साप्ताहिक संवाददाता
लकडाउनकै समयमा मानसिक अस्पताल पाटनमा ५० वर्षीय एक पुरुष अनौठो समस्या लिएर पुगे । उनी पेशाले सवारी चालक हुन् । आर्थिक उपार्जन ठप्प साथै क्रियाशीलता नभएपछि एकनासको पट्यारलाग्दो अवस्थाबाट उनी दिक्क हुन थाले । मानसिक तनाव बढ्न थाल्यो । त्यो दिक्दारी र तनाव झेल्न उनले मदिराको सहायता लिन थाले । बिस्तारै मदिराको नशामा झन्पछि झन् पर्दै गएपछि उनी ‘अल्कोहल युज डिसअर्डर’ भन्ने मानसिक रोगको शिकार भए । उनलाई चिकित्सकले आवश्यक परामर्शका साथै केही औषधि दिएर उपचार गरिरहेका छन् ।
५० वर्षीया एक महिला लामो समयदेखि डिप्रेसनको समस्याबाट ग्रसित थिइन् । उनले डिप्रेसनको नियमित औषधि सेवन गर्दागर्दैै पनि कोरोनाको त्रासले डिप्रेसनको लक्षण झन् बढ्दै गयो । बिस्तारै उनलाई कोरोनासँग सम्बन्धित रोगबाट मर्नुभन्दा आत्महत्या गरौं भन्ने भावना उत्पन्न हुन थाल्यो । साथै उनमा टाउको दुख्ने, नरमाइलो लाग्ने, जीवनप्रति वितृष्णा जाग्ने समस्या पनि बढिरहेको थियो । त्यसपछि उनलाई पाटनस्थित मानसिक अस्पताल लगियो । अस्पतालमा चिकित्सकले औषधिका साथै मनोपरामर्श दिएपछि उनको अवस्था अहिले सामान्य छ ।
दुई साताअघि काठमाडौंकी ४० वर्षीया सरकारी कर्मचारी महिलालाई शंका लाग्ने, मान्छेहरूले आफ्नो कुरा काटिरहेका छन्, मलाई मार्छन् भन्ने भावना आउने, मानिसदेखि डराउने, जसलाई भेटे पनि ‘मलाई नमार्नुस्’ भन्नेजस्ता मानसिक समस्या आएपछि उनलाई परिवारका सदस्यले बानेश्वरस्थित एक क्लिनिकमा लगे । त्यहाँ चिकित्सकले सबै कुरा जाँच गर्दा उनमा एक्युट साइकोसिस लक्षण देखिएपछि उनलाई अहिले औषधि उपचार सुरु गरिएको छ ।
काठमाडौंका ३६ वर्षीय युवकमा लकडाउनको समयमा घरमै बसिरहँदा कोरोना लाग्यो भने के गर्ने, आफूले गर्दै आएको काम के गर्ने होला भन्ने सोच्दासोच्दै एक्कासि डर लाग्ने, मुटुको धड्कन बढ्ने, आत्तिने समस्या देखियो । स्वास्थ्यमा थप समस्या देखिन थालेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगियो । उनले यसभन्दा अघि पनि एन्जाइटीको नियमित औषधि सेवन गरेका थिए । अस्पताल पुगेपछि थाहा भयो कि लकडाउनको समयमा घरभित्रै बसिरहँदा उनमा एन्जाइटी बल्झियो । त्यसपछि नर्भिक अस्पतालमा कार्यरत मनोचिकित्सक डा. जस्मिन माले उनलाई पहिलाको तुलनामा तत्कालका लागि केही औषधि बढाइदिइन् र मनोपरामर्श दिइन् । साथै घरमा व्यायाम गर्न, सकारात्मक सोंच्न र विश्वसनीय समाचारमात्र पढ्न सुझाव दिएर पठाइन् ।
कोभिड–१९ का कारण संसारभर नै मानिसहरूको सामाजिक र आर्थिक गतिविधिहरू यतिबेला ठप्प प्राय: छन् । नेपाल झन्डै दुई महिनादेखि लकडाउनमा छ । यस्तो अवस्थामा मानिसका दैनिक क्रियाकलाप, जीवनशैलीदेखि अर्थोपार्जनसम्मका गतिविधिहरूमा निकै ठूलो संकट परेको छ, जसले मानसिक समस्यालाई पनि झन् विकराल बनाउँदै लगेको माथिका घटनाक्रमहरूले देखाउँछ । लकडाउनकै कारण मानिसमा विभिन्न खालका मानसिक समस्या बढ्न थालेको चिकित्सकहरू बताउँछन् । लकडाउनका समयमा घरमै बसिरहँदा मानसिक रोगका नयाँ बिरामीका साथै पुरानै रोग बल्झिने समस्या लिएर अस्पताल आउनेहरू पनि उत्तिकै रहेको मनोचिकित्सकहरू बताउँछन् ।
लकडाउनले गृहिणीहरूको काम बढाएको छ । परिवारका सबै सदस्य घरमा बस्ने भएपछि खाना, खाजा बनाइरहनुपर्ने झन्झट बढेको छ । कतिपय गृहिणीलाई घर फोहोर भयो र छोराछोरीले भनेको काम मानेनन् भन्ने चिन्ताले पनि मानसिक समस्या बढाइरहेको चिकित्सकहरू बताउँछन् । यस्तै समस्या लिएर एकजना महिला लकडाउनकै समयमा नर्भिक अस्पताल आइन् । ४० वर्षीया ती महिलालाई पनि घरमा परिवारसँग बस्दाबस्दै रिस उठ्ने, छोराछोरीसँग कुरा नमिल्ने, घर फोहोर भयो भन्ने चिन्ता लाग्दो रहेछ । त्यही चिन्ताले उनको टाउको दुखाई दिन प्रतिदिन बढ्दै गयो । ती महिलालाई चिकित्सकले औषधि दिए साथै सकारात्मक सोंच्ने र परिवारका सदस्यसँग रिस उठेको समयमा रिस शान्त नहुन्जेलसम्म एकान्त ठाउँमा बस्न सुझाव दिएर पठाए ।
कोभिड–१९ को त्रासका बीचमा बाँकेकी एक महिलामा एकप्रकारको मानसिक समस्या उत्पन्न भयो । उनलाई कोरोना लागिसक्यो कि ? परिवारका सदस्यलाई सर्ने हो कि ? भन्ने मनमा शंका हुन्थ्यो । अनि चाहिनेभन्दा बढीपटक हात धुन थालिन् । हात धुदा पनि किटाणु गएनन् कि भनेर उनलाई थप मनमा छटपटि हुन थाल्यो । यस्तै समस्या दोहोरिन थालेपछि उनी भेरी प्रादेशिक अस्पतालमा पुगिन् । चिकित्सकले उनमा अबसिब कन्पल्सिपको लक्षण पुष्टि गरे । त्यसपछि उनलाई मनोचिकित्सक डा. सुमन अर्यालले परामर्शका साथै सामान्य औषधि दिएर पठाएका छन् ।
मानसिक समस्याले बालबालिका, वृद्धवृद्धादेखि युवायुवती सबैलाई असर पारेको देखिन्छ । लकडाउनले बालबालिकामा पनि मानसिक समस्या देखिन थालेको मनोचिकित्सक डा. अरुण कुँवर बताउँछन् । एक साताअघि कान्ति बाल अस्पतालमा कलंकीबाट आमाछोरा नै मानसिक समस्या लिएर आए । ३० वर्षीय आमा र ८ वर्षीय छोरामा कोरोना लागेर मरिन्छ भनेर रुने, आत्तिने, निन्द्रा नलाग्ने समस्या थियो । उनीहरूमा एक्युट स्ट्रेस डिसअर्डर भएको पत्ता लागेपछि उनीहरूलाई काउन्सिलका साथै निन्द्रा लाग्ने औषधि दिइएको डा. कुँवर बताउँछन् । यस्तै एक साताअघि बाँसबारीका १३ वर्षीय एक बालक कोरोना लाग्छ भनेर पटक–पटक हात धोइरहने समस्या लिएर आएका थिए । उनलाई पनि परामर्श दिएर पठाए । परामर्श पछि उनमा केही सुधार आएको छ ।
लगातारको लकडाउनका कारण बालबालिकादेखि वयस्क र वृद्धवृद्धालाई समेत मानसिक समस्या बढ्दैछन् भन्ने थाहा पाउन माथिका दृष्टान्त पर्याप्त छन् । अहिले मानिसहरू कोरोनाको त्रास र घरभित्रको बासले गर्दा मानसिक समस्या निम्तिएको चिकित्सकहरू बताउँछन् । यो समयमा नयाँ मानसिक रोगका बिरामी थपिनुका साथै पुराना जसले मानसिक रोगको नियमित औषधि सेवन गरिरहेका छन् उनीहरूलाई पनि मानसिक समस्या बल्झिन थालेको भेरी प्रादेशिक अस्पतालका मनोचिकित्सक डा.सुमन अर्याल बताउँछन् । ‘अहिलेको माहोलले गर्दा मानिसहरूमा एक खालको त्रास छ,’ उनी भन्छन्, ‘यो बेला कोरोनाको त्रासका कारण मानसिक रोग बल्झिरहेका छन् ।’ यतिमात्रै होइन्, सुरु गरेको उद्यम, थपिएको ऋण, स्कुलले ताकेता बालबच्चाको शुल्क, घरभाडा मात्रै होइन्, मध्य र निम्नवर्गको उच्च जनसंख्या रहेको नेपालमा दैनिकी जीवनयापनकै कठिनाइले पनि मानिसहरूलाई मानसिक समस्यातर्फ धकेलिरहेको देखिन्छ ।
कस्ता समस्या देखिँदैछन् ?
घरभित्रै बसिरहँदा मानिसहरूमा विभिन्न खाले मानसिक रोग देखिन थालेका छन् । यो बेलामा विशेषगरी निन्द्रा नलाग्ने, डर लाग्ने, भोक नलाग्ने, खुसी नहुने, मनमा नकारात्मक विचार आउने, अनौठा विचार आउने, निराशापन, खानामा रुचि नहुने, हातखुट्टा झमझम गर्ने, श्वास–प्रश्वास बढ्ने, एउटै कुरा मनमा दोहोरिरहने, कमजोर महसुस गर्ने, आत्महत्या गर्ने विचार आउने जस्ता लक्षण देखिन्छन् ।
कतिपयले आफूमा मानसिक समस्या देखिएपछि चिकित्सकको सम्पर्कमा आउँछन् भने धेरैजसोलाई टेलिफोनबाट पनि परामर्श दिइरहेको मनोचिकित्सक अनन्त अधिकारी बताउँछन् । ‘कोरोना भाइरसले निम्त्याउने कोभिड–१९ भन्ने रोग लाग्ला कि वा लागिसक्यो कि भन्ने भय वा त्राससँग सम्बन्धित एन्जाइटी डिसअडरका बिरामीहरूको वृद्धि भएको छ,’ उनी भन्छन्, ‘यस्ता बिरामीलाई अस्पतालमा उपचार गर्ने र टेलिफोनबाट पनि परामर्श दिइरहेका छौं ।’
महामारीपछि मानसिक समस्या भयावह हुने
सन् २००३ मा सार्सको महामारी फैलिएका देशहरूमा महामारी अन्त्य भइसकेपछि मानसिक समस्याले विकराल रूप लिएको थियो । जुनबेला क्यानाडामा कम्तीमा १० दिनसम्म क्वारेन्टाइनमा बसेका १५ हजार व्यक्तिहरूमा गरिएको एक अध्ययनले करिब ३१ प्रतिशतमा डिप्रेसन, २० प्रतिशतमा एन्जाइटी र २९ प्रतिशतलाई आघातजन्य मानसिक समस्या अर्थात पीटीएसडी भएको पाइएको थियो । क्यानाडाका विशेषज्ञ चिकित्सक र अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनमा मद्यपान, धूमपान र आत्महत्या पनि बढेको पाइएको थियो ।
त्यसैले कोभिड–१९ को महामारी सकिए पनि विश्वमा मानसिक रोगको समस्या बढ्न सक्ने अध्ययनहरूले देखाउँछन् । यतिबेला कोभिड–१९ को त्रासले गर्दा नेपालमा विभिन्न मानसिक समस्या देखिने र बल्झिने भइरहेको छ । ‘धेरैजसो मानिसले आफूमा मानसिक समस्या छ भन्ने बुझ्दैनन्,’ डा. जस्मिन भन्छिन्, ‘मानिसले आफूमा भएको समस्याका बारेमा अनविज्ञ भएपछि यसले जटिल रूप लिनसक्छ र यस्तै अवस्था रहिरह्यो भने भोलिका दिनमा विश्वमा मानसिक स्वास्थ्य समस्याका बिरामीहरू ह्वात्तै बढ्न सक्छन् ।’
त्यसैले महामारीको अवस्थामा जोसुकै मानिसले पनि आफूमा भएको समस्या आफ्ना परिवारका सदस्य, साथीभाइलाई खुलेर भन्नुपर्ने मनोचिकित्सकहरू बताउँछन् । साथै, राज्यले पनि भविष्यमा उत्पन्न हुन सक्ने महामारीको रोकथामका लागि अहिलेदेखि नै नीतिगत ढंगले अघि बढ्नुपर्ने त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक सगुनबल्लभ पन्त बताउँछन् । ‘महामारीका बेला फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी बढी जोखिममा हुन्छन्,’ उनी भन्छन्, ‘त्यसैले यस्ता व्यक्तिहरूमा भविष्यमा मानसिक समस्या नदेखियोस् भन्नका लागि राज्य अहिले नै सचेत हुन जरुरी छ ।’
स्वास्थ्यकर्मीमै मानसिक समस्या !
महामारी फैलिएको अवस्थामा फ्रन्टलाइनमा रहेर उपचारमा खटिने स्वास्थ्यकर्मीहरूमा पनि मानसिक समस्या हुने गरेको अध्ययनले देखाएको छ । हालै कोरोना भाइरसको महामारीकै समयमा चीनमा गरिएको एक अध्ययनले पनि स्वास्थ्यकर्मीमा मानसिक समस्या बढ्ने देखाउँछ । चीनमा कोभिड–१९ को उपचारमा संलग्न ३४ अस्पतालका १ हजार २ सय ५७ स्वास्थ्यकर्मीमा गरिएको अध्ययनमा ५० प्रतिशतलाई डिप्रेसन, ४४ प्रतिशतलाई एन्जाइटी र ३४ प्रतिशतलाई निन्द्राको समस्या देखिएको छ । यस्तै चीनमै ५ हजार ६२ जना कोभिड–१९ संक्रमितको उपचारमा खटिएका चिकित्सकमा गरिएको अर्को अध्ययनले पनि १३.५ प्रतिशतमा डिप्रेसन र २४ प्रतिशतमा एन्जाइटी भएको पाइएको छ ।
यो संख्या महामारी अन्त्य भइसकेपछि पनि बढ्ने अनुमान गरिएको छ । किनभने २००३ मा फैलिएको सार्स महामारीको अन्त्य भइसकेपछि सार्स संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्महरूमा गरिएको एक अध्ययनका अनुसार महामारीपश्चात् १० प्रतिशत स्वास्थ्यकर्मीमा आघातजन्य मानसिक समस्या देखा परेको थियो । सार्स महामारी सकिएको तीन वर्षपछि ताइवानमा गरिएको अध्ययनमा क्वारेन्टाइन र जोखिम भएको ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीहरूमा रक्सीजन्य पदार्थको प्रयोग बढी देखियो भने २० प्रतिशतमा डिप्रेसन भएको पाइएको थियो ।
बालबालिकालाई यसरी जोगाऔं
अरुण कुँवर, मनोचिकित्सक
बालबालिकाका कुरा अभिभावकले सुनिदिने ।
बालबालिका निन्द्राको कमी, डरले पटक–पटक हात धोइरहने, आत्तिने समस्या देखियो भने चिकित्सकसँग परामर्श लिने ।
बालबालिकालाई नियमित व्यायाम, ध्यान गर्न लगाउने ।
सिर्जनात्मक कामहरू गर्न प्रेरित गर्ने ।
मोबाइल, ल्यापटप, टेलिभिजनको अत्याधिक प्रयोग गर्न नदिने
यस्तो बेलामा दैनिक एक/दुई घन्टा पढ्न लगाउने ।
मोबाइल इन्टरनेटमा भन्दा पनि लुडो, चेस खेल्न उत्प्रेरित गर्ने ।
कोरोनाका नकारात्मक समाचार बालबच्चालाई नसुनाउने ।