साप्ताहिक संवाददाता
यो प्रश्नको उत्तर दिने क्रममा कुनै समय नायिका नम्रता श्रेष्ठले भनेकी थिइन्- 'म पुरुषको खुट्टा हेर्छु। फेसभन्दा सुरुमा खुट्टामा ध्यान जान्छ। मानिस फोहोरी छ कि भन्ने कुरा खुट्टाबाट मार्क गर्न सकिन्छ।' यस्तै प्रश्नको उत्तर दिने क्रममा गायक दीपक लिम्बूले पनि खुट्टामै नजर पुग्ने कुरा बताएका थिए। खुट्टा राम्रो हुनेहरू त्यसै पनि राम्रा हुन्छन् भन्ने उनको तर्क थियो।
कुरा खुट्टाकै हो, खुट्टा मानिसको आधारस्तम्भ भएकाले पनि यो अंगको भूमिका विशिष्ट हुने नै भयो, त्यसमा पनि खुट्टाको संरक्षण गर्ने जुत्ता कस्तो लगाएको छ भन्ने विषय अहिलेको समाजमा थप चासोको बन्छ। हुन त जुत्ता-चप्पल सम्पन्न होस् वा विपन्न जसले पनि लगाउनैपर्छ तर पहिरन र गेटअपअनुसार जुत्ताको कम्बिनेसनले अहिले विशेष महत्त्व राख्छ।
पूर्वीय सभ्यताअनुसार परापूर्वकालदेखि नै खराउका रूपमा जुत्ता-चप्पलको प्रयोग हुँदै आएको छ। खुट्टाको सुरक्षाकवचका रूपमा जुत्ता-चप्पलले स्थान बनाएका हुन्। त्यही भएर मानव सभ्यताको प्रारम्भिक कालदेखि नै जुत्ता-चप्पलको आफ्नै महत्व रह्यो।
मानिसहरू कुनै बेला भन्थे- खुट्टा भए जुत्ता कति-कति? हुन त यो उखान महिलाहरूप्रति नकारात्मक प्रतिक्रिया जनाउन प्रयोग गरिन्थ्यो, तर अहिले नेपाली जुत्ता उत्पादकहरूले त्यही उखानलाई ठ्याक्कै विपरीत ढंगमा जुत्ता भए खुट्टा कति-कति? बनाएका छन्। राम्रा, स्टाइलिस्ट एवं गुणस्तरीय जुत्ता बजारमा ल्याए तिनलाई उपयोग गर्ने नेपाली खुट्टा पनि प्रशस्तै हुन्छन् भन्ने कुरा उनीहरूको सफलताले पुष्टि गर्छ।
कुनै बेला सामान्य ढंगले घरगाउँमा निश्चित जातीय समुदायले तयार पार्ने जुत्ताबाहेक अन्य सबै जुत्ता-चप्पलमा हामी परनिर्भर थियौं। अहिले नेपाली जुत्ता उत्पादकहरूले त्यो परनिर्भरता धेरै हदसम्म निराकरण गर्ने प्रयास गरेका छन्। नेपाली उपभोक्ताका लागि आयस्रोतअनुसारका विविध नमुनामा जुत्ता उत्पादन गरेकाले पनि अन्तर्राष्ट्रिय ब्रान्डका जुत्ताको तुलनामा नेपाली ब्रान्डका जुत्ताले स्थान पाएका हुन्। यहाँसम्म कि केही नेपाली ब्रान्डका जुत्ता त अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो छाप छोड्न पनि सफल छन्। किरण सु म्यानुफयाक्चर्सको गोल्डस्टार जुत्ता डेढ दशकदेखि भारतीय बजारमा निर्यात हँुदै आएको छ। गोल्डस्टारले आफ्नो उत्पादनको ६० प्रतिशत उत्पादन भारतीय बजारमा निर्यात हुने बताएको छ।
नेपाली ब्रान्डका जुत्ताका अतिरिक्त अन्तर्राष्ट्रिय ब्रान्डका जुत्ता पनि नेपाली बजारमा उत्तिकै पाइन्छन्। केही महँगा ब्रान्डेड र सस्ता चाइनिज जुत्ता यो क्याटोगरीमा पर्छन्। व्यवसायीहरूका अनुसार नेपालमा वाषिर्क अनुमानित ३ करोड जोर जुत्ताको माग छ। वाषिर्क करिब २० अर्ब रुपैयाँको जुत्ता व्यवसाय हुन्छ, जसमा ५ अर्ब रुपैयाँको बजार नेपाली ब्रान्डका जुत्ताको छ। गत वर्ष ५० लाख जोर जुत्ता बिक्री भएको व्यवसायीहरूको आँकलन छ। प्रत्येक वर्ष १५ देखि २५ प्रतिशतले बृद्धि हँुदै गएको यो व्यवसायमा कुल खपत जुत्ताको करिब ४५ प्रतिशत बजारहिस्सा स्वदेशी उत्पादनले लिएका छन्। ४ सय देखि ७ हजार रुपैयाँसम्मका स्वदेशी ब्रान्डका जुत्ता बजारमा उपलब्ध छन्।
नेपाली जुत्ता व्यवसायीहरूबीच चर्को प्रतिस्पर्धा देखिए पनि विदेशबाट आयात हुने जुत्तालाई पूर्ण रूपले विस्थापित गर्न अझै समय लाग्ने देखिन्छ। पुरुषले लगाउने जुत्तालाई विस्थापित गर्न सकिए पनि महिलाले लगाउने जुत्तामा आयात कम हुने तत्काल कुनै सम्भावना देखिँदैन। स्वदेशमा उत्पादन भएका जुत्ता भारत बाहेक दक्षिण एसियाका अन्य देशमा निर्यात गर्न सकिएको छैन।