शान्तिको प्रतीक परेवा पाल्ने सौख भएका व्यक्तिहरूले परेवा उडानलाई प्रतियोगिताकै रूपमा विकास गर्न थालेका छन् । भारत, पाकिस्तान, भुटान श्रीलंका, बहराइन आदि देशमा बर्सेनि परेवा उडान प्रतियोगिता हुन्छ । नेपालमा पनि २०५७ सालदेखि परेवा उडान प्रतियोगिता हुँदै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा भन्छन्- 'ऐतिहासिक महत्व बोकेको परेवा उडानका लागि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराउन प्रक्रिया थालनी गरिनेछ ।'
परेवा उडानमा खेलाडीहरूको संख्या पनि बढिरहेको छ । सौखका रूपमा घरमै परेवा पाल्ने र यसलाई प्रतियोगितामा सामेल गराउनेहरूको संख्या बढिरहेको छ । नेपाल परेवा उडान खेल संघका अध्यक्ष नारायणबहादुर श्रेष्ठ भन्छन-'नेपालमा हाल डेढ सय भन्दा बढी खेलाडी छन् ।' खेलको प्रवर्द्धन एवं खेलाडीहरूलाई प्रोत्साहनका लागि सरकार तथा गैरसरकारी संस्थाहरूसँग सहयोग मागेको र सबैको सहयोग मिले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल गराउने योजना सफल हुने अध्यक्ष श्रेष्ठले बताए । नेपाल परेवा उडान खेल संघका सञ्चार संयोजक सन्दीप पौडेल भन्छन्- परेवा उडानलाई मनोरञ्जनमा मात्र सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीहरूलाई सहभागी गराउने वातावरण तयार पार्नु आवश्यक छ ।
नेपालमा उडान अवधिका आधारमा प्रतियोगिता हुन्छ । परेवा उडान खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले संघ संस्था खोल्ने क्रम पनि बढिरहेको छ । बनेपाको भूमि क्लब, काठमाडौंको हिमालय परेवा उडान क्लब, मध्यपुर ठिमीको परेवा उडान खेल क्लब, ललितपुरको ललितपुर परेवा उडान क्लब परेवा उडान खेल प्रवर्द्धनका लागि खोलीएका क्लबहरू हुन् । ठमेलका उज्वल प्रधान ६० वटा परेवा पालेर पटक-पटक प्रतियोगितामा सहभागी हुँदै आए पनि यसको उचित प्रचार हुन नसकेको बताउँछन् । प्रधान भन्छन्- 'प्रचार गर्न सके विदेशीहरू पनि नेपाल आएर यो खेलमा रमाउन सक्छन् ।'
अन्तर्राष्ट्रिय अभ्यास
मासुका लागि प्रयोग गरिने परेवा र उडानका लागि प्रयोग हुने परेवा फरक-फरक हुन्छन् । उडानका लागि प्रयोग गरिने परेवाको मूल्य लाखौं रुपैयाँसम्म पर्छ । प्रतियोगितामा टाउके, चिनी, तुनियां, कास्नी, काभरा आदि जातका परेवा उडाइन्छ । उडेर जितेको परेवाको मूल्य अझ महँगो हुन्छ । विदेशमा परेवालाई एउटा महादेशबाट अर्को महादेशसम्म उडाउने र उत्कृष्ट घोषणा गर्ने चलन छ । साउदी अरेबिया, इङल्यान्ड, आयरल्यान्ड आदिका देशमा यस्तो प्रतियोगिता बाक्लै हुन्छ ।
मधु घिमिरे, उत्कृष्ट खेलाडी
भक्तपुरका मधु घिमिरे परेवा उडानका सौखिन हुन् । उनले आफ्नो घरमा ८० वटा परेवा पालेका छन् । २०७१ का उत्कृष्ट खेलाडी घोषित घिमिरे परेवा उडाउने खेलमा दुई पटक सहभागी भैसकेका छन् । यो खेलका लागि शारीरिक एवं मानसिक रूपमा तयार हुनुपर्ने घिमिरे बताउँछन् । बिहानदेखि बेलुकासम्म खेलाडी तैनाथ बस्नुपर्ने भएकाले खेल्न कठिन हुने घिमिरेको तर्क छ ।
विनोद कुटु, खेलाडी
राष्ट्रिय परेवा उडान प्रतियोगिता-२०७१ मा तेस्रो भएका कौशलटारका विनोद कुटु यही खेलमार्फत आफ्नो करियर बनाउन चाहन्छन् । उनले आफ्नो घरमा करिब सयवटा जति परेवा पालेका छन् । अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाउन इच्छुक कुटुसँग रेसर परेवा छैनन् । विनोद विदेशबाट भित्राएका परेवामार्फत स्थानीय परेवाको नश्ल सुधार गरेर तालिम प्राप्त परेवा तयार गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन इच्छुक छन् ।
प्रतियोगिताको नियम
परेवा उडान प्रतियोगितामा भाग लिन परेवा पालकको उमेर २० वर्षभन्दा माथि हुनुपर्छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हुने प्रतियोगितामा सहभागीले सात वटा परेवालाई संलग्न गराउन पाउँछन् । जसमा उडाइएका दुईवटा परेवा अतिरिक्त रहनेछन् । परेवा धपाउन प्रतियोगिलाई १० मिनेटको समय दिइन्छ, उडेको एक घण्टाभन्दा अगावै परेवा जमिनमा ओर्लिए त्यस्ता परेवा प्रतियोगिताबाट बाहिरिएको मानिन्छ । उडाइने सातवटा परेवालाई निणर्ायकको निर्देशनअनुसार प्रतियोगिताको एक दिन अघि रंग लगाउनुपर्ने हुन्छ, जसले गर्दा आकासमा उड्दा परेवा चिन्न सजिलो हुन्छ ।
प्रतियोगितामा उडेका परेवाहरू सहभागीले भने जस्तै तोकिएकै स्थानमा बस्नुपर्छ, अन्यथा उक्त परेवाको उडान समय गणना हुँदैन । मौसमको खरावी वा परेवालाई बाज, चीलजस्ता मांसाहारी चराले आक्रमण गरे प्रतियोगिलाई फेरि परेवा उडाउन मौका दिन्छ । उडाइएका ५ वटा परेवाको उडान अवधि गणनागरी सबैभन्दा बढी समय उडाउने परेवा पालकलाई विजयी घोषित गरिन्छ ।
सुपर सिक्सको हकमा उत्कृष्ट ६ प्रतियोगीबीच पुन: प्रतिस्पर्धा हुन्छ भने त्यसैबाट उत्कृष्ट प्रतियोगी छानिन्छन् । सुपर सिक्समा राखिएको केयुर रनिङ शिल्ड प्रतियोगीले आफूसँग राख्न तीन वर्ष प्रतियोगिता जित्नु आवश्यक हुन्छ ।