कोरोना भाइरस महामारीले बन्दाबन्दीका कारण मानिसको जनजीवन प्रभावित बनेको छ । अहिले सबै गतिविधि ठप्प भएकाले शारीरिक र मानसिक स्वास्थ्यसम्बन्धी समस्या धेरै भएका छन् । एक्सरसाइज गर्दा फ्रेस तथा मानसिक रुपमा पनि स्वस्थ हुन सकिन्छ । एक्सरसाइजले (शारीरिक व्यायाम) मानिसको रोगमा सकारात्मक सुधार आउँछ । व्यायामले मूड परिवर्तन हुन्छ किनकी इन्ड्रोफिन हर्मोन रिलिज गरिदिएर खुसी दिन्छ । अहिलेको अवस्थामा सबै घरमा नै भएकाले एक्सरसाइज कसरी सुरु गर्ने भनेर अन्योल भएको हुन सक्छ । यस्तो अवस्थामा डा.नविना श्रेष्ठको सुझाव :
– कुनै पनि एक्सरसाइज सुरु गर्नुअघि आफूलाई क्रोनिक या अन्य रोग लागेको छ छैन भन्ने कुरा ध्यानमा राख्नुपर्छ ।
– मधुमेहका बिरामीले एक्सरसाइज गर्दा आफूले खाइरहेको औषधी, खाना र एक्सरसाइजको तालिका मिलाउनुपर्छ । यस्ता बिरामीले अन्य सामान्य मानिसले जस्तो एक्सरसाइज गर्नुहुँदैन । तालिका बनाएर एक्सरसाइज गर्नु उपयुक्त हुन्छ ।
– एक्सरसाइज गर्नुअघि आफ्नो शरीरलाई बुझ्नु पर्छ । एक्सरसाइज गर्दा रिंगटा लाग्छ, सास फेर्न गाह्रो हुन्छ, छाती दुख्छ भने इन्टेन्सिटी (तिब्रता) घटाउनुपर्छ वा कति राख्दा मात्रा मिल्छ भनेर याद राख्नुपर्छ । एक्सरसाइज बिस्तारै सुरु गर्दै जानुपर्छ, अप्ठ्यारो भएमा थोरै समय गर्नुपर्छ ।
– सबैले पहिलोपटक एक्सरसाइज गर्दा बिस्तारै गर्नुपर्छ । हप्तामा १० देखि २० मिनेट समय बढाउन सकिन्छ ।
– हरेक एक्सरसाइज गर्दा वार्म अप, एक्सरसाइज अवधि र कूल डाउन अवधि राख्नै पर्छ । पानी पनि हातमा हुनुपर्छ ।
– एक्सरसाइज गर्दा दिमागलाई केन्द्रित गर्नुपर्छ । मन परेको संगीत, रमाइला लाग्ने गीत सुनेर श्वासप्रश्वाससँग रिदम मिलाएर गरेमा एक्सरसाइज गर्न मन लाग्छ ।
– एक्सरसाइजलाई बोझको रुपमा नलिई बन्दाबन्दीमा शरीरलाई समय दिन पाएको ठानेर गर्नुपर्छ ।
– एक्सरसाइज गर्दा डाइटमा पनि ध्यान दिनु उपयुक्त हुन्छ । कार्बोहाइड्रेट कम र प्रोटिन बढी मात्रामा लिनुपर्छ । माछामासु, अण्डा र गेडागुडी खानु उपयुक्त हुन्छ । यसले शक्ति प्राप्त भइ धेरै समय एक्सरसाइज गर्न सकिन्छ ।
– बडी बिल्डर हुन्छु भनेर एक्सरसाइज नगरी छोटो अवधिको लक्ष्य लिनुपर्छ । जस्तो मूड राम्रो राख्छु, सकारात्मक सोच्छु, इनर्जी राम्रो हुन्छ भनेर सुुरु गर्नुपर्छ । एक्सरसाइज गर्दै जाँदा मूड राम्रो हुनुका साथै तनाव कम हुन्छ । त्यसपछि फिटनेस लक्ष्य राख्न सकिन्छ ।
– एक्सरसाइज गरेपछि घरमै परिवारलाई, साथीलाई पनि मेरो यति परिवर्तन आयो, तपाईं पनि सुरु गर्नुस् भनेर भन्न सकिन्छ । बन्दाबन्दीलाई बोझ नठानी स्वस्थ रुपमा सदुपयोग गर्नु बेश हुन्छ ।
(डा. श्रेष्ठ निदान अस्पतालमा एमपिटी न्यूरोलोजीको रुपमा कार्यरत हुनुहुन्छ ।)