म (केटी) श्रीमान्सँगको सम्बन्धमा छु । मेरो महिनावारी रोकिएको छ । मैले गर्भ बसेको हो कि होइन भनेर आफैंले जाँच गरें । त्यसमा नकारात्मक (गर्भ नरहेको) नतिजा आयो । यद्यपि पाँच महिनादेखि मेरो महिनावारी भएको छैन । मेरो समस्या के होला ? मैले महिनावारी नियमित गराउन के गर्नुपर्ला ? म तत्काल सन्तान जन्माउन चाहन्नँ । त्यसका लागि के गर्नुपर्छ ?
पी.
महिनावारीको सञ्चालन
मस्तिष्कको hypothalamus भन्ने भाग, पिटयुटरी ग्रन्थि तथा डिम्बाशयवबाट निस्कने हार्मोनले महिनावारीलाई सञ्चालन गर्छ । Hypothalamus बाट gonadotropin releasing hormone जसको प्रभावमा पिटयुटरी ग्रन्थिले follicular stimulating hormone (FSH) तथा गितभष्लष्शष्लन luteinizing hormone (LH) निकाल्छ ।
FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ, तर पनि प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने भएका पाठेघरको भित्री तह तुहिन्छ र ३–६ दिनसम्म महिनावारीको रगत बग्छ । त्यसपछि इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ अनि डिम्बाशयवाट डिम्ब निष्कासन हुन्छ । डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन तथा इस्ट्रोजन निकाल्छ र यसको प्रभावले पाठेघरको भित्री तह निसेंचित डिम्बलाई ग्रहण गर्न अझ बाक्लो बनाई उपयुक्त बनाउँछ । यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि झर्छ, जसको असरले पाठेघरको भित्री तह फेरी तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ ।
जाँचमा गर्भ नदेखाए पनि महिनावारी किन नभएको होला ?
यो कुरा पक्कै हो कि गर्भ बस्नु महिनावारी रोकिने प्रमुख कारण हो त्यसैले नियमित यौनसम्पर्क हुने व्यक्तिको महिनावारी रोकिँदा हामी सबैभन्दा पहिले गर्भ रहेको शंका गर्छाैं । माथि उल्लेखझैं यो विशेष गरेर मस्तिष्क अनि प्रजनन अङ्गवाट नि:सृत हुने विभिन्न रागरस (हार्मोन) हरूको जटिल प्रक्रिया हो । कतिपय स्थितिमा गर्भ नै नरहे पनि महिनावारी रोकिन सक्छ । त्यसका केही प्रमुख कारणको चर्चा गरौं ।
तौलमा आएको परिवर्तन : व्यक्तिको तौल धेरै चाँडो मोटायो वा दुब्लायो भने महिनाको रागरसको सन्तुलनमा केही गडबडी आउँछ र महिनावारी नहुने स्थिति सिर्जना हुन सक्छ, तर केही समयपछि नै यो बिस्तारै ठीक भएर जान्छ । यसबाहेक तौल अति नै कम राख्न खाना नै नखाने किसिमको मानसिक समस्या जस्तै aneroxia भएका महिलामा पनि बोसोको मात्रा यति धेरै कम हुन पुग्छ कि डिम्ब निष्कासन तथा महिनावारी नै नहुने स्थिति आउँछ ।
तनाव : अहिले हाम्रो जीवनशैली धेरै नै तनावपूर्ण बन्न पुगेको छ । तीव्र तनाव लामो समय सम्म भोग्नुपर्दा महिनावारी रोकिन्छ । अति नै तनावमा हुँदा एड्रेनालिन अनि कर्टिसोल जस्ता हार्मोन निस्कन्छन्, जसले हामीलाई त्यस किसिमको परिस्थितिको सामना गर्न सघाउँछ । महिलाको सन्दर्भमा यस्ता हार्मोन अत्यधिक निस्कदा त्यसको प्रभाव महिला हार्मोनहरू इस्ट्रोजन तथा प्रोजेस्टेरोनको उत्सर्जनमा नकारात्मक रूपमा पर्छ । यसरी इस्ट्रोजन तथा प्रोजेस्टेरोनको पर्याप्त मात्रामा उत्सर्जन नहुँदा महिलाको महिनावारी गडबड हुने वा भनौं चाँडो वा ढिला हुने हुन्छ । अर्कातिर रक्तस्रावको मात्रामा पनि फरक आउन सक्छ ।
अत्यधिक व्यायाम : विशेष गरी दुब्लो व्यक्ति, जसको शरीरमा बोसोको मात्रा निकै कम छ, ले अत्यधिक व्यायाम गरेको स्थितिमा पनि महिनावारीमा गडबडी हुन अथवा रोकिन सक्छ ।
प्रोल्याक्टिनको अधिक मात्रा : विशेष गरेर स्तनपान गराइरहेका महिलामा प्रोल्याक्टिन हार्मोन बढी हुन्छ र त्यसैले स्तनपान गराइरहेका महिलाको महिनावारी नहुनुमा मूख्य भूमिका खेलेको हुन्छ, तर स्तनपान नगराइरहेका महिलामा यो हार्मोनको मात्रा बढी रहेको स्थितिमा स्तनको मुन्टोबाट दूधजस्तो रस निस्कन्छ ।
थाइराइड ग्रन्थिको समस्या : थाइराइड ग्रन्थिले शरीरको मेटाबोलिज्म सञ्चालन गर्ने हार्मोनको उत्सर्जन गर्छ । यसको अधिक उत्सर्जन हुने (hyperthyroidism) वा कम उत्सर्जन हुने (hypothyroidism) दुवै स्थितिमा महिनावारीमा गडबडी वा रोकिने स्थिति सिर्जना हुन सक्छ ।
डिम्बाशयको खराबी : विशेष गरी डिम्बाशयमा पानीको गोला (cyst) हुने स्थिति Polycystic Ovary Syndrome मा पनि महिनावारी रोकिने वा गडबडी हुने स्थिति सिर्जना हुन सक्छ ।
उमेर नलेखे पनि सम्भवत: तपाईंमा यो स्थिति लागू नहुन सक्छ । त्यसबाहेक पाका महिलाहरूको महिनावारी बन्द हुन्छ र त्यसभन्दा पहिले महिनावारी रोकिने–हुने क्रम चल्छ । त्यसबाहेक केही स्थितिमा पिसाब जाँच गर्दा पनि गर्भ रहेर पनि गर्भ नरहेको देखाउन सक्छ ।
Pregnancy test का लागि पिसाब जाँच
महिला गर्भवती हुने प्रक्रिया सुरु भएसगै बढ्ने एक किसिमको human chorinonic gonadotropin -hCG_ भनिने हार्मोनको परीक्षण गरेर गर्भ रहे नरहेको नतिजा निकालिन्छ । अचेल राम्रा जाँच गर्ने साधनको सहयोगले डिम्बनिषेचन भएको यस्तै आठौं वा नवौं दिनमा यो हार्मोनको मात्रा पहिचान गर्न सकिन्छ । डिम्ब निष्कासन भएको यस्तै १४ दिनमा महिनावारी हुन्छ, तर महिला गर्भवती भए महिनावारी हुँदैन । गर्भवती हुँदा hCG को मात्रा यस्तै प्रत्येक दुई दिनमा दोब्बर हुन्छ र यस्तै ६०/७० दिनमा सबैभन्दा बढी हुन पुग्छ र बिस्तारै कम हुन थाल्छ । यो परीक्षण गर्दा शरीरमा पर्याप्त मात्रामा हार्मोन भए ठीक नतिजा दिन्छ, त्यसैले डिम्ब निषेचनको यस्तै १० दिन वा त्यसपछि परीक्षण गराउनु उपयुक्त हुन्छ । यदि यो हार्मोन पर्याप्त मात्रामा नभै परीक्षण गराए नकारात्मक परिणाम आउन सक्छ । महिनावारीको समस्या निरन्तर कायम रहे स्त्रीरोग विशेषज्ञ सम्पर्क राख्नु उचित हुन्छ ।