यसैले पनि राति सुत्ने बेला वा खाना बीचको समयमा मुख सुक्खा हुने कारणले अधिकांश व्यक्तिको मुख बिहान उठ्दा गन्हाउन सक्छ । धूमपान एवं मद्यपानले पनि मुख सुक्खा बनाउँछ । राति यस्तो गन्ध बढी उत्पादन हुन्छ ।
यसको मुख्य उपचार भने एनारोब्स प्रजातिको कीटाणु निराकरण गर्ने, ब्रस बढी गर्ने, दाँतको बीचमा राम्रोसँग सफा गर्ने, औषधियुक्त धागो (फ्लस) प्रयोग गर्ने तथा क्लोरहेक्सिडिनयुक्त झोल औषधिले कुल्ला गर्ने जस्ता काम गर्नुपर्छ । पटक–पटक खाइरहनु वा समय–समयमा चुइगम चपाइरहनुका साथै जिब्रोको पनि सफाइ गरेको खण्डमा दुर्गन्धबाट राहत मिल्छ । मुखको हेरचाह गर्ने जिंकयुक्त पदार्थको नियमित प्रयोगले पनि सास गन्हाउने समस्या कम हुन्छ । जिंकले सल्फरसँग मिलेर गन्धको उत्पादन घटाउँछ ।