तिहारलगत्तै जाडो मौसम प्रारम्भ हुने भएकाले धेरैमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टन्सिल हुने तथा भाइरल ज्वरोले सताउने समस्या देखा पर्छ । त्यसका अतिरिक्त जाडो मौसममा बाथरोग, दम, निमोनियाँ आदि रोगबाट पीडितहरूलाई पनि निकै कष्ट हुन्छ । बाथरोग विशेषज्ञ डा.श्वेता नकर्मीका अनुसार बाथरोगको समस्या जाडो मौसममा बल्झिन्छ । जाडो याममा चिसोका कारण हाडजोर्नी बढी सुन्निने, अररो हुने तथा दुख्ने समस्या सिर्जना हुन्छ ।
यसैगरी यो मौसममा छातीको समस्या तथा भाइरल इन्फेक्सन वृद्धि हुन्छ भने बाथका बिरामीहरूमा पनि विभिन्न कारणले छातीको समस्या देखा पर्न सक्छ । बाथले फोक्सोमा असर गर्दा फोक्सोमा जाली पर्ने अथवा पानी जम्ने वा न्युमुनिटिस हुने हुन्छ । यसैगरी बाथमा प्रयोग हुने औषधीले रोग प्रतिरोधक क्षमता (इम्युनिटी)मा कमी ल्याउने भएकाले चिसोको संक्रमण हुने सम्भावना हुन्छ ।
जाडोको अर्को समस्याका रूपमा र्युनड फिनोमेनन पनि देखा पर्छ । यसमा चिसोमा हात अथवा खुट्टाका औंलाहरूको रंग परिर्वतन भएर सेतो, निलो वा पहेंलो हुन्छ । यो लक्षण गर्मीको तुलनामा जाडोमा बढी देखिन्छ र यसलाई नियन्त्रणमा नराखे औंलाको टुप्पोमा घाउ हुने र कुनै समयमा औंला नै मरेर जाने पनि हुन्छ ।
ध्यान दिनुपर्ने कुरा
हातखुट्टाका जोर्नीका साथै पूरै शरीरलाई न्यानो राख्नुपर्छ ।
चिसो पानी धेरै चलाउनु हुँदैन । भाडा माझ्दा वा लुगा धुँदा रबरको पन्जा प्रयोग गर्नुपर्छ ।
र्युनड भए हातलाई मनतातो पानीमा डुबाउने र न्यानो राख्ने । यस्तो अवस्थामा औंलामा घाउ हुन दिनु हुँदैन ।
हातखुट्टा र शरीरको छालालाई नरम राख्न मोस्चराइजर, ग्लिसिरिन तथा नरिवलको तेल
प्रयोग गर्नुपर्छ ।
वार्षिक रूपमा इन्फ्लुएन्जाको भ्याक्सिन लगाउनुपर्छ ।
इन्फेक्सनबाट जोगिनुपर्छ र फोक्सोसम्बन्धी
कुनै समस्या देखिए तुरुन्तै चिकित्सकको
परामर्श लिनुपर्छ ।
नियमित रूपमा औषधी सेवन गर्नुपर्छ ।
के खाने ?
धेरै चिल्लो तथा मसालेदार खाना खानु हुँदैन ।
बढी चिया तथा कफी सेवन गर्नु हुँदैन ।
गाउट अथवा युरिक एसिडका बिरामीले रक्सी, बियर, वाइन तथा बोसोयुक्त रातो मासु
खानु हुँदैन ।
हरियो सागपात, फलफूल तथा दूध खानुपर्छ भने पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।
शारीरिक व्यायाम
चिसो धेरै हुने समयमा बाहिर हिँड्डुल गर्नु हुँदैन । निस्कनैपरे न्याना पहिरन लगाएर मात्र निस्कनुपर्छ ।
हल्का व्यायाम गर्नुका साथै नियमित रुपमा ४५ देखि १ घण्टा लम्केर हिँड्नुपर्छ ।
फिट्नेस सेन्टर तथा घरमै पनि शरीर तातो हुने किसिमका शारीरिक अभ्यास गर्नुपर्छ ।
स्पोनडिलो आर्थराइटिसका बिरामीले ढाडको कसरत नियमित रूपमा गर्नुपर्छ । अस्टियोआर्थराइटिसका बिरामीले घुँडा तन्काउने कसरत नियमित गर्नुपर्छ ।
मुटु, दम तथा ब्रोन्काइटिसका बिरामीले चिकित्सकको सल्लाहमा मात्र व्यायाम गर्नु
उचित हुन्छ ।