कुनै पनि संक्रमण सर्नका लागि संक्रमित व्यक्तिमा भाईरल लोड कति छ ? सर्ने माध्यम कतिको बलियो छ ? संक्रमितको सम्पर्कमा आएको व्यक्तिको स्वास्थ्य स्थिति कस्तो छ भन्ने यावत कुरामा भर पर्दछ ।
नेपालमा कोभिड १९ का कारण पहिलो पटक ३२ बर्षीया सुत्केरी महिलाको मृत्यु भएपछि तिनका नवजात शिशु अनि परिवारजनमा किन कोरोना देखिएन भन्ने सर्वाधिक चासोको विषय बन्यो । मृतकका आमा, भाइ, बहिनी एवं श्रीमान् लगायतका वयस्कलाई त संक्रमण सरेन रे लौ ! तर नवजात शिशुलाई किन सरेन त ? त्यो पनि महिना नपुगी जन्मेको शिशुमा ?
ती शिशुको धुलिखेल अस्पतालमा रहँदै दुई पटक पीसीआर नेगेटिभ र जन्मेको करिब दुई हप्ता पछि गरिएको आरडीटी पनि नेगेटिभ आएको थियो । नेपाल बाहेक कोभिड १९ कै कारण श्वासप्रश्वास जटिलता भई अन्यत्र मृत्यु भएका अन्य दुईजना महिलाको साल र नवजात शिशुमा पनि कोरोना देखिएको थिएन । त्यसो त पीसीआर टेष्टका लागि स्वाब संकलन गर्ने तौरतरिका र ल्याबमा कति राम्रो प्रोसेसिङमा पनि भर पर्दछ । अर्को वास्तविकता के छ भने पिसिआर प्रविधिले संक्रमितमध्ये ९० प्रतिशत सम्म र आरडीटीले ३५ प्रतिशतसम्म संक्रमण पत्ता लगाउन सक्ने क्षमता हुन्छ ।
कुनै पनि संक्रमण सर्नका लागि संक्रमित व्यक्तिमा भाईरल लोड कति छ ? सर्ने माध्यम कतिको बलियो छ ? संक्रमितको सम्पर्कमा आएको व्यक्तिको स्वास्थ्य स्थिति कस्तो छ भन्ने यावत कुरामा भर पर्दछ । कोभिड १९ कै हकमा पनि संक्रमितको शरीरमा कोरोना भाईरसको लोड कति छ ? संक्रमित वा संक्रमितको नजिकमा गएकाले मास्क लगाएको छ कि छैन ? संक्रमितसँग भौतिक दूरी कायम गरेको छ, छैन भन्ने कुरामा भर पर्दछ । यसो विचार गर्दा ती नवजात शिशु जोखिममै रहेको देखिन्छ । तर यी कुराहरु छन् भन्दैमा संक्रमण सर्नै पर्दछ भन्ने ग्यारेण्टी चाहिँ हुँदैन । किनभने कोभिड १९ को हकमा निकै धेरै कुरा प्रष्टिएकै छैन । जसले गर्दा स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ताहरु नै पटक–पटक रनभुल्लमा पर्न बाध्य छन् । विश्व परिवेशमा गर्भवती तथा सुत्केरी एवं युवाहरुमा कम संक्रमण देखिएपनि नेपालमा ठीक उल्टो छ । जानकारहरुका अनुसार परीक्षणको दायरा बढाउन नसकिएकोले पनि यस्तो भएको हो भनिन्छ ।
मार्च ४, २०२० सम्म ३१ वटा छापिएका विधागत लेख तथा अफिसियल वेबसाईटहरुमा वुहानबाट नेपाल वा अन्य कुनै देशमा फैलिएको कोरोना भाइरसको वंशाणुगत संरचना (जिनोमिक स्ट्रक्चर) ठ्याक्कै उस्तै हो भन्ने निश्चितता भैसकेको छैन । र, हालसम्म पीसीआर प्रविधिबाट कोरोना संक्रमण छ, छैन भनेर छुट्याउन सफल भएपनि कोरोना संक्रमितमा संक्रमणको विभिन्न चरणमा भाईरल लोड कति छ भनेर संख्यात्मक जानकारी निकाल्न सकेको छैन, अर्थात् संख्यात्मक गणना गरिरहने फुर्सद नै पाएको छैन ।
उदाहरणका लागि एड्स रोग गराउने एचआईभी संक्रमणमा संक्रमण लगत्तै संक्रमितको शरीरमा भाईरल लोड लाखौं प्रति पुग्दछ भने संक्रमणको केही हप्तामा हजारौंमा झर्दछ । समयमै उपचार नलिएका संक्रमितमा भाईरल लोड ५० हजार कपि प्रति मिलि भइरहन्छ भने एण्टीरेट्रोभाईरल औषधिजन्य उपचार थालेको ४ देखि ६ महिनामा भाईरल लोड गणना गर्न नसकिने तवरमा (५० कपि प्रति मिली) मा घट्दछ । कोभिड १९ को हकमा यसरी हिसाब गर्नै भ्याएका छैनौं । स्मरण रहोस् एचआईभी संक्रमण देखा परेको तीस वर्ष भन्दा बढी समय भैसक्यो । त्यसैले रौं चिरा खोतलखातल गर्न सफल भएपनि एचआईभी संक्रमण निर्मूल पार्ने औषधि पत्ता लगाउन सकेका छैनौं । त्यसैले कोभिड १९ को निश्चित उपचारको लागि लामो बाटो तय गर्न बाँकी नै छ ।
मानिसलाई हानी पुर्याउन सक्ने ६ थरिका कोरोना प्रजाति मध्ये ४ थरिका कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता बलियो भएका मानिसमा साधारण रुघा बाहेक खासै समस्या गराउन सक्दैनन् । तर बाँकी सार्स (सिभेर एक्युट रेस्पिरेटरी सिण्ड्रोम), मर्स (मिडिल ईष्ट रेस्पिरेटरी सिण्ड्रोम) नामका कोरोनाजन्य घातक संक्रमण, जुन जनावरबाट मानिसमा फैलिएको आँकलन गरिएको छ । अन्य जीवाणु भन्दा भाइरसमा काँचुली फेरिरहने वा फेर्न सक्ने क्षमता भएको कारणले एकातिर औषधिमूलो तथा खोप पत्ता लगाई हाल्न समय लाग्छ भने एकपटक बनाएको खोप वा औषधि पछिसम्मलाई काम लाग्छ भन्ने कुनै सुनिश्चितता हुँदैन । अहिलेको कोभिड १९ सार्सकै नयाँ प्रारुप हो भने भलै आधिकारिक रुपमा ३१ डिसेम्बर २०१९ मा पहिलो कोरोना संक्रमणको केस देखिएपनि ११ मार्च २०२० मा आएर मात्र विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रुपमा घोषणा गरिएको थियो ।
‘कोभिड १९ को महामारी र नवजात शिशु तथा बालबालिकाबारे अहिलेसम्म हामीलाई के थाहा छ ?’ भन्ने एक अर्को लेखमा उल्लेख भए अनुसार सबै उमेर समूहका मानिस जोखिममा रहेपनि उमेर ढल्किएका र अन्य कुनै जीर्ण रोग भएकामा कोभिड १९ का कारण मृत्यु हुने सम्भावना बढी देखिएको छ । त्यसैगरी अप्रिल ७, २०२० सम्म छापिएका २ हजार १४३ बालबालिकामा आधारित अध्ययनमा ९० प्रतिशत भन्दा बढीमा बिना कुनै लक्षण देखि मध्यम खालको संक्रमण देखिएको छ । भलै गम्भीर वा सिकिस्त हुन सक्ने सम्भावना एक वर्ष मुनिका शिशुहरुमा १० दशमलव ६ प्रतिशतसम्म भएपनि शिशुहरुमा यो नोभल कोरोना भाइरसको सम्भावित हानी कुनै निश्चित नै छैन, त्यस माथि पनि महिना नपुगी जन्मेका शिशुहरुमा त झनै प्रष्टता छैन ।
विगतका सार्स तथा मर्स संक्रमणमा पनि बालबालिकाहरु अछुण्ण रहेका थिए । विगतका सार्स, मर्सं भन्दा यसपटक देखापरेको कोभिड १९ फरक भएपनि यो संक्रमणमा पनि बालबालिका तुलनात्मक रुपमा अछुण्ण रहेको देखियो । नेपालमै पनि लकडाउनको ७५ दिन (जेठ २४ गते) सम्ममा कोरोना संक्रमितको संख्या ३२ सय नाघ्दा संक्रमित बालबालिकाको संख्या मुस्किलले २० जना पनि पुगेका छैनन् । चीनको सुरुवाती ८१ हजार २६ केस मध्ये जन्मेको ३० घण्टा देखि १७ दिनसम्मका ४ जना नवजात शिशुमा कोरोना पोजेटिभ पाइएपनि कोभिडका लक्षण साधारण र परिणाम पनि कम गम्भीर भएको पाइयो ।
मानव शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मेडिकल भाषामा एन्टीबडी वा इम्युनोग्लोबुलिन भनिन्छ । इम्युनोग्लोबुलिनले ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीविजन्य संक्रमण तथा रोगव्याधीसँग लड्ने क्षमता दिलाउँछ । इम्युनोग्लोबुलिन ए, ई, जी, एम र डी गरि विभिन्न थरिका भएपनि त्यसमध्ये सुत्केरी महिलाको बिगौती दूधमा इम्युनोग्लोबुलिन ए अत्याधिक मात्रामा हुन्छ । इम्युनोग्लोबुलिन ए ले श्वास प्रश्वास मार्ग तथा खाद्यप्रणाली मार्गका सतहलाई निको पार्ने तथा ढाक्ने काम गर्दछ । त्यसैले आमाको दूध खाएको शिशु स्वस्थ हुन्छ ।
अहिले सम्मको अध्ययनबाट पाठेघरभित्रै संक्रमण सर्ने सम्भावना देखिएको छैन । चेन तथा सहयोगीहरुले गरेको अध्ययनका ९ नमूनाहरुमा पनि कोरोना संक्रमण नेगेटिभ पाइयो । नवजात शिशुको नालको रगत, शिशु वरिपरिको पानी एवं सालमा संक्रमणको प्रमाण भेट्टिएन । नवजात शिशु तथा बालबालिकामा कोरोना संक्रमण किन धेरै लाग्दैन भन्ने कुनै स्पष्टता नभएपनि कतिपय अनुमानहरु भने गरेका छन् । एक, बालबालिकालाई दिइने खोपसँग सम्बन्धित क्रस इम्युनिटीका कारण भाइरल संक्रमणबाट अछुण्ण रह्यो कि ? अर्को तथ्य भनेको कोरोना संक्रमणको हकमा वायुथैलीमा हुने तत्व (एसीई २) कोरोना भाइरस मानिसको शरीरभित्र छिर्ने मुख्य बाटो अर्थात् भाइरस रिसेप्टरको रुपमा लिइएको छ । वयस्क तथा बुढ्यौली उमेरका मानिसहरुमा भन्दा शिशुहरुमा एसीई २ को वितरण फरक छ र एसीई २ को परिपक्वता र काम गराई शिशु तथा बालबालिकामा कम छ । र, त्यसैपनि महिना नपुगेका शिशुहरुको फोक्सो त्यसैपनि कमजोर मानिन्छ । तर पनि विश्व स्वास्थ्य संगठन स्तनपान गराउने क्रममा मास्क लगाउने, नियमपूर्वक हात धुने कार्य गर्न सचेत पारेको छ ।