साप्ताहिक संवाददाता
मानव शरीरको महत्वपूर्ण अंग मध्ये एक हो मृगौला । हाम्रो रगतमा भएको बिकारलाई पिसाबका माध्यमबाट बाहिर फ्याक्ने र शरीरलाई स्वस्थ राख्न मृगौलाले महत्वपूर्ण भूमिका खेल्छ । मृगौलाले रगतको विकारलाई छान्ने, त्यसलाई शुद्ध र शरीरको लागि उपयोगी बनाउने काम गरिरहेको हुन्छ । रगतलाई शुद्ध अर्थात् विकाररहित बनाउनुका साथसाथै मृगौलाले विभिन्न हर्मोनहरु पनि पैदा गरिरहेको हुन्छ र यसले रगतमा रातो रक्तकोषको उत्पादनलाई पनि प्रोत्साहित गरिरहेको हुन्छ ।
मृगौलाले रगतको माध्यमबाट शरीरको लागि चाहिने खनिजहरु सोस्ने, बढी भएको पानीलाई फ्यााक्ने र रगतको पीएच स्तरलाई ठीक्कको अवस्थामा राख्ने काम गररहेको हुन्छ । तर, हाम्रा केहि बानीका कारण हाम्रो मृगौलालाई हानी गरिरहेको हुन्छ ।
हामीले पर्याप्त मात्रामा पानी नखादा हाम्रो मृगौलालाई हानी गरिरहेको हुन्छ । मृगौलाले रगतलाई छान्ने र त्यसमा भएका विकारहरुलाई हटाउने हुनाले हामीले पर्याप्त मात्रामा पानी पिउने बानी गर्नुपर्छ । हामीले पर्याप्त मात्रामा पानी पिएनौं भने हामीलाई जलविनियोजन अर्थात् डिहाइड्रेसन हुन्छ, जसको सोझो असर मृगौलाले रगतलाई राम्ररी छान्न पाउँदैन र रगतमा विषाक्तता बढ्न जान्छ ।
हिजोआज जहाँतहिँ खुलेका औषधि पसलका कारण पनि हाम्रो मृगौलालाई नोक्सानी पुर्याईरहेको हुन्छ । हामीलाई थोरै केहि हुनासाथ हामी औषधि पसलमा पुगेर अनेक प्रकारका औषधिहरु प्रयोग गर्छौँ । जथाभावी पीडानाशक औषधी अर्थात् पेनकिलरको प्रयोग पनि हाम्रो मृगौलाका लागि हानिकारक छ । यसप्रकारका औषधीले तत्कालै पीडाबाट मुक्ति दिन्छ तर त्यसले मृगौलालाई चाहिँ नोक्सान पुर्याईंरहेको हुन्छ । पीडानाशक औषधीले मृगौलामा जाने रगतको प्रवाहलाई कम गरिदिन्छ । जसको परिणामस्वरुप मृगौलासम्बन्धी घातक रोगहरु लाग्ने खतरालाई बढाइदिन्छ ।
नूनको अधिक प्रयोग पनि मृगौलाका लागि लाभकर छैन् । नूनबिना खाना खल्लो हुने र्भता पनि नूनलाई मन्द विषका रुपमा परिभाषित गरिन्छ । शरीरको लागि अत्यावश्यक पदार्थहरुमध्येको नून सामान्यत: एउटा मानिसलाई चाहिने मात्रामा प्राकृतिक रुपमै भोजनहरुबाट प्राप्त हुने गर्छ । तर हामी खानेकुरालाई स्वादिलो बनाउनको लागि शरीरको लागि चाहिने मात्रामा भन्दा पनि बढी नून खाने गर्छौं । तर धेरै मात्रामा नून खाने बानीले खालि मृगौलालाई भार पारिदिन्छ र जसलको नतिजा भनेको मृगौलानै काम नलाग्ने हदसम्ममा पुग्ने सक्ने चिकित्सकहरु बताउँछन् ।
धेरै जसो मानिसहरु पिसाब फेर्ने ठाउँ नपाएर, अल्छी गरेर वा कामको व्यस्तताका कारण लामो समयसम्म पिसाब रोक्ने गर्छ । यो बानी चाहिँ मृगौलाको लागि अत्यन्तै खराब हो । तर मृगौलालाई जोगाउने हो र स्वस्थ राख्ने हो भने जतिसुकै व्यस्त भएपनि अल्छी नगरिकनै पिसाब लाग्नेबित्तिकै फेर्ने बानी गर्नुपर्छ ।
विभिन्न अध्ययनहरुले के प्रमाणित गरिसकेको छ भने लामो समयसम्म पिसाब रोक्ने बानीले गर्दा पिसाब नलीमा संक्रमण हुने खतरा बढेर जान्छ । पिसाब नलीमा संक्रमण हुनुभनेको शरीरमा नोक्सानदायी व्याक्टेरियाहरुले प्रवेश पाउनु नै हो । र, त्यसलाई बेलैमा उपचार गर्न सकिएन भने कतिपय अवस्थामा त त्यसले मृगौलालाई नै पनि काम नलाग्ने गरी बिगारिदिन सक्छ ।