बाथरोगीमा रोगसँग लड्ने क्षमता अरू सामान्य मानिसको तुलनामा अलिक कम हुन्छ । यसैगरी बाथरोगमा प्रयोग हुने औषधिका कारण पनि रोगसग लड्ने क्षमता कम भइरहेको हुन्छ । यस्तो अवस्थामा कुनै पनि संक्रमण भएमा जटिलता देखा पर्न सक्छ ।
यस्तो अवस्थामा बाथरोगीले चिकित्सकको सल्लाह नलिई सेवन गरिरहेको औषधि बन्द गर्ने वा कम डोज खाने गर्नुहुँदैन । बाथरोगका प्रतिनिरोधक औषधि सेवन गरिरहेका बिरामीले सामाजिक दूरी कायम राख्नुपर्छ । बाहिर निस्कनुपरेमा पनि पूरा बाहुला भएका पहिरन लगाउनुपर्छ । बाहिरबाट आउनासाथ पहिरन परिवर्तन गरी साबुन पानीले हात धोइहाल्नुपर्छ ।
जटिल बाथरोगका औषधि (प्रतिरोधात्मक) सेवन गरिरहेका बिरामी सकेसम्म घरबाहिर जानुहुँदैन । घरभित्र बस्दा पनि अरू मानिसको सम्पर्कमा कम आउनुपर्छ । घरभित्र बसेर नियमित व्यायाम गर्नुपर्छ । कुनै पनि प्रकारका समस्या देखापरेमा चिकित्सकको सल्लाह लिनुपर्छ । धुमपान गर्नुहुँदैन । आफ्नो तौल नियन्त्रणमा राख्नुपर्छ ।