साप्ताहिक संवाददाता
फेसन क्षेत्रमा कसरी लाग्नुभयो?
आफूभित्र भएको लगाव, अन्तरआत्मामा लुकेको सिर्जनशीलताका कारण यता लागेकी थिएँ, तर यो अहिले मेरो नशा बनेको छ। म यसबाट टाढा हुन सक्दिनँ।
तपाईंको विशेष दक्षता केमा छ?
म सबै प्रकारका पहिरन तयार गर्छु, तर साडी बनाउँदा एकदमै रमाइलो र आनन्द महसुस गर्छु। साडी हाम्रो फेसन बजारमा महिलाहरूले सबैभन्दा बढी रुचाएको पहिरन हो। यसमा प्रसस्त पृथक्ता दिन सकिन्छ। त्यसबाहेक दुलहीका लागि पोसाक तयार गर्दा विशेष ध्यान दिन्छु।
पहिरन तयार पार्न सहयोग गर्ने कालीगडहरू कहाँबाट ल्याउनु हुन्छ?
मसँग काम गर्नेहरूमा धेरैजसो तराईका कालीगढ हुनुहुन्छ भने भारत र पाकिस्तानबाट पनिकालीगढहरू आउँछन् ।
डिजाइनरहरूले कालीगढलाई कम पारिश्रमिक दिएर ग्राहकहरूलाई बढी मूल्यमा पहिरन बेच्ने गरेको आरोप छ नि?
होला, बजारमा जे पनि हुन सक्छ, तर मेरो बुटिकमा त्यस्तो छैन। म कालीडगढहरूलाई राम्रै पैसा दिन्छु। उनीहरू खुसी भएनन् भने बुटिक एउटा डिजाइनरको भरमा मात्र चल्दैन। त्यसैले उनीहरूलाई ठग्नु बुटिकलाई घाटामा लानु हो। म ग्राहकहरूलाई राम्रो डिजाइन दिन्छु र लाग्दो मूल्य पनि लिन्छु। यसमा ठग्ने कुरै आउँदैन।
तपाईंले प्रयोग गर्ने कपडा कस्तो हुन्छ?
अझै पनि नेपाली कपडाहरू ढुक्कले प्रयोग गर्न सकिने अवस्था छैन, तर विगतको तुलनामा धेरै राम्रो भएको छ। अहिलेको अवस्थामा म भारतीय तथा चिनियाँ कपडा नै बढी प्रयोग गर्छु।
नेपाली फेसन बजारलाई कसरी हेर्नुभएको छ?
बिस्तारै फेसन संवेदनशीलता बढिरहेको छ। मानिसहरू बुटिकको पहिरनतर्फ आकषिर्त भैरहेको अवस्था छ। नेपाली फेसन बजार उकालो लाग्दो अवस्थामा छ।