साप्ताहिक संवाददाता
आश्विन १०, २०७१
मडारिएको छ बादल
हाम्रो शीरमाथि अनेक रंग बोकेर
गडगडाउँदैछ आकाशमा ।
कतै
गरिबको झुत्रे घुमबाट चिह्याएर
व्यंग्यपूर्ण आँखा सन्काउँछ
र अभावको घाउमा चिमोट्छ,
कतै
हुनेखानेको मुहारमा
उन्माद रोपेर
सम्पन्नताको अहंकार फलाउँछ,
अनि फेरि कतै
त्यही बादल
केटाकेटीका लिंगे पिंगहरूमा
उत्साह र उमंग बोकेर
चचहुँइइ गर्दै मच्चिएको छ ।
तर अहिले भने यो बादल
परदेशमा रुने म र
गाउँघरमा मेरो बाटो कुर्ने
माइतीको आँसुको झरी बनेर
बर्सन खोज्दैछ ।
यतिबेला
मेरो मन-आकाशमा
उसै गरी मडारिरहेकै छ
बादल,
झुत्रो घुम ओडेर दसैंको ।
नीरा शर्मा