जाडो मौसमको सुरुवातसँगै छालामा विभिन्न समस्या देखा पर्छन् । चिसो मौसममा छाला सुक्खा तथा फुस्रो हुने, फुट्ने, चिलाउने, हात तथा खुट्टा नीलो हुने तथा चिलाउने घाउहरू आउँछन् । यसै गरी शरीरको अन्य भित्री रोगहरू जस्तै एसएलई, डम्र्याटोमायोसाइटिस तथा रेनाउड्स डिजिजजस्ता समस्या पनि जाडोमा बढ्ने तथा बल्झिने गर्छन् ।
मोस्चराइजरको प्रयोग
मोस्चराइजर लोसनको प्रयोग नियमित रूपमा गर्नुपर्छ । नुहाएपछि र राति सुत्ने बेलामा कम्तीमा दिनको दुईपटक राम्रो खालको मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।
मन तातो पानीको प्रयोग
जाडोमा धेरै तातो पानीले नुहाउने गरेमा छालामा हुने प्राकृतिक चिल्लोपन कमी हुन सक्छ । छाला सुक्खा हुन्छ । त्यसैले मुख धुँदा वा नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।
सनस्किनको प्रयोग
एसपीएफ ३० वा ५० को सनस्किनको नियमित प्रयोग गर्नुपर्छ । सनस्किनहरू जेल, लोसन वा क्रिमका रूपमा पाइन्छन् । जाडोमा लोसन वा क्रिमको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले छालालाई घामबाट जोगाउनुका साथै सुक्खा हुनबाट पनि बचाउँछ ।
पानी प्रशस्त पिउने
छालाको सुन्दरताका लागि दिनमा कम्तीमा २ वा ३ लिटर मनतातो पानी पिउनुपर्छ ।
क्लिन्जरको प्रयोग
बेलुकी अल्कोहलरहित क्लिन्जरले अनुहार सफा गर्नुपर्छ, साथै जाडो महिनामा फेसवास तथा साबुनको प्रयोग कम गर्नुपर्छ ।
यसका साथै हातखुट्टा चिसोमा सुन्निने वा दुख्ने गर्छ भने मनतातो पानीमा राति सुत्ने बेलामा सधैं हातखुट्टा कम्तीमा १० मिनेट डुबाउनुपर्छ । त्यसपछि क्रिम अथवा भ्यासलिन लगाउनुपर्छ । जाडोमा ओठ फुट्ने समस्याबाट जोगिन लिप गार्डको प्रयोग गर्नुपर्छ ।
स्किपिङ तथा योगा पनि यो मौसममा गर्न सकिन्छ । संगीतको तालमा केही समय डान्स गर्दा पनि शरीर छरितो बन्छ ।