
गर्भमा हुर्किरहेको शिशुलाई पनि पोषण तत्व चाहिने हुनाले शक्तिवद्र्धक, प्रोटिनयुक्त, भिटामिन तथा सूक्ष्म पोषण युक्त खाना प्रशस्त मात्रामा खानुपर्छ भने आयोडिन, भिटामिन ए तथा क्याल्सियम युक्त खानेकुरा पनि उत्तिकै आवश्यक हुन्छ ।
नियमित रूपमा भैरहेको महिनावारी रोकिना साथ वा गर्भ रहेको थाहा पाउनासाथ गर्भ जाँच गराउनुपर्छ । गर्भावस्थामा आवश्यक धनुष्टंकारविरुद्ध खोप लगाउनुका साथै रगत एवं पिसाब जाँच गराउनुपर्छ । गर्भावस्थामा शारीरिक (जनेन्द्रिय, स्तन) सरसफाइमा पर्याप्त ध्यान दिनुपर्छ भने हल्का व्यायामसमेत गर्नुपर्छ । यतिबेला भित्री पहिरन नियमित रूपमा फेर्नुपर्छ । धेरै बेर उभिनु हँुदैन । फुर्सद पाउना साथ दिउँसो करिब १ घण्टा जति देब्रेतिर कोल्टे परी आराम गर्नुपर्छ ।
गर्भावस्थामा हुन सक्ने साधारण समस्या बढी भए स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्नुपर्छ । गर्भावस्थामा मादक पदार्थ सेवन एवं धूमपान गर्नु हुँदैन भने कुनै पनि औषधी स्वास्थ्यकर्मीलाई जँचाएर मात्र खानुपर्छ । गर्भावस्थामा धेरै ज्वरो आउने, गन्धयुक्त योनिश्राव हुने, रगत देखा पर्ने, तल्लो पेट दुख्ने आदि समस्या छ भने हेलचक्र्याइँ गर्नु हँुदैन । संक्रमण रोग वा यौन रोग लागेको छ भने तुरुन्त उपचार गराउनुपर्छ ।
सुत्केरी हुने समय नजिकिँंदै गएपछि त्यसका लागि आवश्यक पर्ने कपडा एवं थाङ्नाहरूको व्यवस्था गर्नुपर्छ । यदि तालिम प्राप्त स्वास्थ्यकर्मीको मद्दतले घरमै सुत्केरी गराउने भए सुत्केरी सामग्री किनेर राख्नुपर्छ । सुत्केरी बारी, गोठ, छिंडीमा नगराई राम्रोसँग सफा गरिएको कोठामा मात्र गराउनुपर्छ । यतिबेला तीनवटा कुरा सुत्केरीमा सघाउने व्यक्तिको सफा हात, सफा ठाउँ तथा सफा काट्ने साधनमा विशेष ध्यान दिनुपर्छ ।
धेरैजसो गर्भावस्थामा सामान्य तवरबाट पूर्ण अवधि भै निर्धारित समयमै सुत्केरी हुन्छ, तर यतिबेला तल्लो पेट दुख्नु, अधिक ज्वरो आउनु, रगत बग्नु, हातगोडा सुन्निनु, आँखा हेर्दा धमिलो हुनु, टाउको धेरै दुख्नु, थकाई धेरै लाग्नु राम्रो कुरा होइन । यी समस्या उत्पन्न हुँदा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । गर्भपतन हुन लाग्दा, साल पाठेघरको ठीक ठाउँमा नरहँदा, गर्भावस्थामा रक्तचाप धेरै बढ्दा, कम्पन छुट्न लाग्दा तथा रक्तअल्पता हुँदा माथि उल्लेखित लक्षण–चिह्नहरू देखा पर्छन् ।
गर्भावस्थामा हुने वा पत्ता लाग्ने रक्तअल्पता, उच्च रक्तचाप, मधुमेह, मुटुको रोग, जन्डिस बढी जोखिमपूर्ण हुन्छ । यी रोगका कारण गर्भपतन हुने, चाँडै व्यथा लाग्ने एवं शिशु पनि कम तौलको तथा रोगी हुने सम्भावना हुन्छ ।