साप्ताहिक संवाददाता
माघे संक्रान्तिसँगै जाडो कम हुँदै जाने जनविश्वास रहेको पाइन्छ। त्यसैले पनि होला, जाडोको पोसाक किन्ने ग्राहक एकाएक घटेको बताउँछिन् सिटी सेन्टरस्थित फोर लेसकी मोनिका लामा, तर जाडोका लुगा थन्क्याएर गर्मीका लुगा राख्ने समय पनि आइनसकेकालेे जाडोको पहिरनमा छुटको व्यवस्था गर्नुपरेको लामा बताउँछिन्। अहिले बजारमा जाडोका पहिरनमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। जाडो मौसमका लागि बजारमा भित्र्याइएका प्रायः सबै पहिरनमा यस्तो योजना लागू भएको बताइन्छ।
युवायुवती, बालबालिका र अरू सबै उमेरकाको पहिरनले पसलहरू भरिभराउ भए पनि किन्नेहरूको संख्या घटिरहेको भाटभटिनी गिज्जा सपकी निमा लामा बताउँछन्। त्यसैले युवतीहरूले प्रयोग गर्ने कोट, लङ कोट, सर्ट कोट, ज्याकेट, स्वेटर, हुडी, हाइनेक पञ्जा, उलन टोपी, कटराइज पेन्ट, मफ्लर आदि छुट र सेलको अफर आइसकेको छ। कतिपय पसलेले एक-दुईवटा पहिरन किन्दा एउटा सित्तैंमा भन्ने उपाय पनि अपनाएका छन्। त्यसैगरी युवतीहरूको उलन लेगिन, उलन टप्स, कुर्ती, भेल्बेटका कुर्ती, जम्पर, बाक्लो कुर्ता-सुरुवाल, भेल्बेटका लेहेङ्गामा पनि छुट र सेल लागेको छ। यस क्रममा बुटिकमा समेत छुटको व्यवस्था गरिएको लाजिम्पाटस्थित एक्सक्लुसिभ बुटिककी डिजाइनर कविता केसीले बताइन्। तयारी अवस्थामा रहेका यस्ता पहिरन थन्क्याएर अर्को जाडो कुर्नुभन्दा थोरै छुट वा सेलमा राखेर बिक्री गर्नु राम्रो हुने केसीको तर्क छ। त्यसैगरी युवतीहरूको बुट तथा हाफ बुट, लङ बुटमा समेत छुट उपलब्ध हुन थालेको छ।
युवा तथा पुरुषहरूको कोट, ज्याकेट, स्वेटर, हुडी, मफलर, उलन टोपी, बाक्लो सर्ट आदि पोसाकमा समेत छुटको व्यवस्था छ। यस्ता पोसाक पनि १० देखि ४० प्रतिशतसम्म मूल्य घटाएर सेलमा राखिएको पाइन्छ। त्यसैगरी बालबालिकाका ज्याकेट, स्वेटर, हाइनेक, बाक्लो टिसर्ट, भेल्बेट वनपिस, हुडी, बाबासेट, कटराइज पाइन्ट, दौरा-सुरुवाल, बाक्लो लेगिन, उलन लेगिन, पञ्जा, विभिन्न डिजाइनका टोपी, भेल्वेटका फ्रक आदिमा पनि १० देखि १५ प्रतिशतको छुट दिइएको छ। यस्तो छुट र सेल सामान्य पहिरनदेखि ब्रान्डेड पोसाकमा समेत उपलब्ध छ। जाडो कम भए पनि फागुनसम्म जाडोका पहिरन बिक्री हुने भएकाले पनि यस्तो योजना ल्याउनुपरेको व्यवासायीहरू बताउँछन्। जाडोका पहिरनमा छुट सामान्य पसलदेखि डिपार्टमेन्ट स्टोर र ब्रान्डेड सामान पाइने दरबारमार्गका शोरुमहरूमा समेत उपलब्ध छ।