सपाङ्ग व्यक्तिहरूको फेसन शो हुनु कुनै नौलो होइन, तर शारीरिक रूपले अशक्तहरूलाई केन्दि्रत गरेर गत साता पोखरामा फेसन शो सम्पन्न भयो । पोखराको न्युरोडस्थित फ्युजन क्लोथद्वारा आयोजित फेसन शोको शीर्षक थियो— फ्युजन फेसन शो । हाफमुन क्याफेमा आयोजित उक्त फेसन शोमा अशक्त महिलाहरूले भाग लिएका थिए । उनीहरूलाई हौसला प्रदान गर्न दर्शकहरूको भीड लागेको थियो । शोमा दृष्टिविहीन, बहिरा आदिले छडी तथा हि्वलचियरको सहायतामा क्याटवाक गरे । फेसन शोमा केही सपाङ्ग मोडलले पनि क्याटवाक गरेका थिए । १० जना अशक्त महिलाले फेसन शोमा भाग लिएको फेसन शोमा सबैले रमाइलो र आफूमा आत्मविश्वास बढेको अनुभूति गरे । आईएफसी फेसन कलेजमा अध्ययन गरेकी डिजाइनर आशिका चन्दले उक्त फेसन शोको संयोजन गरेकी थिइन् । कार्यक्रमलाई मनोरञ्जक बनाउन केही नृत्यसमेत प्रस्तुत गरिएको थियो । शारीरिक रूपले अशक्तहरूमा आत्मविश्वास बढाउन यो कार्यक्रम आयोजित गरिएको कार्यक्रम संयोजक चन्दले जानकारी दिइन् ।