म ३८ वर्षको भएँ । मेरो विवाह भएको १८ वर्ष भयो । सुरुदेखि नै मलाई सेक्स गरिसकेपछि लिंगमा जलन हुन्छ । थोरै–थोरै मात्रामा पिसाब हुन्छ । यो करिब २० मिनेटजति हुन्छ । कृपया यसको उपचार भनिदिनु होला ।
- टी.
किन यौनसम्पर्कपछि लिंगमा जलन भएको होला ?
कतिपय स्थितिमा कहिलेकाहीं यस्तो हुँदैमा धेरै चिन्ता गर्नुपर्ने देखिन्न, तर तपाईंलाई लामो समयदेखि निरन्तर रूपमा समस्या हुँदा विशेष रूपमा चिन्ता हुनु स्वाभाविक नै हो ।
तपाईंले दिनुभएको सीमित जानकारीका आधारमा तपाईंको समस्याका बारेमा यकिनसाथ भन्न सकिने स्थिति त छैन, तर यौनसम्पर्कपछि किन लिंगमा पीडा हुन्छ भन्ने सन्दर्भमा कुरा गरौं ।
यौनसम्पर्क गर्दा चिप्लो पदार्थमा कमी : राम्ररी यौन उत्तेजना हुँदा योनिरस प्रशस्त मात्रामा निस्कन्छ, जसले यौनसम्पर्कलाई सहज बनाउँछ । तर, कारणवश पर्याप्त मात्रामा योनिरस ननिस्किएमा चिप्लो पदार्थमा कमी हुँदा सुक्खा योनिमा लिंगको सुक्खा छालाको घर्षण हुन पुग्छ । यसले लिंगमा जलन वा पीडाको स्थिति उत्पन्न हुन्छ । थूक वा थप चिप्लो पदार्थको प्रयोग गरेमा वा केही दिनका लागि यौनसम्पर्कवाट परहेज गरेमा लिंगमा भएको जलन कम हुन्छ ।
लामो तथा जोडदार यौनसम्पर्क : सामान्यभन्दा बढी समयसम्म तथा सो पनि निकै जोडदार रूपमा यौनसम्पर्क गर्दा लिंगमा जलन वा पीडाको अनुभव हुनसक्छ । धेरै लामो समयसम्म लिंग उत्तेजित भइरहेको अवस्थामा पनि लिंगमा पीडाको अनुभव हुनसक्छ ।
वीर्यस्खलन ढिलो हुनु : कतिपय व्यक्तिमा यौनसम्पर्क वा हस्तमैथुन गर्दा वीर्यस्खलन हुन लामो समय लाग्ने गर्छ । वीर्य स्खलन हुन ३० मिनेटभन्दा बढी समय लाग्दा लिंगमा असजिलो भएको अनुभव हुन सक्छ । लामो समयसम्म लिंग तथा अण्डकोष क्षेत्रमा बढी रक्त प्रभाव हुने हुनाले यस्तो हुन्छ । यस्तो स्थिति सामान्यतया यस्तै केही घण्टामा कम भएर जान्छ ।
एलर्जी : तपाईंले केही कुराको उल्लेख गर्नुभएको त छैन । यौनसम्पर्कका बेलामा कन्डम, कुनै चिल्लो पदार्थ वा अन्य कुनै वस्तु प्रयोग गर्ने गर्नुभएको छ र त्यसको एलर्जी छ भने त्यसले पनि लिंगमा जलन वा पीडाको अनुभव हुन्छ ।
यौन संक्रमण : विशेष गरेर कुनै यौन रोग वा संक्रमण भएको स्थितिमा पनि यस्तो हुन्छ । विशेष गरेर क्लामाइडिया, गोनोरिया, ट्राइकोमोनियासिस वा जनेन्द्रियको हर्पिस भएको स्थितिमा लिंगमा पीडा हुने गर्छ । यस्तो शंका हुँदा चिकित्सकको सल्लाहमा उपचार गराउनुपर्छ ।
पौरुष ग्रन्थिको संक्रमण : पौरुष ग्रन्थिको शोथ वा संक्रमण भएको स्थितिमा पनि लिंगमा असजिलो वा पीडाको अनुभव हुन्छ । पिसाब फेर्दा पनि केही असजिलोको अनुभव हुन सक्छ ।
मूत्रनलीको संक्रमण : जीवाणु, विषाणु वा ढुसीले संक्रमण गराउँदा पनि लिंगमा असजिलोको अनुभव हुन सक्छ । यस्तो हुँदा पिसाब छिन–छिनमा लाग्ने तर थोरै मात्र हुने हुन्छ ।
समाधानका लागि के गर्ने ?
समस्याको प्रकार हेरी उपचार गर्नुपर्ने हुन्छ । दुखाइ कम गर्ने औषधी खान सक्नुहुन्छ । चिसोले सेक्न सकिन्छ भने क्रिमको प्रयोग गर्न पनि सकिन्छ । सुती कपडाले बनेको खुकुलो किसिमको भित्री पहिरन लगाउनु लाभदायक हुन्छ । केही समयका लागि यौन क्रियाकलापबाट परहेज गर्दा फाइदा पुग्छ ।
समस्या रहिरहेमा तपाईंले चिकित्सकसँग सरसल्लाह लिनुपर्ने हुन्छ भन्ने कुरा बिर्सनु हुन्न ।