बढ्दो गर्मीलाई ध्यान दिँदै काठमाडौंमा सम्पन्न एउटा फेसन शोमा समर वेयरहरू प्रदर्शन गरिए। गर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीले आयोजना गरेको 'गिफ्ट गर्जियस अटायर शो' शीर्षकको फेसन शोमा सातवटा सिक्वेन्समार्फत १६ जना मोडलले पहिरन प्रदर्शन गरेका थिए। शनिबारसाँझ बालकुमारीस्थित १९९९ एडी पार्टी प्यालेसमा निर्माण गरिएको आकर्षक र्याम्पमा महिला मोडलहरूले मात्र क्याटवाक गरे। हरेक सिक्वेन्सका पहिरन छुट्टाछुट्टै डिजाइनरले तयार पारेका थिए भने ८-८ जना मोडलले ती पहिरन प्रदर्शन गरेका थिए। फेसन शोको पहिलो सिक्वेन्समा सारी प्रदर्शन गरियो। दोस्रो सिक्वेन्समा मोडलहरूले लेहेंगा प्रदर्शन गरे। त्यसपछिको सिक्वेन्समा उनीहरू वन पिस पहिरनमा प्रस्तुत भए। चौथो सिक्वेन्समा कुर्था-सुरुवाल प्रदर्शन गरियो भने पाँचौं सिक्वेन्समा गाउन प्रदर्शन गरियो। अन्तिम दुई सिक्वेन्स समर वेयरका लागि छुट्याइएको थियो। गर्जियस इन्स्िटच्युट अफ फेसन टेक्नोलोजी (जीआईएफटी) का फेसन डिजाइनरका पछिल्ला सिर्जनाको प्रवर्द्धन तथा नयाँ मोडलहरूलाई र्याम्प प्रदान गर्न उक्त फेसन शो आयोजित गरिएको फेसन डिजाइनर शोभा महर्जनले जानकारी दिइन्।