साप्ताहिक संवाददाता
यी तीनमध्ये नायिका रेजिना उप्रेतीको वैवाहिक समारोह भव्य देखिन्थ्यो। रेजिनाले सुरजसँग प्रेम विवाह गरेकी हुन्। रेजिनाले विवाह गर्नु एक साताअघि नै गत शनिबार कलंकीस्थित एउटा पार्टी प्यालेसमा विवाहको पार्टी दिइन्। पार्टीमा नेपाली चलचित्र उद्योगका परिचित अनुहारहरूको बाक्लो उपस्थिति देखिन्थ्यो। रेजिनाको पार्टीमा नायिकाहरूको संख्या बढी देखिन्थ्यो। करिश्मा मानन्धर, रेखा थापा, सञ्चिता लुइँटेल, अनु शाह, अरुणिमा लम्साल, श्वेता खड्का आदि नायिकाले पार्टिमा लामै समय बिताए।
चलचित्रका नायक, निर्माता, निर्देशक एवं गायक-गायिकाहरूको समेत उल्लेख्य उपस्थिति रहेको पार्टीमा रेजिना भने श्रीमान् सुरजसँग आगन्तुकहरूको शुभकामना ग्रहण गर्नमा व्यस्त थिइन्। सांस्कृतिक कार्यक्रमका क्रममा लन्डन पुगेका बेला रेजिनाले सुरजलाई भेटेकी थिइन्। भेटले प्रेमको रूप लिएपछि उनीहरूले त्यसलाई विवाहको स्वरूप दिने निर्णय गरेका हुन्। उनीहरूको वैवाहिक समारोह भने आज शुक्रबार सम्पन्न हुँदैछ। विवाहपछि सुरज बेलायत फर्किए पनि रेजिना भने करिब छ महिना यतै बस्ने बताउँछिन्। 'विवाह गरे पनि म चलचित्र क्षेत्रमै रहनेछु, रेजिनाले पार्टीमा सहभागी साप्ताहिक संवाददातासँग भनिन्— 'आउने-जाने गरिरहन्छु तर श्रीमान्सँग चलचित्रबाट टाढा नजाने सहमति गरेकी छु।'
उता, करिब डेढ वर्षअघि संगीतकर्मी राजु लामासँग इन्गेज्मेन्ट गरिसकेकी नायिका पूजा चन्दले पनि यसै साता धार्मिक विधिअनुसार लामालाई श्रीमान् बनाएकी छिन्। पूजाको यो दोस्रो विवाह हो। पूजाले अमेरिकामा रहेको परिवार, आफन्त तथा साथीभाइमाझ विधिपूर्वक विवाह गरेकी हुन्। पूर्व श्रीमान् सुरज चन्दसँग पारपाचुके गरेर अमेरिका गएकी पूजाले 'ठूलो निर्णय' का साथ राजु लामासँग विवाह गरेको उल्लेख गरेकी छिन्। करिब १२ वर्ष लामो अभिनय करियरलाई बीचमै रोकेर सन् २००५ मा अमेरिका प्रस्थान गरेकी पूजाले करिब ३६ वटा चलचित्रमा अभिनय गरेकी छिन्। एक छोरीकी आमा पूजा यतिबेला चलचित्र क्षेत्रबाट विस्थापित भैसकेकी छिन् ।
गायिका निशा सुनारले कोरियोग्राफर शंकर बिसीसँग लगनगाँठो कसेकी छिन्। निशाले फेसबुकमार्फत वैवाहिक समारोहका तस्बिर सार्वजनिक गरेकी हुन्। लामो समयदेखिको लिभिङ टुगेदरपछि निशा र शंकर वैवाहिक जीवनमा बाँधिएका हुन्। निशाले सार्वजनिक गरेका तस्बिरमा शंकरले निशाको सिउँदो भरेदेखि निशाले मण्डपबाटै अतिथि सत्कार गरेको सम्मका तस्बिर छन्। निशा र शंकर दुवैको यो दोस्रो विवाह भएको बताइन्छ। सांगीतिक कार्यक्रमका क्रममा अमेरिका पुगेकी निशाले त्यहींबाट विवाहका तस्बिरहरू सार्वजनिक गरेकी हुन्। उनको उक्त विवाह कहिले भएको हो, स्पष्ट हुनसकेको छैन।