साप्ताहिक संवाददाता
युवतीहरूका लागि क्याजुयल टप टिसर्ट, पार्टी टप, टेन्टप टिसर्ट आदि उपलब्ध छन्। पार्टीका लागि स्टोन वर्क गरिएको, टाइगर प्रिन्ट, गिल्टर वर्क तथा सितारा वर्क गरिएको टिसर्ट लोकप्रिय छ। त्यसैगरि क्याजुवलमा सादा, प्रिन्टेट तथा चेक टिसर्ट उपलब्ध छ। राउण्ड नेक, भि नेक, स्टाइभ टिसर्ट, ब्याक ओपन, अफ सोल्डर, स्लिभलेस, हल्टर, ब्याक नेट, कुर्ति डिजाइन टिसर्ट, टिनेक टिसर्ट आदि डिजाइन पाइन्छन्। यस्ता टिसर्ट हाफ पाइन्ट, थाइलेन्थ पाइन्ट, क्वाटर पाइन्ट, कटन पाइन्ट आदिमा लगाउँदा राम्रो देखिने सिटी सेन्टर डिजाइन फोर लेस कि फुरा याङजी बताउँछिन्।
यो मौसममा युवतीहरूले रातो, कालो, पहेलो, सेतो, नीलो, प्याजी, गुलाफी, खैरो तथा सुन्तला रङ्ग बढी रोज्छन्। हिजोआजका युवतीहरू ब्रान्डप्रति संवदेनशील हुन थालेको पनि फुराले बताइन्। ब्रान्डेड टिसर्टका लागि विभिन्न डिपार्टमेन्ट स्टोर तथा दरबारमार्ग विशेष आकर्षणको केन्द्र बनेको व्यवसायीहरू बताउँछन्। त्यसैगरी विभिन्न प्रकारका लेगिन्ससँग लंग टिसर्ट लगाउँदा थप आकर्षक देखिन्छ। स्कर्ट तथा निलेन्थमा स्लिभलेेस टिसर्ट वा छोटा टिसर्ट विशेष जम्ने उनीहरूले बताए। टिसर्ट तयार गर्न कटन, जर्जेट, सिफन, नेट तथा नाइनल आदि प्रयोग गरिएको हुन्छ। यस्ता टिसर्टलाई ७ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ।
पुरुषहरूका लागि पनि विभिन्न डिजाइनका टिसर्ट बजारमा उपलब्ध छन्। यस्ता टिसर्टमा भी नेक टिसर्ट, राउण्ड नेक टिसर्ट, हाफ बाउला टिसर्ट, सादा टिसर्ट प्रमुख छन्। पुरुषहरूले विभिन्न डिजाइनका जिन्स सँग टिसर्ट लगाउँदा विशेष सुहाउने नक्साल स्टेप इन लेडिज एन्ड जेन्स वेयरका नरेश शाही बताउँछन्। प्रिन्टेड टिसर्ट पनि युवकहरूको रोजाइमा हुन्छ। विभिन्न खेलाडीको तस्बिर, सगरमाथाको चित्र, नेपालको झन्डा, नेपालका अन्य धरोहर एवं विभिन्न सन्देशअंकित टिसर्टको माग निकै हुने गरेको उनले बताए। युवकहरू सेतो, कालो, पहेंलो तथा रातो रंग बढी रुचाउँछन्, जसको मूल्य १ हजारदेखि २ हजार रुपैयाँसम्म पर्छ।
- सरस्वती कटुवाल