साप्ताहिक संवाददाता
आठवर्षीय बालक सौगात विष्टद्वारा निर्देशित चलचित्र 'लभ यू बाबा' को देशव्यापी प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । विश्व कीर्तिमान बनाउने क्रममा रहेका बालनिर्देशक विष्टले आफ्नो डेब्यु निर्देशनको यो चलचित्रमा आफ्नै बुवा अभिनेता गजित विष्ट तथा दिदी संगम विष्टलाई मुख्य भूमिकामा प्रस्तुत गरेका छन् । चलचित्रको शीर्षकअनुसार नै अनुमान गर्न सकिन्छ, यो चलचित्र बाबु र छोरीबीचको कथामा आधारित छ । चलचित्रमा आमाको काखविहीन एउटी सानी छोरीलाई आमाको अभाव हुन नदिन उनका बुबाले गरेको संघर्ष चित्रण गरिएको छ । नायिकाअशिष्मा नकर्मीले गजितकीश्रीमतीको भूमिका निर्वाह गरेकी छिन् भने गजितकी प्रेमिकाको भुमिकामा नायिका निश्मा घिमिरे छिन् । काठमाडौं आसपासका क्षेत्रमा छायांकन गरिएको यो चलचित्रको कथा अभिनेता गजित विष्टले नै तयार पारेका हुन् । नृत्य निर्देशक गम्भिर विष्टको पटकथा तथा संवादको यो चलचित्रमा चन्द्र पन्तको द्वन्द्व निर्देशन छ भने दिव्यराज सुवेदी यसका छायांकार हुन् । चलचित्रका चारवटा गीतमा चार भिन्न संगीतकारले संगीत दिएका छन् ।
निर्देशक : पूरन थापा कलाकार : जयकिशन बस्नेत, सारिका केसी, राजाराम पौडेल, लक्ष्मी गिरी, लय संग्रौला, रमेश मट्टारे, पूरन थापा, सोभित बस्नेत तथा राजेन्द्र खड्गी । संगीतकार : विकास चौधरी तथा टंक बुढाथोकी ।
हास्यप्रधान चलचित्र 'कान्छी मट्याङट्याङ' को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । लामो समयदेखि विभिन्न टेलिश्रृंखलामार्फत हास्य कलाकारिता गर्दै आएका पूरन थापाको यो डेब्यु निर्देशन तथा निर्माणको चलचित्र हो । निर्देशक थापाकै लेखनमा तयार पारिएको यो चलचित्रमा नारी केन्दि्रत हास्यसमेटिएको छ । चलचित्रमा नेपाली समाजमा नारीले भोग्नुपरेका केही समस्या उजागर गरिएको छ । यो चलचित्रमार्फत सारिका केसीले नायिकाका रूपमा डेब्यु गरेकी छिन् । चलचित्रमा अभिनेता गजित विष्ट तथा अभिनेत्री अनु शाह अथिति भूमिकामा प्रस्तुत भएका छन् । दिलाशा क्रिएसनको ब्यानरमा तयार पारिएको यो चलचित्रका छायांकार श्याम रायमाझी हुन् । चलचित्रकान्छी मट्याङट्याङमा एनबी महर्जनको द्वन्द्व निर्देशन छ भने कमल राई तथा सुरेन बसेल यसका नृत्य निर्देशक हुन् ।