सौगात मल्ल-दीया मास्के
चलचित्र 'लूट' बाट रजतपटमा उदाएका सौगात मल्ल रंगकर्मी हुन्। दिया मास्के पनि रंगकर्मी नै हुन् तर उनी नृत्यमा पनि उत्तिकै अब्बल मानिन्छिन्। चैतमा प्रदर्शन हुने चलचित्र 'फिटकिरी' मा यो जोडीले पहिलो पटक सँगै काम गर्ने अवसर पाएको छ। चलचित्र 'फिटकिरी'मा सौगातले विवाहित प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन्। विवाहित भए पनि उनले अविवाहित दियासँग जोडी बाँधेको कथा चलचित्रमा प्रस्तुत छ। रंगकर्मी अनुप बरालले सौगात र दियाको केमेस्ट्रीलाई कसरी रोमान्टिक बनाएका छन्, हेर्न बाँकी नै छ।
दयाहाङ राई—प्रियंका कार्की
दिपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र 'झोले' लाई नायक-नायिकाविहीन चलचित्र त भनिएको छ तर अप्रत्यक्ष रुपमा दयाहाङ राई र प्रियंका कार्कीलाई जोडी बनाइएको छ। चलचित्रको एउटा रोमान्टिक गीतमा दया र प्रियंकाको जोडी जमेको देखिन्छ। फागुन ९ गते प्रदर्शनमा आउने यो चलचित्रमा दया-प्रियंकाको जोडी जम्ने कुरामा निर्देशक खनाल ढुक्क छन्।
कोसिस क्षेत्री—बेनिशा हमाल
माघ १७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र 'मोक्ष' सांगीतिक संघर्षमा आधारित छ। संगीतकर्मी प्रवीण श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा गायक कोसिस क्षेत्रीले नायकको भूमिका निर्वाह गरेका छन्। उनलाई साथ दिएकी छिन् नायिका बेनिशा हमालले। कोसिस र बेनिशाले यसअघि केही म्युजिक भिडियोमा जोडीका रूपमा काम गरिसकेका छन्।
नम्रता श्रेष्ठ-सिद्धार्थ कोइराला
फागुन २ गते (१४ फेब्रुअरी) मा प्रदर्शन हुने चलचित्र 'मेघा' मा नायिका नम्रता श्रेष्ठ र नायक सिद्धार्थ कोइरालाको रोमान्टिक जोडी देख्न पाइनेछ। सम्झना उप्रेती रौनियारद्वारा निर्देशित यो चलचित्रमा नम्रता र सिद्धार्थले प्रेमि-प्रेमिका होइन, श्रीमान्-श्रीमतीकै भूमिका निर्वाह गरेका छन्। चलचित्रमा स्व.गोपाल योञ्जनका पुराना रोमान्टिक गीतका रि-रेकर्डेड भर्सनमा नम्रता र सिद्धार्थको जोडी लोभलाग्दो देखिएको छ। रेमनदास श्रेष्ठले समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ।
आर्यन सिग्देल-नम्रता श्रेष्ठ
गत साता मलेसियामा सम्पन्न चलचित्र एवार्ड समारोहबाट एउटा गसिप सार्वजनिक भएको थियो जुन आर्यन सिग्देल र नम्रता श्रेष्ठसँग सम्बन्धित थियो। कार्यक्रम अवधिभर उनीहरू सँगै देखिएको चर्चा चलेको थियो। प्रदर्शनको तयारीमा रहेको चलचित्र 'नोभेम्बर रेन' प्रति क्रेज पैदा गर्न उनीहरू नजिकिएका हुन् भन्नेहरू पनि नभएका होइनन्। उक्त चलचित्रमा यो जोडीको अनस्क्रिन केमेस्ट्री हेर्न लायक भएको निर्देशक दिनेश राउतले बताइसकेका छन्। यसअघि पनि आर्यन-नम्रताको जोडीलाई दर्शकले चलचित्र 'मेरो एउटा साथी छ' मा मन पराइसकेका छन्।
रेश मरहट्ठा—खुश्बु न्यौपाने
चलचित्र 'च्यालेञ्ज' बाट जोडी बनेका रेश मरहट्ठा र खुश्वू न्यौपानलाई हेर्ने दर्शकहरूको धोको अहिलेसम्म पूरा भएको छैन। निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत प्रदर्शन हुन नसकेको यो चलचित्रको मुख्य आकर्षण अमेरिका निवासी खुश्वु र रेशबीचको रोमान्टिक दृश्य भएको बताइन्छ। चलचित्रका तस्बिरहरूमा समेत उनीहरूको प्रेमभाव अनुभव गर्न सकिन्छ।
राजबल्लभ कोइराला-मलिना जोशी
पूर्व मिस नेपाल मलिना जोशी तथा नायक राजबल्लभ कोइराला पहिलो पटक चलचित्र 'ऋतु' मा जोडी बनेका छन्। अस्टे्रलियामा छायांकन गरिएको प्रेमकथामा आधारित यो चलचित्र फागुन २३ गतेदेखि प्रदर्शन हुँदैछ। चलचित्रको कथा नै युगल जोडीको प्रेम सम्बन्धमा आउने उतारचढाव भएकाले पनि यसमा राजबल्लभ र मलिनाको जोडी हेर्न लायकको भएको अनुमान गर्न सकिन्छ। चलचित्रको निर्देशन मनोज अधिकारीले गरेका हुन्।
विरेन श्रेष्ठ-गरिमा पन्त
निर्देशक स्व.शिव रेग्मीको पछिल्लो चलचित्र 'मनले मनलाई छुन्छ' प्रेम कथामा आधारित छ। यो चलचित्रमा निर्देशक रेग्मीले नायक विरेन श्रेष्ठ तथा नायिका गरिमा पन्तलाई जोडी बनाएका छन्। चैत २८ गते प्रदर्शन हुने यो चलचित्रमा सुमन सिंहले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। चलचित्रका केही रोमान्टिक गीतमा विरेन र गरिमाले प्रेमभाव प्रस्तुत गरेको दर्शकले हेरिसकेका छन्।
सलोन बस्नेत-रिस्ता बस्नेत
चलचित्र 'होस्टल' मा सँगै काम गरेका सलोन बस्नेत र रिस्ता बस्नेत प्रेम कथामा आधारित नयाँ चलचित्र 'एउटा साथी' मार्फत जोडीका रूपमा प्रस्तुत हुँदैछन्। लक्ष्मण घिमिरेको निर्देशन रहेको यो चलचित्रमा निर्देशक सोभित बस्नेतका नायक छोरा सलोन तथा कलाकार बिपना बस्नेतकी नायिका छोरी रिस्ताबीचको केमेस्ट्री प्रतीक्षाको विषय भएको छ।
सविन श्रेष्ठ-अनु शाह
निर्देशक सबिर श्रेष्ठको चलचित्र 'आधी बाटो' मार्फत अनस्क्रिन रोमान्स गर्ने एक जोडी कलाकार हुन् सविन श्रेष्ठ र अनु शाह। यही चलचित्रमा नायिका जेनिशा केसीलाई पनि सविन श्रेष्ठको जोडीका रूपमा प्रस्तुत गरिएको छ भने नायक यश कुमार र जेनिशाबीचको प्रेम सम्बन्धलाई पनि समेटिएको छ। पछिल्लो समय सविन र अनु वास्तविक जीवनकै प्रेमी-प्रेमिका भएको चर्चा समेत चलेको थियो, तर उनीहरूले त्यसको खण्डन गरिसकेका छन्। यसअघि पनि दुवैलाई चलचित्र 'हमेशा' मा पनि देख्न पाइएको थियो। चलचित्रको हालै सार्वजनिक पोस्टरमा समेत उनीहरू रोमान्टिक मुद्रामा देखिन्छन्।
बिक्की मल्ल र सुरभी जैन
चलचित्र 'समय' मै जोडी बनेका बिक्की मल्ल र सुरभी जैन नयाँ चलचित्र 'नागबेली' मा समेत जोडीकै रूपमा प्रस्तुत भएका छन्। नृत्य निर्देशक गोविन्द राईको यो पहिलो निर्देशकीय चलचित्रका रोमान्टिक जोडी बिक्की र सुरभीलाई वास्तविक जीवनमा समेत जोडीकै रूपमा चिनिन्छ। यद्यपि उनीहरूले आफ्नो सम्बन्धलाई 'साथी' मा मात्र सिमित राखेको बताएका छन् तर 'समय' देखि 'नागबेली' सम्म आइपुग्दा दुवैबीच निकटता बढेको अनुभव गरिंदैछ। चलचित्रको इन्ड्क्ल्याप पार्टीमा सहभागी अधिकांशले उनीहरू 'साथी' मात्र हुन् भन्ने कुरामा विश्वास गर्न सकेनन्।
बिमलेश अधिकारी र केकी अधिकारी
चलचित्र 'मुट' मा जोडी बाँधिनुभन्दा धेरै अघि नायक बिमलेश अधिकारी र नायिका केकी अधिकारीले थुप्रै म्युजिक भिडियोमा जोडी बनाइसकेका छन्। माघ १७ गतेदेखि प्रदर्शनमा आउने 'मुटु' मा दुबैले खुलेर प्रेमाभाव प्रदर्शन गरेका छन्। म्युजिक भिडियोमार्फत नै दर्शकको मन जितिसकेको बेला 'मुटु' मा उनीहरूबाट अझ बढी आशा राख्न सकिन्छ।
श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का
सफल चलचित्र 'कहाँ भेटिएला' बाट एक-अर्काको साथ पाएका श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का वास्तविक जीवनमै समेत जोडीका रूपमा प्रख्यात छन्। यतिबेला उनीहरूको रोमान्स चलचित्र 'कोहिनूर' मा समेत कैद भएको छ। यो चलचित्रका निर्देशक आकाश अधिकारी हुन्। पहिलो चलचित्रबाटै दर्शकको मन जितिसकेको यो जोडीले 'कोहिनूर' बाट त्यो भन्दा बढि सफलताको अपेक्षा गरेको छ।
आर्यन सिग्देल—शिल्पा पोखरेल
छविराज ओझाको चलचित्र 'लज्जा' मार्फत एउटा नयाँ जोडी आउँदैछ। नवल नेपालको निर्देशन रहेको यो चलचित्रमा आर्यन सिग्देल र शिल्पा पोखरेलको नयाँ जोडी बनेको हो। प्रेमकथामा आधारित यो चलचित्रमा अनुभवी नायक आर्यनसँग नवनायिका शिल्पाको जोडी कत्तिको सुहाउने हो, प्रतीक्षाकै विषय भएको छ।
जीवन लुइँटेल-चाँदनी शर्मा
युवा निर्देशक दिवाकर भट्टराईको पछिल्लो चलचित्र 'स्टुपिड मन' मार्फत दुईवटा रोमान्टिक जोडी दर्शकमाझ आउँदैछ। यो चलचित्रमा जीवन लुइँटेल र चाँदनी शर्मा तथा नीरज बराल र रिजु श्रेष्ठ जोडीका रूपमा प्रस्तुत हुँदैछन्। चलचित्रको शीर्षकअनुसार नै अनुमान गर्न सकिन्छ, यसमा प्रेमकथालाई मुख्य विषय बनाइएको छ। जीवन र नीरजलाई निर्देशकले दुई नयाँ नायिकासँग जोडी बाँध्ने प्रयास गरेका छन्, जसमा उनी सफल हुन्छन् कि असफल, चलचित्रको प्रदर्शनसम्म कुर्नैपर्नेछ।