लकडाउनका बेला शारीरिकका साथै मानसिक समस्या पनि देखिन सक्छ । यसका लागि हामीले घरमै उपलब्ध हुन सक्ने समाधानको उपाय प्रयोग गर्नुपर्छ ।
लकडाउनको समयमा धेरै देखिने स्वास्थ्य समस्या हो– गर्धन दुख्ने । त्यसमा हड्डी र नशाभन्दा पनि ७० प्रतिशत त मांशपेशी (मसल) को कारण देखिन्छ । किनभने, मसल भनेको सबैभन्दा बढी तन्किने (इलास्टिक) चीज हो । यो मसललाई हामीले लकडाउनमा चलाएनौं । नचलाएर राख्नेबितिकै त्यो कडा भएर जान्छ । जब हाम्रा मसल कडा (स्पाजम) भएर जान्छ, नशा जाम गराइदिन्छ । अहिले यो समस्या सबैभन्दा बढी देखिन्छ ।
दोस्रो कुरा, घरमा बसिरहँदा मनोरन्जन र सूचनाको साधनका रूपमा मुख्यतयाः हामीले मोबाइल चलाइरहेका छौं । मोबाइल चलाउँदा हामीले अपनाउने पोजिसनले हाम्रो नेकको भागलाई बेस्सरी टाइट बनाइदिन्छ । अधिकांश मान्छेहरूको यो भागको स्पाजम देखिन्छ । अर्को, एउटै पोजिसनमा बसेर मोबाइल चलाउँदा ‘ब्याकबोन’को समस्या आउँछ । मोबाइल ह्याण्डिल गर्ने हातको मसलमा पनि समस्या आउँछ ।
‘ब्याक’ र नेकका पुराना बिरामीले नियमित रूपमा वाक र एक्ससाइज गर्नुपर्ने थियो । हड्डी, नशा र मांशपेशीमा समस्या भएकाहरूलाई पनि नियमित एक्ससाइजको जरुरी छ । तर लकडाउनका कारण अहिले रोकियो । त्यसैले समस्या देखिइरहेका छन् । एउटै पोजिसनमा हामी ‘बोन’ विस्तारै ‘डिजेनेरेसन’ हुन्छ । विशेष गरी कम्मर र गर्धनको ‘डिजेनेरेशन’ हुने सम्भावना धेरै हुन्छ ।
अहिले हामी बाहिरी दुनियाँमा जान पाएका छैनौं । समाचारमा पनि धेरैजसो भय र त्रासका समाचार पढिरहेका छौं । जसले मानिसमा एन्जाइटी हुने, डिप्रेसनमा जाने अत्याधिक सम्भावना छ । एक्लै बसिरहनुपर्ने अवस्था छ, धेरैजनाको बस्ने ठाउँ खुल्ला र फराकिलो छैन । एउटा कोठामा लामो समयसम्म एक्लै बसिरहँदा मानसिक समस्या बढाउँछ ।
कोठाबाहिर निस्कँदा घाम पाइन्थ्यो, भिटामिन डी शरीरलाई प्राप्त हुन्थ्यो । अहिले कोठाभित्रै थुनिनु परेको अवस्थामा भिटामिन डीको पनि कमी हुन जान्छ । यस्तै, अहिले खोजेजस्तो खानेकुरा पाउने अवस्था पनि छैन । जसले मानिसको ‘न्युट्रेसन’मा पनि कमी हुन थालेको छ ।
समस्या कम गर्न के गर्ने ?
अहिले मुख्यतयाः तीन वटा कुरा निकै महत्वपूर्ण छन् । एक शारीरिक स्वास्थ्य, दोस्रो मानसिक स्वास्थ्य र अर्को आर्थिक पक्ष । यी तीन पक्षलाई सन्तुलन गर्न प्रयास गर्नुपर्छ । कोठामै बसिरहेको अवस्थामा पनि सामान्य शरीर चलाउने एक्सरसाइज गर्नुपर्छ । आफूसँग जति स्पेस उपलब्ध छ, त्यसैमा शारीरिक व्यायाम गर्न जरुरी छ, कम्तीमा बिहान र साँझ एक घण्टा ।
दोस्रो कुरा, हामीले मानसिक रूपमा बलियो हुने चीजहरूमा ध्यान दिनुपर्छ । त्यसका लागि श्वासप्रश्वाससम्बन्धी एक्सरसाइजमा जोड दिन जरुरी छ । जसलाई योगाको भाषामा प्राणायाम भनिन्छ । प्राणायाम सबै आउँदैन भने पनि स्वास नियन्त्रणका अभ्यास गर्नुपर्छ । जसले मानसिक स्वास्थ्यलाई बलियो बनाउन सहयोगी भूमिका खेल्छ ।
घरमै बसेर प्रेरणादायी र रमाइला भिडियो हेर्नुपर्छ । कमेडी शो, मोटिभेसनल स्पिच हेर्ने र सुन्ने गर्नुपर्छ । भय, मृत्यु र डरका समाचारलाई ध्यान नदिएर सकारात्मक सन्देश दिने खालका सकारात्मक समाचार तथा भिडियोमा ध्यान दिनुपर्छ । हिजोका दिनमा हामी बाहिरी संसारलाई बढी हेरिरहेका थियौं । यतिबेलाको समय भनेको स्वयंले आफ्नो शरीरलाई बुझ्ने मौका पनि हो । त्यो मौकालाई हामीले भरपुर सदुपयोग गर्नुपर्छ ।
यतिबेला अत्यधिक रूपमा हामीले इम्युनिटी पावर बढाउनुपर्छ । त्यसकारण खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ । फास्टफुडबाट त हामी टाढा छौं, तर घरमा आफैंले बनाउने फास्टफुड पनि कम गर्नुपर्छ । प्राकृतिक खानेकुरामा बढी जोड दिनुपर्छ । सकेसम्म ग्रीन भेजिटेबलको मात्रा बढाउने, पानीको मात्रा बढाउनेजस्ता कुराहरूमा ध्यान दिनुपर्छ । सामाजिक दूरी कायम राखेर केही समय भएपनि घाममा निस्कने गर्नुपर्छ ताकि हामीलाई भिटामिन डी कम नहोस् ।
ढाड, गर्धन र नशाका समस्या कम गर्ने घरेलु उपायहरू पनि छन् । सामान्यतयाः तातोले सेक्न सकिन्छ । आफैं वा परिवारका सदस्यले मसाज गरिदिन सक्छन् । त्यसबाहेक मुख्य ध्यान दिनुपर्ने भनेको नै एक्सरसाइजमा हो । जति शरीरलाई चलायमान बनायो, यस्ता समस्या त्यति नै कम हुन्छन् । मांशपेशी, हड्डी र नशाहरूमा एक्सरसाइजले नै फेक्जिबिलिटी आउने हो । वैज्ञानिक एक्सरसाइज योग सबैलाई नआउन सक्छ । तर, सामान्य मुभमेन्टहरू जो कोहीले गर्न सक्छौं । हात, खुट्टा र गर्धनका मुभमेन्ट गरिरहनु पर्छ । कोठाभित्र र घरको माथि–तलमाथि गरेर पनि आफ्नो ‘मोबिलिटी’ बढाउन सकिन्छ ।
(सु–स्वास्थ्य अस्पतालका एक्युपंचरिष्ट बस्नेतसँगको कुराकानीमा आधारित)