साप्ताहिक संवाददाता
नायक जीवन लुइँटेलका लागि वर्ष २०७० उत्कृष्ट रह्यो। वर्ष २०६९ को उत्तरार्द्धमा प्रदर्शन भएका दुई चलचित्र 'नोटबुक' तथा 'रिदम' का कारण जीवन वर्ष २०७० मा आधा दर्जनभन्दा बढी समारोहमा उत्कृष्ट नायकका रूपमा पुरस्कृत भए। वर्ष २०७० मै उनलाई नेपाल जेसिसले राष्ट्रिय युवा पुरस्कार प्रदान गर्यो। २०६९ मा 'सिम्पल सिम्पल कान्छीको' गीतबाट चर्चामा आएका जीवनलाई २०७० मा गाला रातै तथा पागल म बन्न सक्छु...गीतले पनि चर्चामा ल्यायो। वर्ष २०७० मा उनले अभिनय गरेको 'बिन्दास-२' प्रदर्शन भयो भने वर्षको अन्तिम शुक्रबार 'नाइँ नभन्नु ल-२' प्रदर्शन हुँदैछ। वर्ष २०७१ मा उनले अभिनय गरेका स्टुडिप मन, सुकुलगुन्डा, सिसा, जाऊँ हिंड पोखरा, ठूली, ब्ल्याक एन्ड ह्वाइट आदि चलचित्र प्रदर्शन हुनेछन्। त्यसबाहेक उनी नयाँ वर्षको प्रारम्भसँगै चलचित्र 'धुन' मा समेत व्यस्त हुनेछन्। चलचित्रमा मात्र नभई सार्वजनिक जीवन खासगरी साहित्य, खेलकुद, राजनीति एवं इन्टरनेट संसारमा पनि व्यस्त रहने जीवन वर्ष २०७० मै एप्स बनाएर सार्वजनिक गर्ने पहिलो नेपाली कलाकारसमेत भए।
दयाहाङ राई, नायक
रंगमञ्चका कुशल कलाकार दयाहाङ राई यतिबेला नेपाली चलचित्रका व्यस्त अभिनेता भएका छन्। 'लुट' बाट चलचित्रमा डेब्यु गरेका दयाहाङका लागि वर्ष २०७० उत्कृष्ट रह्यो। यो वर्ष उनले अभिनय गरेका चलचित्र 'वधशाला', 'कर्कश', 'लोफर' तथा 'झोले' प्रदर्शनमा आए। 'वधशाला' मा दयाहाङको भूमिका आकर्षक थियो। 'लोफर' असफल भए पनि नायकका रूपमा दयाहाङले उत्कृष्ट अभिनय गरेका थिए। 'झोले' व्यावसायिक रूपमा सफल मानियो। 'कर्कश' ले औसत व्यवसाय गरेको थियो। अघिल्लो वर्षको सफल चलचित्र
'वधशाला' का कारण वर्ष २०७० मा समेत चर्चित रहेका दयाहाङले यो वर्ष रंगमञ्चलाई पनि समय दिन भ्याए। यतिबेला उनी चलचित्र 'कबड्डी' को पर्खाइमा छन्। वर्ष २०७१ वैशाख १२ गतेदेखि प्रदर्शनमा आउने उक्त चलचित्रमा दयाहाङले प्रभावकारी भूमिका निर्वाह गरेका छन्। त्यसो त उनको नयाँ चलचित्र 'जिन्दाबाद' ले पनि दर्शकको मन जित्न सक्ने अनुमान गरिएको छ।
आर्यन सिग्देल, नायक
नेफ्टाले मलेसियामा आयोजना गरेको एवार्ड वितरण समारोहमा वर्षको उत्कृष्ट नायकका रूपमा पुरस्कृत आर्यन सिग्देल वर्ष २०७० भरि चचर्ामा रहे। खासगरी प्रेमिका सपनासँग इन्गेज्मेन्ट गरेपछि उनी चलचित्रमा भन्दा व्यक्तिगत कारणले चर्चित भए। यो वर्ष उनले अभिनय गरेका महसुस, दबाब, मधुमास तथा लोफर प्रदर्शनमा आए। बिडम्बना के रह्यो भने ती सबै चलचित्रमा आर्यनको अभिनय त मन पराइयो, तर कुनै पनि चलचित्र व्यावसायिक रूपमा सफल भएनन्। यसै साता मात्र आर्यनले आफ्नो विवाहको मितिसमेत सार्वजनिक गरे। वर्ष २०७१ को वैशाख ६ गते वैवाहिक जीवनमा बाँधिने घोषणा गरेर आर्यन पुनः एकपटक चर्चामा छन्। विवाह गरेको ६ दिनपछि नै अर्थात् २०७१ को वैशाख १२ गते आर्यन आफ्नै लगानीको चलचित्र 'नोभेम्बर रेन' मार्फत दर्शकमाझ आउनेछन्। त्यसबाहेक वर्ष २०७१ मा उनका थप केही चलचित्र प्रदर्शन हुँदैछन्। छविराज ओझाको 'लज्जा' आर्यनले आशा गरेको एउटा चलचित्र हो। आर्यनले भर्खरै मात्र चलचित्र
'नाइके' को छायांकन सिध्याएका छन्। नयाँ वर्षको प्रारम्भसँगै उनी हसन खानको चलचित्र 'अलबिदा' मा व्यस्त हुनेछन्।
यशकुमार, नायक
सविन श्रेष्ठ, नायक
यश कुमार स्थापित गायक हुन्। यतिबेला उनी गायनभन्दा चलचित्रको अभिनयमा व्यस्त छन्। यो वर्ष यश कुमारले अभिनय गरेका दुईवटा चलचित्र प्रदर्शन भए। चलचित्र 'वीर' व्यावसायिक रूपमा असफल रह्यो भने 'आधी बाटो' औसतभन्दा राम्रो रह्यो। गायन र अभिनयलाई समानन्तर रूपमा अघि बढाइरहेका यश कुमारले सांगीतिक कार्यक्रमलाई पनि निरन्तरता दिइरहेका छन्। सबिन श्रेष्ठ चलचित्र क्षेत्रमा चकलेटी नायकका रूपमा चिनिन्छन्। चलचित्रमा उनको जोडी नायिका रेखा थापासँग जम्छ। वर्षको उत्तरार्द्धमा प्रदर्शन भएको चलचित्र 'आधी बाटो' मा सबिनले यश कुमारसँग अभिनय गरेका छन्। यो वर्ष सबिनले आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरे। सबिन यही वैशाखमा प्रदर्शन हुने चलचित्र 'दमदार' बाट आशावादी छन्। यो चलचित्रमा उनलाई नायिका रेखा थापाले साथ दिएकी छिन्। सबिनले रेखा थापासँग जोडी बनाएर अभिनय गरेका चलचित्र 'अन्दाज', 'रावण' तथा 'हमेसा' व्यावसायिक रूपमा सफल भएका थिए। यतिबेला चलचित्र 'जोडदार' मा व्यस्त हुने क्रममा रहेका सबिनले शुभेच्छा थापाको चलचित्र 'मिस नेपाल' मा पनि प्रभावकारी भूमिका निर्वाह गरेका छन्।
दिनेश डिसी, निर्देशक
हुन त दिनेश डिसीको परिचय निर्देशकका रूपमा मात्र सीमित राख्नु उचित हुँदैन। रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोता, कलाकार, उद्घोषक आदि विधामा पनि उनी स्थापित छन्। वर्ष २०७० डिसीका लागि उत्कृष्ट सावित भएको छ। डिसीले निर्देशन गरेको चलचित्र 'छ एकान छ' वर्षकै उत्कृष्ट चलचित्र साबित भयो। दीपकराज गिरीको यो चलचित्रमा डिसीले लोकप्रिय हास्यकलाकारहरूलाई अभिनय गराएका थिए। उनले निर्देशन गरेको चलचित्र 'मायाज बार' पनि व्यावसायिक रूपमा सफल भएको थियो। वर्ष २०७१ मा डिसीले 'द ब्रेभ गुर्खाजः भक्ति थापा' शीर्षकको ऐतिहासिक चलचित्र निर्देशन गर्दैछन्।
सौगात मल्ल, नायक
रंगमञ्चबाट चलचित्रमा आएका नायक हुन्— सौगात मल्ल। वर्ष २०७० मा सौगातले अभिनय गरेका चलचित्र 'वधशाला', 'सौर्य' तथा 'फिटकिरी' प्रदर्शनमा आए। वर्षको प्रारम्भमै प्रदर्शन भएको चलचित्र 'वधशाला' व्यावसायिक रूपमा राम्रो रह्यो। उक्त चलचित्रमा सौगातको भूमिकालाई पनि दर्शकले मन पराए। दोस्रो चलचित्र सौर्य व्यावसायिक रूपमा असफल भयो भने फिटकीरीले औसत व्यवसाय गर्यो। त्यसो त सौगातले यो वर्ष रंमगञ्चलाई पनि समय दिन भ्याए। आफूले अभिनय गरेका चलचित्र सफल-असफल जे भए पनि मल्ल चर्चाको केन्द्रमा रहे। वर्ष २०७१ मा सौगातले अभिनय गरेका केही स्तरीय चलचित्र प्रदर्शन हुनेछन्। यतिबेला चलचित्र 'श्री ५ अम्बरे' मा अम्बरेको भूमिका निर्वाह गरिरहेका सौगात प्रदर्शनको तयारीमा रहेको चलचित्र 'मुखौटा' बाट पनि उत्तिकै आशावादी छन्।
किशोर खतिवडा, नायक
त्यसो त नायिका रेखा थापाले अभिनय गरेको चलचित्रमा नायकले अभिनय गर्ने अवसर कमै पाउँछन् भनिन्छ, तर वर्ष २०७० को एउटा सफल चलचित्र 'काली' मार्फत दर्शकका मन जितिसकेका नायक हुन्— किशोर खतिवडा। वर्ष २०७० मा किशोरले अभिनय गरेका थप तीन चलचित्र लक, उर्वशी तथा ढुवानी पनि प्रदर्शनमा आए। यी चलचित्रमा किशोरको भूमिकाको प्रशंसा भयो। 'कसले चोर्यो मेरो मन' बाट डेब्यु गरेका किशोरले वर्ष २०७० मै अभिनय गरेको चलचित्र 'पीपल' प्रदर्शनको क्रममा छ। चेलीबेटी बेचबिखनविरुद्ध आवाज उठाउने चलचित्र 'ढुवानी' मा उत्कृष्ट अभिनय गरेका किशोर उक्त चलचित्रको सफलताप्रति ढुक्क थिए। व्यावसायिक रूपमा चलचित्र असफल भए पनि आफूले उत्कृष्ट काम गर्न पाएकोमा किशोरले खुसी व्यक्त गरेका छन्।
सबिर श्रेष्ठ, निर्देशक
निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको 'काली' वष्र्ाका उत्कृष्ट चलचित्रहरूमध्येको एक हो। वर्षको उत्तरार्द्धमा प्रदर्शन भएको चलचित्र 'आधी बाटो' को निर्देशन पनि सबिरले नै गरेका हुन्। प्रेमकथामा आधारित चलचित्र निर्देशन गर्न सिपालु सबिरले यसअघि निर्देशन गरेको चलचित्र व्यावसायिक रूपमा सफल मानिएका छन्। वर्ष २०७१ मा भने निर्देशक श्रेष्ठ निर्माताका रूपमा समेत प्रस्तुत हुने भएका छन्। 'तथास्थु' शीर्षकको उक्त चलचित्रको निर्माण तथा निर्देशन श्रेष्ठ आफैंले गर्दैछन्।
यादव भट्टराई, निर्देशक
वर्ष २०७० मा व्यावसायिक रूपमा सफल मानिएको 'झोला' निर्देशन गरेर चर्चामा आएका यादव भट्टराईले सतीप्रथामा आधारित यो चलचित्रलाई उत्कृष्ट बनाउन प्रशस्त मेहनत गरेका छन्। कृष्ण धरावासीको कृतिमा आधारित यो चलचित्रले नेपाली समाजका हरेक वर्गका दर्शकको मन जित्न सफल भएकोमा भट्टराई उत्साहित छन्। पत्रकारितामार्फत चलचित्र निर्देशनको क्षेत्रमा आएका भट्टराई आगामी दिनमा पनि निर्देशनलाई नै निरन्तरता दिने तयारी गर्दैछन्।
विकास आचार्य, निर्देशक
अघिल्लो वर्षको चलचित्र 'रिदम' बाट सफलताको स्वाद चाखेका निर्देशक विकास आचार्य वर्ष २०७० का अघिल्ला केही महिना सोही चलचित्रका कारण चर्चामा रहे। यही चलचित्रबाट उनले सर्वोत्कृष्ट निर्देशकको एवार्डसमेत जिते। वर्षको उत्तरार्द्धमा उनी नयाँ चलचित्र 'नाइँ नभन्नु ल-२' का कारण चर्चामा आए। दुई स-साना बालबालिकालाई मुख्य भूमिकामा प्रस्तुत गरिएको यो चलचित्रका लागि बालगायक प्रेम परियारले गाएका तीनवटा गीत यतिबेला श्रोताको जिब्राेमा झुन्डिएका छन्।