म अविवाहित केटा हो । मेरो १ महिलासँग ४ महिना पहिला यौनसम्पर्क भएको थियो । तर , निस्किएको तरल पदार्थ मैले योनीभित्र नै झार्दिएँ । त्यसको असर पर्लाकि नपर्ला, बताइदिनुहोला ।
– 833335
तपाईंले भन्नुभएको लिङ्गबाट निस्किएको तरल पदार्थ पक्कै पनि वीर्य हुनुपर्छ र तपाईंले उनीभित्र भन्नु भएको पक्कै पनि योनि भित्र भन्नुभएको हुनुपर्छ । तपाईंलाई थाहा हुनैपर्छ कि गर्भ रहन पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनु पर्छ र यसरी मिलनवाट बनेको युग्मज पाठेघरको भित्तामा टाँसिनुपर्छ ।
लिङ्गको एक प्रमुख कार्य वीर्यलाई योनिमा राख्नु हो ताकि वीर्यमा भएका शुक्रकीट योनिबाट पाठेघर हुँदै डिम्बवाहिनी नलीसम्म पुगेर त्यहाँ आइपुगेको डिम्बलाई निसेंचित गर्छ । उनीभित्र नै झार्नु भएको कुराले तपाईंले कण्डमको प्रयोग पनि गर्नुनभएको बुझिन्छ । तपाईंको सन्दर्भमा तपाईंले गर्नुभएको कार्यले गर्भ रहन सक्ने भयो । तर, यहाँ गर्भ रहने सम्भावनाका बारेमा चर्चा गर्दा परिपक्व डिम्बको निष्कासन सो समयमा भएको थियो वा थिएन भन्ने कुरामा भर पर्छ । तपाईंले यौनसम्पर्क राख्नुभएको महिला महिनवारी चक्रको कुन बेलामा हुनुहुन्थ्यो भन्ने कुराका बारेमा केही चर्चा गर्नुभएको छैन । त्यसैले गर्भ रहन सक्ने सम्भावनाका बारेमा यकिनसँग भन्न सकिने कुरा भएन ।
असर के पर्ला ?
तपाईंले के–कस्तो असरका बारेमा सोधनी गर्न खोज्नुभएको हो स्पष्ट छैन तर पनि यसका विविध पक्षका बारेमा चर्चा गर्ने प्रयास गर्नेछु । पहिलो कुरा त यौनसम्पर्क राखेपछि तपाईंले आफ्नो कुमारत्व (virginity) गुमाइसक्नु भएको छ । उमेर त भन्नु भएको छैन तर आशा गर्छु कि युवावस्थामा हुनुहुन्छ । युवावस्थामा यौनेच्छा तीव्र हुन्छ नै त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमा नै भएका यौनसम्पर्कका पनि समस्या हुन्छन् त्यसैले जोशमा होस् नगुमाउन होस् पुर्याउनुपर्छ ।
तपाईंले यौनसम्पर्क राख्नुभएको महिलाको पृष्ठभूमिका बारेमा केही लेख्नुभएको छैन । तपाईंको गाउँघर तिरकी चिनेजानेकी महिला हुन् कि देहव्यापारमा लागेकी महिला हुन् भन्ने कुराले तपाईंलाई पर्ने असर फरक पर्छ । तर, केही स्थितिमा सजिला ग्राहकबाट पैसाको दोहन गर्न तपाईंको पछि लाग्ने स्थिति भयो भने तपाईं सजग हुनुपर्छ ।
तपाईंले यौनसम्पर्क भएको ३, ४ महिना भइसकेको कुरा गर्नुभएको छ । अहिलेसम्म केही सूचना नआउनुले उक्त महिलामा गर्भ नरहेको संकेत गर्छ तर गर्भ नरहेको एकिनका साथ भन्न भने सकिएन । उक्त महिलामा तपाईंको गर्भ रहने सम्भावनासँगै आउने भय पनि हुन्छ । गर्भ रहनुले तपाईंको जीवनमा नै आमूल परिवर्तन ल्याउन सक्छ । मन नपरे पनि उहाँसँग नै विवाह गर्नुपर्ने स्थिति नआउला भन्न सकिन्न । यदि उक्त महिला यौनरोग तथा एचआईभीको उच्च जोखिममा छ भने तपाईंको सुरक्षाका उपाय विनाका यौनसम्पर्क हुँदा सो संक्रमण तपाईंलाई पनि सर्न सक्छ ।
उक्त महिलासँगको सम्बन्ध आत्मिय वा प्रेममय थियो भने एक किसिमका समस्या आइपर्छन् । पक्का भन्न नसकिए पनि तपाईंले सम्बन्धले अझै विकसित हुने र वैवाहिक जीवनमा बाँधिन सकिने स्थिति भएन भने त्यसले तपाईं तथा उहाँ दुवैमा मानसिक पीडा दिन्छ । यदि आत्मिय सम्बन्ध थिएन भने तपाईं भयादोहन (black mail)मा पर्ने सम्भावना हुन्छ । फेरि यो सम्बन्ध उक्त महिलाको रुचि र पहलमा भएको हो तपाईंलाई उहाँले आफ्नो यौनेच्छाका लागि प्रयोग हुनुभएको हो भने परिस्थिति अर्कै भयो । तपाईंले यसरी प्रयोग भइने स्थितिबाट बच्ने बारेमा पनि सोच्न आवश्यक हुन्छ ।
यो एकपल्ट मात्र हुन गएको घटना नभई, निरन्तरता पाउन सक्ने सम्भावना हुन्छ । यदि उक्त महिलाको घर परिवार र श्रीमान् पनि हुनुहुन्छ भने कारणवश उहाँहरूले यो सम्बन्ध थाहा पाउने सम्भावना जहिले पनि हुन्छ नै । यस्तो स्थितिमा उहाँ र तपाईंले बेइज्जती सहनुपर्ने स्थिति हुन्छ ।
अर्को पक्षलाई पनि हेरौं यो यौनसम्पर्क राख्ने सहमतिमा कसरी पुगियो भन्ने हो । तपाईंले केही नलेख्नु भएको भए पनि यहाँ तपाईंबाट वा महिलाबाट बल वा दबाबको प्रयोग भएको हुनसक्छ र मञ्जुरी बेगर पनि यौनसम्पर्क भएको हुनसक्छ । यस्तो स्थितिमा यो बलात्कार भयो ।
के गर्ने त ?
यहाँ हामीले विभिन्न सम्भावनाहरूका बारेमा उल्लेख गर्यौं । आशा गर्छु कि माथिको लेखाइबाट तपाईंले पक्कै पनि के जवाफ पाइसक्नुभएको छ । तर, यौनसम्पर्कको सन्दर्भमा यथार्थ स्थिति के हो तपाईंलाई थाहा छ । त्यसको विश्लेषण गरेर आफूलाई कमभन्दा कम असर पर्ने किसिमले भावी कदम चाल्नु बुद्धिमानी हुन्छ ।