किशोरकिशोरीमा चुरोटको लत मौलाउनुको पछाडि पारिवारिक पृष्ठभूमि आर्थिक हैसियत, साथीसंगत, बढ्दो पाश्चात्य संस्कृतिको आकर्षण र कतिपयमा डिप्रेसन पनि कारक पाइन्छ ।
आज विश्व धुम्रपानरहित दिवस । विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्ष ३१ मे का दिन विश्व धुम्रपानरहित दिवस मनाइन्छ । सुर्तीजन्य उद्योगहरुले गर्ने छलकपटपूर्ण प्रवद्र्धनबाट युवालाई बचाऔ र उनीहरुलाई धुम्रपान तथा निकोटिनबाट हुने असरहरुको रोकथाम गरौं भन्ने मूल नाराका साथ आज विश्वभर यो दिवस मनाईदै छ । सुर्तिजन्य उद्योगले विज्ञापनमा ८० अर्ब अमेरिकन डलर भन्दा बढी खर्चिरहेका र सुर्तीजन्य पदार्थकै कारण विश्वमा प्रत्यक्ष ७० लाख र निष्क्रियबाट १२ लाख गरी ८२ लाख जनाको वार्षिक मृत्यु भइरहेको छ । नेपालमा वार्षिक २७ हजारको मृत्यु र हरेक ३ जनामा १ जना नेपाली सुर्तिजन्य पदार्थको अम्मली भएको आँकडा छ ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थले हानी गर्ने थाहा हुँदाहुँदै पनि युवादेखि वृद्धासम्म यसको सेवन गर्छन् । १२ कक्षामा अध्ययनरत सीमा (नाम परिवर्तन) साथीको लहलहैमा चुरोट सेवन गर्न थालिन् । यसको बेफाइदा जान्दाजान्दै पनि उनी अहिले चुरोट सेवन छोड्नै नसक्ने भएको बताउँछिन् । यसैगरी ११ कक्षामा पढ्दा साथी संगत र जाडो भगाउने वहानामा चुरोट तान्न सुरु गरेका रिसभ (नाम परिवर्तन) को केही समय अघि फोक्सोमा समस्या देखिएपछि अहिले यसलाई पूर्ण रुपमा छोडेको उनी बताउँछन् ।
डेन्टल सर्जन डा. प्रकाश बुढाथोकीका अनुसार किशोरकिशोरीमा चुरोटको लत मौलाउनुको पछाडि पारिवारिक पृष्ठभूमि आर्थिक हैसियत, साथीसंगत, बढ्दो पाश्चात्य संस्कृतिको आकर्षण र कतिपयमा डिप्रेसन पनि कारक पाइन्छ । अविभावकको बेवास्ता, पाश्चात्य संस्कृतिको आकर्षण, पैसाको दम्भ, साथीहरुको सरसंगत र नैतिक शिक्षाको अभावका कारण क्याम्पस पढ्ने युवायुवतीमा चुरोट खाने लत बढेको देखिन्छ । यद्यपि चुरोट सेवनले स्वास्थ्यमा हानी गर्छ भन्ने उनीहरुलाई थाहा नभएको होइन । आधुनिक र पश्चिमी जीवनशैलीको नक्कल गर्दा चुरोटको नशाले गर्ने नोक्सानी उनीहरुलाई बिर्साइदिएको छ ।
यसैगरी क्याबिन र डान्स रेष्टुराँमा काम गर्ने युवतीहरुमा पनि चुरोट संस्कृति झांगिएको छ । उनीहरुमा आधुनिक बन्ने होडमा भन्दा मानसिक तनाव, आर्थिक अभाव र पारिवारिक वातावरण नपाउँदा तथा ग्राहकको संगत र कमाईका लागि चुरोट र रक्सीको लतमा फस्न वाध्य भएका छन् । मोडलिङ्ग र सिनेमामा काम गर्ने सेलिब्रेटिमा पनि चुरोट संस्कृतिले जरा गाडेको डा. प्रकाश बताउँछन् । यस क्षेत्रका ब्यक्तिहरुलाई आम दर्शक रोल मोडलको रुपमा हेर्छन् र उनीहरु प्रभावित भएर सुर्तिजन्य पदार्थको लतमा परेका छन् ।
शहरमा रात्री मनोरञ्जनस्थलमा काम गर्ने, मनोरञ्जन गर्न आउने, डान्स, डिस्को जस्ता पार्टीहरुमा बढी उपस्थिति जनाउनेमा धुम्रपानको लत बढेको पाइन्छ । चुरोट पिउनुलाई सामान्य मान्ने घरानिया एवं सम्पन्न परिवारका शहरीयाहरु, पीर वेदना बिर्साउन चुरोट र बिडीको मद्दत लिने गाउँघरका मानिस दुवै अम्मली भएका छन् । केही क्लब र बारमा नि:शुल्क वितरण गरी युवायुवतीहरुलाई उत्पादक कम्पनीले लोभ्याइरहेका पनि छन् ।
सबै तह र तप्का जुनसुकै उमेर र लिङ्गलाई धुम्रपानले नकारात्मक असर पार्दछ । प्रशोधित सुर्तीमा २५ सय भन्दा बढी रासायनिक तत्व हुन्छन् भने ४३ तत्वहरु क्यान्सर लगाउन सक्ने तत्वहरु हुन्छन् । त्यही सुर्तीलाई बाल्दा चार हजार रसायन, चार सय विषालु पदार्थ र ६० भन्दा बढी क्यान्सर बनाउन सक्ने तत्वहरु बन्छन् । धुम्रपानमा भएका तत्वहरु शरीरभित्र प्रवेश गरेपछि मुटु, रक्तनली, श्वासप्रश्वास, प्रजनन, दन्त स्वास्थ्य, मस्तिष्क, आन्द्रा लगायत शरीरका सबै अगंप्रत्यगंमा नकारात्मक असर पुर्याउँछ । श्वासप्रश्वास, मुटु रोग लगायतका २५ किसिमका रोग र दुई तिहाई क्यान्सर सुर्तिजन्य पदार्थकै सेवनले गराउँछ ।
संसारभर हरेक दिन १५ अर्बभन्दा बढीको चुरोट र अन्य सुर्तीजन्य पदार्थ बिक्री हुने र प्रत्येक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारण हुने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिला धुम्रपान गर्छन् । धुम्रपान सेवन गर्दा सेवन गर्ने मात्र नभइ वरपर बस्नेलाई पनि असर पुर्याउँछ, यसलाई प्यासिभ स्मोकर भनिन्छ । यसको अम्मलमा फसेपछि निस्कन गाह्रो भएको अम्मली बताउँछन् । यसले स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई मनन गर्दै संयम र आत्मबल बलियो बनाएर यसको सेवनबाट टाढा रही स्वस्थ जीवनयापन गर्न सकिन्छ ।