साप्ताहिक संवाददाता
कलरफुल भेराइटी एवं प्लेन शेडमा छाएका यी ब्यागहरू साधारण तथा सानो चिटिक्क परेको ब्याग, क्लच तथा पर्सभन्दा फरक हुन्छ। गि्रन, एल्लो, ब्ल्याक, ह्वाइट, क्रिम, ब्लु, ब्राउन, ग्रे गरी धेरै कलरमा प्लेन डिजाइनका ठूला साइजका ब्यागहरू चाइनिज, इन्डियन तथा ब्रान्डेड जुनसुकै गुणस्तरमा पाइन्छ। विशेष गरी बेलायत, अस्ट्रेलियाका नेपालीहरू हँुदै नेपाल भित्रिएको बिग ब्याग नेपालमा पनि लोकप्रिय छ। भर्खरै, युकेबाट साथीले पठाइदिएको बिग ब्याग पाएर धराने युवती कल्पना लिम्बु मख्ख थिइन्। चाहिने सामान सबै हाली बोक्न मिल्ने बिग ब्याग अहिलेको फेसन भएको कुरा स्वीकार गर्दै, धरान-१९ की कल्पना लिम्बु कार्यालय तथा अन्य समयमा बिग ब्याग नछुटाउने बताउँछिन्। 'अहिलेको फेसन ट्रेन्ड नै बिग ब्यागको हो,' कल्पना भन्छिन्।
वनपिस, जिन्स वा कुर्ता जुनसुकै पहिरनमा पनि बिग ब्याग सुट गर्छ। त्यसैले पनि हरेक तीन युवतीमध्ये दुई जनाले ठूला ब्याग भिरेको देख्न सकिन्छ। राजधानीका प्रमुख व्यापारिक स्थल, न्युरोड, सिटीसेन्टर, मैतीदेवी, भृकुटीमण्डप तथा ललितपुरका लगनखेल, कुमारीपाटीमा पाइने बिग साइजका ब्यागहरू फेबि्रक र ब्रान्ड हेरी पाइन्छन् तथापि विण्डो सपिङ्ग गर्दै सडकपेटीमा पानीपुरीको स्वाद लिँदै झोले व्यापारीहरूसँग रमाइलो बार्गेनिङ गर्दै अझ सस्तो मूल्यमा पनि त्यस्ता ब्याग खरिद गर्न सकिन्छ। विविध डिजाइनका यी ब्याग हेर्दै लोभलाग्दा तथा क्यारी गरिहाल्न मिल्ने हुनाले पनि यस्ता ब्यागको क्रेज बढेको हो। स्नातक दोस्रो वर्षकी १९ वर्षीया छात्रा सुनिता, पार्टटाइम जब पनि गर्छिन्। उनी सधैं काँधमा बिग ब्याग भिर्छिन्। कलेज, ड्युटी तथा डेराको बीचमा फुच्चे ब्यागभन्दा बिग ब्याग सजिलो र अहिलेको फेसन अनुसार पनि भएको सुनिताको बुझाइ छ।
केही वर्षअघिसम्म ब्याग जस्तो भए पनि चल्छ भन्ने मान्यता थियो, तर अब, ब्याग स्टाइलिस, फेसनअनुरूप तथा अवसरअनुसार क्यारी गर्नु आवश्यक छ। पहिले-पहिले विशेषगरी राम्रा ब्यागहरू विदेशस्थित परिवारजन, आफन्त र साथीभाइले पठाइदिन्थे र भनेजस्तो छानीछानी पाइँदैनथ्यो। हाल, ब्यागमात्रका आउटलेटहरूको विकाससँगै भनेजस्ता ब्यागहरूको साथ पाइन्छ।
बिग ब्यागको लोकप्रियता बताउँदै पुरानो बानेश्वरस्थित ब्याग सप जिनास स्टोरकी सेल्स स्टाफ शीतल भण्डारी स्टोरबाट बिग साइजका ब्यागहरू बढी बिक्री हुने बताउँछिन्। एसएलसीपश्चात् कलेज जाने तयारीमा रहेका टिनएर्जसको पहिलो रोजाइ नै डार्क शेडका बिग ब्याग रहेको उनी जानकारी दिन्छिन्। बिग ब्यागमा कोरियन डिजाइन किशोरीले रुचाएको तथा समर मौसमले कलरफुल बिग साइज ब्यागको माग ह्वात्तै बढेको शीतलले बताइन्।
ब्यागको इतिहास पनि कम चाखलाग्दो छैन। ब्यागको सुरुवात चौधौं शताब्दीबाट भएको मानिन्छ। त्यो बेला पाउचजस्तो बनाएर कम्मरमा भिरिन्थ्यो। १७ शताब्दीमा आएर हल्का मेटेरियलबाट ब्याग बनाइन थालियो। सत्रौं शताब्दीमा आएर सेपहरूमा विविधता देखिन थालियो। कपडाबाट बनाइएका ठूला साइजका ब्याग विशेषगरी यात्रा गर्ने क्रममा पुरुषहरूले मात्र प्रयोग
गर्थे । बिस्तारै साना पर्सहरू प्रयोगमा आउन थाले। युवतीहरूले पर्समा इम्ब्रोइडरी, ह्यान्डवर्क गर्नुलाई विवाहयोग्य गुण मानिन थालियो। अठारौं शताब्दीमा आइपुग्दा फेसनेबल महिलाले आकर्षक पत्थरजडित ब्यागहरू प्रयोग गर्न थाले। पछि आएर ५० को दशकतिर ब्यागका ब्रान्डहरू च्यानल, हर्म्स, डियोर, भ्युतन स्थापित भए। ७० मा आइपुग्दा ब्यागले क्लासिक धार छोडेर युवा संस्कृतिलाई अँगालेर पुरातन ब्यागको संस्कारलाई पछाडि छाड्यो। आज युवावर्गबीच ब्याग अपरिहार्य भएको छ।
सबिना सुब्बा