साप्ताहिक संवाददाता
मेरी बास्सै पनि सुचारु
नेपाल टेलिभिजनको लोकप्रिय हास्यश्रृंखला 'मेरी बास्सै' को प्रसारण सुचारु भएको छ। श्रृंखलाका एक निर्देशक सीताराम कट्टेल 'धुर्मुस' का अनुसार अब यो श्रृंखला नयाँ विषयवस्तुसहित दर्शकसमक्ष उपस्थित छ। विगत लामो समयदेखि मेरी बास्सैका पुराना श्रृंखला मात्र प्रसारण भैरहेको थियो। यसअघि 'तीतो-सत्य' तथा 'जिरे खुर्सानी' पनि केही साता रोकिएर पुन: प्रसारणमा आएका थिए।
उफ् यो संसार
दमकमा सञ्चालित हिमशिखर टेलिभिजनले नयाँ टेलिश्रृंखला 'उफ् यो संसार' निर्माण गरेको छ। साउनको दोस्रो सातादेखि प्रसारण हुने यो श्रृंखलाका सम्पादक, कथाकार तथा निर्देशक वासु पौडेल हुन्। पौडेलले 'उफ् यो संसार' मा समसामयिक विषय समावेश गरिएको बताएका छन्। हरेक भागमा नयाँ कथा समावेश गरिने यो श्रृंखलामा बालबालिका, सामाजिक विषयवस्तु, प्रेमप्रसंग, हास्यव्यंग्यजस्ता सामग्री समावेश गरिएको छ। दमक तथा वरपरका क्ष्ाेत्रमा छायांकन गरिएको यो टेलिश्रृंखलामा त्रिलोचन उप्रेती, विष्णु सुवेदी, जेसिका दाहाल, अनिता सुब्बा, सुमन न्यौपाने, ममता उप्रेती, मनिष दियाली आदि कलाकारले अभिनय गरेका छन्।
फर्किए बेइमान
हास्यकलाकार रवि डंगोल 'बेइमान' पुन: तीतो सत्यमा फर्किएका छन्। यही श्रृंखलाका कारण उनी बेइमानका रूपमा लोकप्रिय भएका थिए। दर्शकहरूले रुचाइरहेका बेला केही वर्षअघि उनी अचानक श्रृंखलाबाट बाहिरिएका थिए। त्यसपछि उनले आफ्नै निर्देशनमा 'जय होस्' सहित केही हास्य श्रृंखला निर्देशन गरे। विगत एक वर्षदेखि सांस्कृतिक कार्यक्रमहरूमा हास्यव्यंग्य प्रस्तुत गरिरहेका डंगोल पुन: तीतो सत्यमा फर्किएका हुन्। 'दीपकराज गिरी र दीपाश्री निरौलाको मायाले तान्यो, एउटा जिज्ञासामा डंगोल भन्दै थिए— 'बेइमानका रूपमा पुन: एकपटक दर्शकको मन जित्न पाउँदा खुसी लागेको छ।'