म २० वर्षीय पुरुष हुँ । मेरो विवाह भएको छैन । मेरो समस्या भनेको स्वप्नदोष हो । पहिला महिनामा दुई–तीन पटक हुन्थ्यो भने अहिल पाँच–छ पटक हुने गर्छ । कतिसम्म भएको ठीक होला ? यो के कारणले हुन्छ ? केही असर गर्छ कि गर्दैन ? यसको औषधी प्रयोग गर्दा ठीक होला त ? म दुब्लो पनि छु । मेरो दुब्लोपनको कारण यही हो त ? यसलाई कसरी कम गर्न सकिन्छ ?
आई.
स्वप्नदोष किन हुन्छ ?
निदाएका बेला एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतन रूपमा नै मस्तिष्कमा आउनु सपना देख्नु हो । सपना विशेष गरेर Rapid Eye Movement (REM) sleep (निद्रा) को स्थितिमा हुन्छ । सपना डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी हुन सक्छन् । यौनसम्बन्धी सपना देख्दा यौनाङ्गमा रगत भरिने देखिन्छ र पुरुषमा लिङ्ग उत्तेजित हुने अनि महिलामा पनि योनिश्राव हुने देखिन्छ । यौन सपना प्राय:जसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्ररी नै भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पाउने पनि गर्छन् । यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emmisions भनिन्छ ।
भनिन्छ, प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि रागरस (सेक्स हार्मोन) जसले यौन व्यग्रता तथा यौन तनाव एकातिर बढाउँछ भने अर्कातिर वीर्यको पनि उत्पादन हुन थाल्छ । स्वाभाविक रूपमा यसले बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो । प्राकृतिक रूपमा नै व्यक्तिले यौन सपना देख्छ र वीर्य स्खलन तथा यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्दछ ।
कति पटक ठीक ?
कति पटक हुनु सामान्य हो भन्ने कुरा भन्न सजिलो छैन । यो व्यक्ति–व्यक्तिअनुसार फरक पर्ने गर्छ । किशोरावस्था वा युवाअवस्थामा यौनभावना तथा व्यग्रता तीव्र हुन्छ र चेतन मनको धेरैजसो भाग यौनसम्बन्धी कुरा सोचेर बिताउने गर्छन् । तपाईंमा यौन तनाव बढी भएकाले यो धेरै हुनुलाई अन्यथा लिनुपर्छ भन्ने लाग्दैन ।
उपचार के होला ?
स्वप्नदोष भनिए पनि यो कुनै विकार वा खराबी होइन । त्यसैले यसको कुनै उपचार आवश्यक पर्दैन । तपाईंले हस्तमैथुन वा यौनसम्पर्क गर्ने गरे/नगरेको केही लेख्नुभएको छैन । यसरी निकै यौनसपना देख्नुले यौन तनाव शान्त पार्न तपाईंको प्रयास पर्याप्त नभएको हुन सक्ने कुरालाई संकेत गर्छ । विचार गर्नुपर्ने कुरा के हो भने यौनसम्पर्क वा हस्तमैथुन सामान्य रूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । अचेलका केही अनुसन्धानमा यौन सपना देख्ने व्यक्तिहरूमा टेस्टेस्टेरोनको मात्रा बढी हुने देखिएको छ ।
पूर्वीय समाजमा भएको वीर्य खेर जान दिनु हुन्न भन्ने सोच हुँदा वीर्य खेर गएमा कमजोरी हुने, जीवन शक्तिमा र्हास आउने विश्वास राखिन्थ्यो । स्वप्नदोषबारे उचित तथा सही जानकारी नपाउने हुनाले कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन् । पक्कै पनि आफूलाई कुनै गम्भीर रोग लागेको भन्ने ठान्छन् । आफैंको यसमा कुनै हानिकारक असर हुँदैन । यसले दुब्लोपन पनि गराउँदैन ।
यसरी निद्रामा वीर्य स्खलन भएपछि बिहान उठेर सरसफाइमा विशेष ध्यान दिनुपर्छ । वीर्य यौनाङ्ग क्षेत्रमा रहिरहेमा संक्रमण हुने जोखिम बढी हुन्छ । त्यसैले बिउँझिएपछि लिङ्ग र अण्डकोष र वरिपरिका क्षेत्र साबुन–पानीले धुने गर्नुपर्छ । अन्डरवेयर वा कटटु लगाएर सुतेमा त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ, तन्नामा पनि पर्दैन ।