अमेरिकाको स्मार्टफोन बजारमा एप्पलको आइफोनले ४२ प्रतिशत बजार हिस्सा लिएको भर्खरै सार्वजनिक एउटा प्रतिवेदनले देखाएको छ। एनपिडी ग्रुपले गरेको अध्ययनअनुसार गत वर्षको यही अवधिमा आइफोनको बजार हिस्सा ३५ प्रतिशत मात्र थियो। त्यसैगरी यही अवधिमा सामसुङको बजार हिस्सा पनि २२ बाट २६ प्रतिशतमा पुगेको छ। यो तथ्यका आधारमा कुल स्मार्टफोन प्रयोगकर्तामध्ये ६८ प्रतिशतसँग एप्पलको आइफोन वा सामसुङका स्मार्टफोन छन् भन्न सकिन्छ। अन्य कम्पनीहरू यो प्रतिस्पर्धामा निकै पछाडि छन्। एनपिडी ग्रुपका अनुसार यो अवधिमा एचटिसीको बजारमा सर्वाधिक ह्रास आएको छ। यसको बजार हिस्सा १२ बाट ७ प्रतिशतमा झरेको छ। त्यसैगरी मोटोरोला ११ बाट ८ मा झरेको छ। गत वर्ष ५ प्रतिशत अमेरिकीसँग ब्ल्याकबेरी भएको बताइएको थियो। यो वर्ष भने २ प्रतिशतसँग मात्र ब्ल्याकबेरी स्मार्टफोन भएको बताइएको छ।