साप्ताहिक संवाददाता
विश्वमा ८ दशमलव ६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । नेपालमा पनि जीवनशैली तथा खानपानका कारण यसका रोगी बढेका छन् । अहिले विश्व नै महामारीको चपेटामा छ । मधुमेहका बिरामीसँग पनि रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । त्यसैले अवस्थामा मधुमेहका बिरामीले आफ्नो विशेष ख्याल राख्नुपर्छ ।
प्रत्येक दिन व्यायाम गर्नुपर्छ । उठबस वा नाचगान गरेर मांशपेशी चलायमान बनाउनुपर्छ । समय–समयमा हिँड्डुल गर्नुपर्छ । हातखुट्टा चलाइरहनुपर्छ । यसो गरेमा शरीर छरितो हुनुका साथै मधुमेह बढ्न पाउँदैन ।
खानपानमा पनि ध्यान दिनुपर्छ । अहिले सागसब्जी सजिलै पाइएको छ, त्यसैले हरिया तरकारीका साथमा गेडागुडी, दाल र अन्न एक कचौरा मात्र खानुपर्छ । दिनमा चारपटक ठिक्क मात्रामा खानेकुरा खाइरहनुपर्छ ।
औषधि नछुटाई सेवन गर्नुपर्छ । इन्सुलिन लगाउने बिरामीले पनि छुटाउनुहुँदैन । समय–समयमा सुगर जाँच्ने यन्त्र (ग्लुकोमिटर)ले जाँच गर्नुपर्छ । औषधि सेवन गरेकाले हप्तामा एकपटक र इन्सुलिन लगाएकाले सातामा तीनपटक मनिटरिङ गर्नुपर्छ ।
इन्सुलिन लिइरहेकाले खाली पेटमा र खानापछि चेक गर्नु वेश हुन्छ । सुगर लेवल कम भएर हातखुट्टा लुलो भयो वा मुख सुक्खा भयो भने ग्लुकोज पानी वा चकलेट खानुपर्छ । संभव नभएमा पानीमा चार चिया चम्चा चिनी घोलेर पनि सेवन गर्न सकिन्छ । धेरै अप्ठ्यारो भयो भने आफूले नियमित रूपमा जाँच गराइरहेको चिकित्सकसँग फोन तथा अनलाइनका माध्यमबाट परामर्श लिन सकिन्छ ।
यस्तो बेला तनाव लिनुहुँदैन्, यसल सुगर बढाउँछ । अनुहारमा हात लैजानु हुँदैन् । घरभित्र मास्क लगाउनु जरुरी हुँदैन तर बाहिर निस्कँदा लगाउनुपर्छ । संसारले भोगको कुरा म पनि भोग्न तयार छु भन्ने मनस्थिति बनाउनुपर्छ । जतिबेला पनि कोरानाको मात्र समाचार नहेर्नु तनाव कम गर्ने एक उपाय हुनसक्छ ।