साप्ताहिक संवाददाता
कलाकार : प्रशान्त तामाङ, अनु गुरुङ, विष्णु चेम्जोङ, सुरज रानाभाट, प्रेम सुब्बा, जयनन्द लामा, सिरु विष्ट, कोपिला थापा, अस्मि गुरुङ, किशोर सम्बाहम्फे तथा महेन्द्र बागदास।
संगीतकार : बीबी अनुरागी
गायकका रूपमा स्थापित भैसकेका प्रशान्त तामाङ दोस्रो पटक नायकका रूपमा प्रस्तुत भएको चलचित्र 'निशानी' को देशव्यापी प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। निर्देशक विनोद सेरेङको लेखनमा तयार पारिएको यो चलचित्रमा सन् १९९९ मा भएको खालुवार (कारगिल) युद्धमा गोर्खा फौजले देखाएको बहादुरीको सत्य घटनामा आधारित छ। नयाँ अनुहार अनु गुरुङले नायिकाका रूपमा डेब्यु गरेको यो चलचित्रलाई प्रेम सुब्बा, सरोज भण्डारी तथा ललिता धौभडेल (सेरेङ) ले निर्माण गरेका हुन्। सांगीतिक पक्ष सबल रहेको यो चलचित्रमा प्रशान्त तामाङले सैनिकको भूमिका निर्वाह गरेका छन्। लमजुङको घले गाउँ, इलामको कन्याम, दार्जीलिङ तथा सिक्किममा छायांकन गरिएको यो चलचित्रका छायांकार युवराज राई हुन्। चलचित्रमा गोविन्द राईको नृत्य निर्देशन छ भने जनक गुरुङ यसका द्वन्द्व निर्देशक हुन्। निर्देशक सेरेङका अनुसार चलचित्र निशानीमा पूर्वी र पश्चिम नेपालको सांस्कृतिक विविधतासमेत प्रस्तुत गरिएको छ। चलचित्रमा प्रशान्त तामाङ, दीपक लिम्बु, बीबी अनुरागी आदिको पाश्र्व गायन छ।
निर्देशक : विक्रम भट्ट
कलाकार : बिपाशा बसु, इमरान अब्बास, मुकुल देव तथा सुरबिन चावला।
संगीतकार : मिथुन, टोनी कक्कर
निर्देशक विक्रम भट्टको साइन्स फिक्सन चलचित्र 'क्रिचर' थि्रडी प्रविधिमा आधारित छ। यो चलचित्रमा समर हिलको कथा चित्रण गरिएको छ। एउटी युवती अहाना (बिपाशा बसु) ले उक्त सुन्दर हिल स्टेसनमा आफ्नो नयाँ होटल सञ्चालनमा ल्याउँछिन्। उक्त होटलको नाम 'ग्लेडेल फरेस्ट लज' हुन्छ। त्यही स्थानमा अहानाको भेट एक प्रसिद्ध लेखक कुणाल (इमरान अब्बास) सँग हुन्छ। अहानाको होटलमा कुणाल प्रारम्भिक अतिथिमध्ये एक हुन्छन्। अचानक उक्त होटलमा बस्ने मानिसहरूको निधन हुन थाल्छ। त्यति मात्र होइन समर हिलमा अचानक आक्रमण हुन थाल्छ। आफ्नो होटलमा बसेका अतिथिहरूको मृत्युबाट अहाना डराउँछिन्। जुलोजीका प्रोफेसर सदाना (मुकुल देव) अहानालाई सहयोग गर्न समर हिल पुग्छन्। अहानालाई अब उक्त अदृष्य खतरासँग लडाइँ लडेर विजयी हुनु छ। चलचित्रको क्लाइमेक्ससम्म पुग्दा अहाना आफ्नो उद्देश्यमा सफल हुन्छिन्।