लकडाउनको समयमा धेरैमा अनिद्राको समस्या देखा परिरहेको स्वास्थ्य संस्थाहरूको रिपोर्टले देखाउँछ । स्वास्थ्यका लागि निन्द्रा महत्वपूर्ण भएकाले यसका लागि विभिन्न शारीरिक-मानसिक अभ्यासका साथै चिकित्सकको परामर्श आवश्यक हुन्छ ।
काठमाडौंका निशान दाहाल (नाम परिवर्तन) एसइई परीक्षाको तयारी गरिरहेका थिए । जेहेन्दार विद्यार्थी उनी परीक्षा सुरु हुनु एकदिन अघि अचानक स्थगित भएपछि निकै चिन्तित भए । मनमा अनेकन सोच पलाउन थाले । परीक्षा स्थगित हुँदा आफूले गरेको तयारी बालुवामा पानी भयो भन्ने तनाव हुन थाल्यो । बिस्तारै त्यसले निन्द्रा बिग्रन थाल्यो । निन्द्रा लागे पनि परीक्षा बिग्रिएको सपना देख्न थाले । परीक्षा बिग्रिएको सपनाले त उनको निन्द्रामा अझै बाधा पुर्यायो । बेलुका निन्द्रा नलागेपछि उनले दिउँसो पढ्न सकेनन् । ३ हप्ताअघि उनी यही समस्या लिएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगे । त्यहाँ मनोचिकित्सक सगुनबल्लभ पन्तले उनको सबै समस्या सुनेपछि उनलाई स्लीप हाइजिन (राम्ररी सुत्ने विधि) सिकाए, मनोपरामर्श दिएर पठाइदिए । साथै, एकहप्तामा फलोअपका लागि आउनु भने । एक हप्ताको फलोअपमा आउँदा उनी ठीक भएर आएको पन्त बताउँछन् ।
एक महिनाअघि चितवनस्थित भरतपुर अस्पतालमा ३० वर्षीय पुरुष निन्द्रा नलाग्ने समस्या लिएर पुगे । ननिदाउने, झोक्राएर बस्ने, रातभर जागा रहने भएपछि उनका आफन्तले अस्पताल ल्याएका थिए । लकडाउनको समयमा अत्याधिक धुमपान र मद्यपानको कुलतमा फसेका कारण उनी मानसिक रोगको सिकार भएको चिकित्सकले पत्ता लगाए । यसभन्दा अघि उनले मानसिक समस्या देखिएका कारण औषधि सेवन गरेका रहेछन् तर लकडाउनका कारण औषधि किन्न नपाएपछि खान छाडेछन् । त्यसपछि चिकित्सकहरूले उनलाई कम डोजको औषधि सुरु गरे । औषधि सेवन गर्न थालेपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।
लकडाउनले गर्दा अधिकांश मानिसको दैनिक क्रियाकलाप बिथोलिएको छ । लामो लकडाउनका कारण घरभित्रै बस्नुपर्ने र व्यापार व्यवासाय, रोजगारी सबै ठप्प भएपछि मानिसमा विभिन्न खालका मानसिक समस्या देखिन थालेको मनोचिकित्सकहरू बताउँछन् । धेरैजसो मानिसमा इन्सोम्निया (अनिद्रा) को समस्या देखिन थालेको छ । यस्तै समस्या महाराजगञ्जका कृष्णमान डंगोल (नाम परिवर्तन) लाई देखियो । कृष्णमान एक व्यापारी हुन् । लकडाउनका कारण पसल बन्द भएपछिको व्यापार घाटा, घरभाडाजस्ता तनावले उनलाई गिजोल्न थाल्यो । बिस्तारै निन्द्रा लाग्न छोड्यो । उनी एक हप्तासम्म त रातभर सुतेनन् । हरेक दिनजसो रातभर निन्द्रा नलागेपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगे । उनलाई आफ्नो व्यापार व्यवसाय ठप्प भएका कारण उत्पन्न भएको तनावका कारण निन्द्रामा समस्या देखिएको चिकित्सकले पत्ता लगाए । त्यसपछि १० दिनका लागि निन्द्रा लाग्ने औषधि दिए साथै स्लिप हाइजिन पनि सिकाएर पठाए । उनले १० दिनसम्म औषधि सेवन गरे र स्लिप हाइजिनका उपायहरू पनि अपनाएपछि उनलाई निन्द्रा पर्न थालेको छ ।
लकडाउनकै समयमा मनोचिकित्सक डा. सुनिल साहलाई एक सम्भ्रान्त परिवारकी महिलाले फोन गरिन् । ती महिला सरकारी सेवाबाट भर्खरै अवकास प्राप्त रहिछन् । उनका छोराछोरी अमेरिकामा छन् । यता श्रीमान-श्रीमती मात्र एक्लै घरमा बस्दा–बस्दै उनलाई दिक्दारी लाग्न थाल्यो । साथै विश्वभर फैलिएको कोभिड-१९ को महामारी यतिबेला अमेरिकामा पनि भुसको आगोझैँ फैलिरहेको छ । जसले गर्दा उनमा कतै आफ्नै छोराछोरी कोभिड-१९ बाट संक्रमित हुने हुन् कि भन्ने डर–चिन्ता लाग्न थाल्यो । त्यही चिन्ताले उनलाई निन्द्रा लाग्नै छोडेछ । बिस्तारै मुटुको धडकन बढ्ने, दिक्क लाग्ने, एकान्तमा बस्न मन लाग्नेजस्ता समस्या देखिन थाल्यो । त्यसपछि साहले ती महिलालाई मनोपरामर्श दिए साथै घरवरिपरि मर्निङ वाक, योगा, ध्यान गर्ने र परिवारसँग नियमित सम्पर्कमा रहन सल्लाह दिए । साथै, छोटो अवधिका लागि निन्द्रा लाग्ने औषधि पनि चलाइदिए । अहिले पनि उनी डा. साहको सम्पर्कमा छिन् । उनको यतिबेला स्वास्थ्य अवस्था सामान्य भैसकेको साह बताउँछन् ।
काठमाडौंका भुवन मानन्धर (नाम परिवर्तन) घर बनाएर बैशाखसम्म नयाँमा सर्ने योजनामा थिए । तर आकस्मिक रूपमा लकडाउन भएपछि उनको घर अहिले अपूर्ण अवस्थामा छ । घर अपूरो भएको चिन्ता त छँदै छ, छोराछोरीको स्कुल बन्द भएका कारण उनीहरूको भविष्यको बारेमा पनि चिन्ता लिन थाले । एकपछि अर्को चिन्ताले उनलाई राम्रो निन्द्रा पर्न छाड्यो । २/३ घन्टा सुतेपछि झसंग भएर ब्युँझिने र छटपटीमै रात बित्ने हुन थाल्यो । साथै शरीरमा दुखाइ महसुस हुने, खानामा अरुचि हुने, घरभित्रै बन्धक भएको अनुभव हुनेजस्ता समस्या दिनानुदिन बढ्दै जान थालेपछि उनी मनोविद् करुणा कुँवरकहाँ पुगे । कुँवरले उनलाई परामर्श दिइन् । ५५ वर्षीय ती पुरुष अहिले पनि कुँवरको नियमित सम्पर्कमा छन् । त्यही परामर्शको प्रभावले यतिबेला उनी सामान्य अवस्थामा फर्किएको कुँवर बताउँछिन् ।
माथिका उदाहरणले कोभिड–१९को भयसँगै सामाजिक, आर्थिक, घरायसी तनावका कारण मानिसमा निन्द्रा नलाग्ने समस्या देखिन थालेको प्रष्ट हुन्छ । यो अवधिमा धेरैजसो मानिस अनिन्द्राको समस्या लिएर अस्पताल आउने गरेको मानसिक अस्पताल पाटनका मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारी बताउँछन् । ‘दैनिक ६० देखि ७० प्रतिशत मानिसहरू निन्द्रा नलाग्ने समस्या लिएर अस्पताल आउँछन्’, उनी भन्छन्, ‘मानसिक समस्याको पहिलो लक्षण अनिन्द्रा हो, त्यसैले अधिकांश मानिसको समस्या बुझ्दै जाँदा अरू नै मानसिक समस्याको सुरुवाती लक्षण अनिन्द्रा भएको पुष्टि हुने गर्छ ।’ डा. अधिकारीका अनुसार निन्द्रा नलाग्नुका विभिन्न कारण हुन्छन् । जसमध्ये तनाव, दुश्चिन्ता, थकान र खानपान आदि मुख्य कारक तत्व हुन् ।
कोही मानिसलाई हप्तामा ३ दिन निन्द्रा नलाग्ने समस्या तीन महिनाभन्दा बढी गयो भने त्यसलाई इन्सोम्निया अर्थात अनिन्द्राको समस्या भनिन्छ । अनिन्द्राको समस्या हरेक मानिसको जीवनमा एकपटक आउने मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् । ‘निन्द्रामा मात्र समस्या हुन्छ भने त्यसलाई इन्सोम्निया भन्छौं त्यो सामान्य हुन्छ,’ उनी भन्छन्, ‘विभिन्न अध्ययनअनुसार विश्वमा ३० प्रतिशत जनसंख्यालाई कुनै न कुनै समयमा इन्सोम्निया हुने गर्छ ।’ इन्सोम्निया विशेषगरी तनावको अवस्थामा हुन्छ । अहिले लकडाउन, व्यवहारिक झन्झट, कुनै मानसिक रोग, शारिरीक समस्या, जीवनमा भएका आघातपूर्ण घटना, वैदेशिक रोजगारीजस्ता कुराहरूले इन्सोम्नियाको समस्या उत्पन्न गराइरहेको छ । अहिले विश्वले खेपिरहेको कोभिड–१९ को महामारीका कारण विश्वमा इन्सोम्नियाका बिरामीहरू बढ्ने मनोचिकित्सकहरू बताउँछन् ।
निन्द्राको गडबडी सबै मानिसमा एउटै कारण नहुने मनोविद् करुणा कुँवर बताउँछिन् । ‘कतिपय मानिसलाई ओछ्यानमा गएपछि निन्द्रा नपर्ने, निदाएपनि बीचबीचमा ब्युँझिने, सधैं एउटै समयमा ब्युँझिने र त्यसपछि निदाउन नसक्ने, एउटै चिन्ताले रातभर ननिदाउनेजस्ता कारण मानिसमा अनिन्द्राको समस्या आइरहेको हुन्छ,’ उनी भन्छिन्, ‘निन्द्रो हाम्रा शरीरका लागि निकै महत्वपूर्ण हुन्छ, हामीले खाना नखाएर धेरै दिन बाँच्न सक्छौं तर एक हप्ता जति अनिँदो बस्यौं भने मृत्यु हुन्छ ।’
मानिसमा अन्य कुनै मानसिक समस्या छैन, उसलाई तनाव पनि छैन तर उसमा निदाएपछि घुर्ने समस्या छ भने पनि निन्द्रामा समस्या आउने डा. पन्त बताउँछन् । ‘निन्द्रामा घुर्ने मानिस सुत्न चाहिँ सुतेको हुन्छ तर बीच–बीचमा ब्युँझिरहन्छन् र निन्द्रामा समस्या आउँछ’, उनी भन्छन् । साथै, धुमपान, मद्यपान अथवा अन्य कुनै लागूपदार्थ सेवन गर्ने मानिसलाई पनि निन्द्राको समस्या आउने पन्त बताउँछन् । ‘सुरुसुरुमा लागूपदार्थ सेवन गरेको मान्छेले मिठो निन्द्रा परेको अनुभव गर्छ,’ उनी भन्छन्, ‘तर बिस्तारै उसमा निन्द्रामा समस्या उत्पन्न हुन थाल्छ, जसले गर्दा मानिस कालान्तरमा निदाउनका लागि लागूपदार्थको सहारा लिन्छ र पछि कुलतमा बस्छ ।’ अहिलेको यो परिस्थितिमा मानिसको तालिकाअनुसार काम नहुँदा निन्द्रामा समस्या देखिन थालेको मनोचिकित्सक डा. सुनिल साह बताउँछन् । ‘पहिला मानिसहरू तालिकाअनुसार काम गर्थे,’ उनी भन्छन्, ‘अहिलेको यो अन्योलताका कारण पनि निन्द्रामा समस्या हुने मानिसहरू बढिरहेका छन्, साथै सामाजिक सञ्जालमा आउने विभिन्न खाले भ्रामक समाचारले पनि अनिन्द्राको समस्या निम्त्याइरहेको छ ।’
यसरी नियमित निन्द्रामा समस्याका कारण विभिन्न खाले शारीरिक तथा मानसिक रोगहरू उत्पन्न हुन थाल्छन् । विशेषगरी लामो समय अनिँदो रहने मान्छेमा भविष्यमा मुटुको समस्या देखिने सम्भावना बढी हुने मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला बताउँछन् । ‘निन्द्रा नलाग्ने समस्या विशेषगरी तनावसँग सम्बन्धित हुन्छ, जसले गर्दा कोही मानिसमा अचानक मुटुको धड्कन बढेको महसुस हुन सक्छ,’ उनी भन्छन्, ‘लामो समय नसुत्ने मान्छेमा कालान्तरमा मुटुको समस्या आउने सम्भावना बढी हुन्छ, त्यसैले शारीरिक तन्दुरुस्तीका लागि पर्याप्त निन्द्रा जरुरी छ ।’
अनिन्द्राका कारण आउने स्वास्थ्य समस्या
स्वस्थ शरीरका लागि निन्द्रा एकदमै महत्वपूर्ण छ । लामो समय अनिँदो रहने व्यक्ति शारीरिक तथा मानसिक रूपमा शिथिल हुने मनोचिकित्सकहरू बताउँछन् । लामो समय अनिन्द्राले भावी दिनमा भयानक मानसिक रोग देखा पर्ने डा. अधिकारी बताउँछन् । ‘अनिन्द्रा आफैंमा इन्सोम्निया रोग हो’, उनी भन्छन्, ‘तैपनि सुरुसुरुमा निन्द्रा नलाग्नुको अर्को कारण डिप्रेसन, एन्जाइटी डिस्अर्डर अथवा अन्य कुनै जटिल खालको मानसिक रोगको लक्षण पनि हुन सक्छ ।’
साथै अनिन्द्राका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता घट्ने डा. पन्त बताउँछन् । ‘अनिन्द्राले शरीरमा रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै पाचन प्रक्रियामा पनि समस्या आएर ग्यास्ट्रिकको समस्या देखिन्छ’, उनले भने । त्यस्तै अनिन्द्राका कारण थकान अनुभव हुने, स्मरणशक्तिमा ह्रास आउने, कुनै पनि कुरामा ध्यान केन्द्रित नहुने, मधुमेह, उच्च रक्तचाप, यौनशक्तिमा कमी ल्याउनेलगायतका समस्या आउन सक्छ ।
कुन उमेर समूहमा कति घन्टा सुत्ने ?
सुताइ घन्टामा भन्दा पनि गुणस्तरीय निन्द्रामा भरपर्ने मनोचिकित्सकहरू बताउँछन् । किशोरावस्था र वयस्कको तुलनामा बच्चाहरूको निदाउने समय धेरै हुने डा. पन्त बताउँछन् । ‘उमेर बढ्दै जाँदा निदाउने समय घट्दै जान्छ,’ उनी भन्छन्, ‘अन्य उमेर समूहको तुलनामा ५ वर्षभन्दा कम उमेरका बालबालिकाको सुत्ने समय धेरै हुन्छ ।’ निन्द्राको विषयमा विभिन्न अध्ययन भएका छन् । कुन उमेर समूहका मानिसले कति घन्टा सुत्ने भन्ने विषयमा अमेरिकाको नेशनल स्लिप फाउन्डेसनले गरेको अध्ययन यस्तो छ :
पहिलो दिनदेखि ३ महिना : १४ देखि १७ घन्टा
४ देखि ११ महिना : १२ देखि १५ घन्टा
१ देखि २ वर्षसम्म : ११ देखि १४ घन्टा
३ देखि ५ वर्षसम्म : १० देखि १३ घन्टा
६ देखि १३ वर्षसम्म : ९ देखि ११ घन्टा
१४ देखि १७ वर्षसम्म : ८ देखि १० घन्टा
१८ देखि २५ वर्षसम्म : ७ देखि ९ घन्टा
२६ देखि ६४ वर्षसम्म : ७ देखि ९ घन्टा
६५ वर्षभन्दा माथि : ७ देखि ८ घन्टा
राम्रो निन्द्राका लागि के गर्ने ?
मनोचिकित्सक डा. सगुनबल्लभ पन्तले मानसिक समस्यालाई लुकाउदाँ कस्तो किसिमको समस्या देखिन्छ भन्ने बिषयमा दिनु भएको जानकारी मुलक भिडियो हेर्न यो लिंक मार्फत् जानु होला ।
–एउटै समयमा सुत्ने र उठ्ने
–दिउँसो सुत्ने बानी छ भने हटाउने
–नियमित शारीरिक व्यायाम, कसरत गर्ने
–धुमपान, मद्यपानजस्ता लागूपदार्थको सेवन नगर्ने
–ओछ्यानमा सुत्ने बेलामा मात्र जाने
–सुत्नुभन्दा आधा घन्टा अघि मोबाइल, ल्यापटप, टेलिभिजन आदि बन्द गर्ने
–राति सुत्ने बेलामा धेरै पानी नपिउने
–सुत्नुभन्दा २ घन्टाअघि खाना खाने
–सुत्दा निन्द्रा नआएमा ओछ्यान छाडेर बस्ने अथवा मधुरो बत्तीमा पुस्तक पढ्ने वा अन्य कुनै काम गर्ने, निन्द्रा आउनेबित्तिकै सुत्ने
–गहिरो सुस्त श्वास लिएर मनलाई एकाग्र गर्यो भने निन्द्रा लाग्छ
–सुत्नुभन्दा अघि एउटा बानी बसाल्ने । जस्तै दाँत माझ्ने, हात गोडा धुने आदि
–निश्चित कपडा लगाएर सुत्ने बानी बसाल्ने
–माथिका सबै क्रियाकलाप गर्दा पनि निन्द्रा लागेन भने मनोचिकित्सकसँग परामर्श लिने
मनोचिकित्सक डा. सगुनबल्लभ पन्तले मानसिक समस्यालाई लुकाउदाँ कस्तो किसिमको समस्या देखिन्छ भन्ने बिषयमा दिनु भएको जानकारी मुलक भिडियो हेर्न यो लिंक मार्फत् जानु होला ।
https://youtu.be/VCUxcDaiE4o