कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ, यो स्वभाविक हो । यसरी वीर्य योनिबाट वाहिर निस्कनुले पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ ।
हामीले हालै विवाह गरेका हौं । म (२३) र श्रीमान् (२७) बीच नियमितजस्तो यौनसम्पर्क हुने गरेको छ । हामीबीच हुने यौनसम्पर्कमा म प्राय:जसो म उत्तानो परेर टाङ फाटेर रहन्छु भने श्रीमान् त्यसको बीचमा माथी बसेर यौनसम्पर्क राख्नुहुन्छ । यसरी यौनसम्पर्क राख्दा श्रीमान्ले झारेको वीर्य केही वेरमै मेरो योनिवाट बगेर तन्नामा जान्छ । यस्तो अवस्थामा वीर्य बाहिर जान नदिने कुनै उपाय वा आसन छ कि ? यही कारण मेरो गर्भ नरहने हो कि भन्ने डरसमेत लाग्छ ।
एस
वीर्य किन बाहिर निस्किएको ?
पुरुषले चरमसुख पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई हामी वीर्य भन्छौं । यही वीर्यमा शुक्रकीट हुन्छ । एकपटक वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर (५ मिलिलिटर भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकीटको संख्या संधै एकैनासको नहुन सक्छ । शुक्रकीटको संख्या ४ देखि १२ करोड प्रति मिलिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ । हामीले देख्ने वीर्यको सानो अंशमात्र शुक्रकीटले ओगटेको हुन्छ । वीर्यमा शुक्रकीटको मात्रा यस्तै २ देखि ५ प्रतिशत मात्र हुन्छ ।
कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ, यो स्वभाविक हो । यसरी वीर्य योनिबाट बाहिर निस्कनुले पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ । तपाईंको यौन आसनमा पनि कुनै समस्या छैन । त्यसैले तपार्इंले चाहेसम्म यसलाई रोक्नुपर्ने आवश्यकता छैन । तपाई वा तपाईंको श्रीमान्लाई तन्नामा वीर्य लाग्दा असजिलो लाग्छ भने यौनसम्पर्कपछि कुनै कपडाले पुछ्न सक्नुहुन्छ । तपाईंले अन्डरवेयरभित्र लगाइने सानो स्यानिटरी प्याड वा लाइनर पनि लगाउन सक्नुहुन्छ ।
के यही कारणले सन्तान नभएको हो ?
यसरी वीर्य वाहिर निस्कँदा कतै गर्भ नरहने हो कि भन्ने चिन्ता धेरैमा पाइन्छ । तपाईलाई थाहै होला, डिम्ब निषेचन हुँदा वीर्यमा भएका करोडौं शुक्रकीटमध्ये एक शुक्रकीटको मात्र डिम्बसँग मिलन हुन्छ । यदि वीर्यको स्खलन योनिको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वीर्य बाहिर निस्किएजस्तो लागे पनि पाठेघरको मुख सम्म पर्याप्त शुक्रकीट पुग्छन् । सामान्यत: यसरी वीर्य वाहिर निस्कनु गर्भधारण नहुनुको कारण बन्दैन ।
गर्भ किन नरहेको ?
सन्तान जन्माउन गर्भधारण हुनुपर्छ । गर्भधारणका लागि यौनसम्पर्क, वीर्यस्खलन, डिम्ब निष्कासन, डिम्ब निषेचन अनि डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । सफल गर्भधारणका लागि निषेचित भू्रण विकसित हुँदै सन्तानका रूपमा जन्मन्छ । सन्तान जन्माउने यी सबै कुराको बीचमा तालमेल हुनुपर्छ ।
सन्तान जन्माउन नसक्नुका केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छन् । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति यस्ता घटनामा सन्तानहीनताको कारण नै पत्ता लाग्दैन ।
तपार्इंले हालै मात्र विवाह भएको कुरा भन्नुभएको छ । हुन त एकमात्र यौन सम्पर्कमा पनि गर्भधारण हुनसक्छ तर प्राय:जसो यस्तो हुँदैन । कुनै गर्भनिरोधको साधनबिना एक वर्षसम्म गर्भका लागि प्रयास गर्दा पनि गर्भ रहेन भने मात्र गर्भ रहने कुरामा समस्या छ कि भनेर परीक्षण गराउनुपर्छ । यदि विवाह भएको एक वर्ष पनि पुगेको छैन भने अहिले नै गर्भ रहेन भनेर चिन्ता गर्ने समय आइसकेको छैन कि ?