भुइँस्याउ अर्थात् ग्राउन्ड एप्पल नेपालमा भर्खरै भित्रिएको नौलो फल हो । यो फल सखरखण्डजस्तै पातलो बोक्रायुक्त हुन्छ, तर स्वाद भने स्याउ, नासपाती, खरबुजा र गाँजरको मिश्रति रूपको हुन्छ । यसमा कार्बोहाइड्रेट, ग्लुकोज, क्याल्सियम तथा पानी पाइन्छ । सुरुमा यसको खेती पेरुमा भएको थियो, पछि जापान, अमेरिका, चीन, अर्जेन्टिना तथा न्युजिल्यान्ड हुँदै भुइँस्याउ नेपाल भित्रिएको हो । नेपालमा सन् १९८० मा भित्रिएको यो फलको खेती सुरुमा पोखरामा गरिएको थियो । पछिल्लो समयमा यसको खेती पूर्वी नेपालमा विस्तार हुँदै गएको छ । भुइँस्याउ समुन्द्री सतहभन्दा ३ हजार मिटरको उचाइमा उत्पादन हुन्छ । यसको बिरुवामा सूर्यमूखी फूलजस्तै फूल फुल्छ भने बढी चिसो ठाउँमा फूल फुल्दैन । विशेष गरी चैत र बैशाखमा बिरुवा रोपेपछि कात्तिक, मंसिरमा यसको उत्पादन लिन सकिन्छ । एउटा बोटमा कम्तीमा ५ देखि १० किलोसम्म फल लाग्छ । यो फलको सेवन मधुमेहका बिरामीले चिनीको विकल्पका रूपमा गर्न सक्छन् । यो फलले मुटु रोग, पाचन प्रणाली, फोक्सोको समस्या आदिमा फाइदा पुर्याउनुका साथै रगतमा ग्लुकोज तथा चिनीको मात्रा सन्तुलित राख्न सहयोग गर्छ ।