साप्ताहिक संवाददाता
फेमिनेन् स्टाइलको प्रतिविम्बका रूपमा हेरिने लेसको प्रयोग यो वर्ष निकै देखियो । स्कर्टदेखि ट्रेन्चकोट र विभिन्न एसेसरिजमा समेत लेसको प्रयोग देख्न पाइयो । सुन्दर टप्सदेखि ड्रेस स्टाइलसम्म लेसको प्रभावमा रह्यो । ह्वाइट लेसदेखि विभिन्न पेस्टल सेड्सजस्तै ब्लू, लिल्याक, लाइट येलोदेखि ज्वेल टोनमा समेत लेसको प्रयोग भयो । क्लासिक बटन डाउन टपसित लेस पेन्सिल स्कर्ट वा लेस टपसित ब्वायफ्रेन्ड ब्लेजरको जोडा यस पटक फेसन संसारमा निकै हिट रह्यो । ग्ल्यामरस र सेक्सी छवि प्रस्तुत गर्नेहरूमाझ शियर र सुपर ड्रेसमा समेत लेसको प्र्रभाव देखियो ।
फेमिनेन र मस्कुलिन दुवै प्रभाव देखाउन उचित मानिने क्रप्ड सर्ट पनि यो वर्ष हिट रह्यो । यो शैलीबाट क्लासिक र सोफिस्टिकेटेड छवि प्राप्त भएको पाइयो । पुरुषको जस्तो शैलीका जुत्ता, स्लाउची पाइन्ट, मस्कुलिन टेलर्ड ब्लेजर तथा ओभर साइज्ड सर्टहरू, वाइड लेग पाइन्ट, ब्यागी कुलोट्स, अनटक्ड सर्ट, डेनिम डंगारिज पनि यो वर्ष चलेका फेसन ट्रेन्ड रहे । लाइट एयर ड्रेसेस, सोफिस्टिकेटेड गाउन, टेलर्ड सुट, फ्लोवी स्कर्ट तथा सिल्की जम्प सुट्स पनि धेरैले रुचाए ।
वर्ष २०१४ को हिट फेसन ट्रेन्डमा ९० को दशकताका प्रचलित शैलीको पुनरागमन पनि देख्न पाइयो । ९० को दशकको फेसनलाई डोर्याउने चलचित्र 'क्लुलेस' की अभिनेत्री अलिसिया सिल्भरस्टोनको ड्रेसअपमा देखिएको नी हाई मोजा, टार्टन स्कर्ट र टि्वन सेटले उतिबेला निकै धुम मच्चाएको थियो, जसको केही प्रभाव यसपटक देख्न पाइयो । उदाहरणका लागि राल्फ लोरलको कलेक्सनमा बोल्ड प्रिन्टेड फ्लोरल टिज्, मिनी स्कर्ट्स, पाइप्ड भी-नेक स्वटेर । यसैगरी प्लेटर्फम सुज, ब्लक कलर्ड मिनी सिफ्ट ड्रेस र त्यसका साथमा सुहाउँदो सियर कार्डिगन ।
त्यही दशकताकाको ग्रन्ज शैली, फ्लोरल स्केटर ड्रेस, कुलोट्स, लेगिङ, जेगिङ, क्रप टप्स, भेल्भेट आदि पनि यसपटक लोकप्रिय रहे । यस पटक देखिएको अफ शोल्डर कट्स, स्लिक हेयर, रेड लिप्स तथा सेक्सी ड्रेसहरू पनि ९० को दशकताकाको शैलीकै प्रभाव हो । यसैगरी ९० को दशकताकाको फेसनको प्रभाव वर्ष २०१४ मा शियर होस् वा ओप्याक, फ्लोटी होस् वा फिटेड, सर्ट होस् वा लङ स्लिप ड्रेसहरूमा देख्न पाइयो । फ्लोरल ड्रेसहरूको विविधता पनि यही कालखण्डको प्रेरणा रह्यो, जसमा सफ्ट पेस्टल सेड्सदेखि मोनोक्रोम सेड्स, टान्जरिन, लेमन तथा लाइमको प्रभुत्व रह्यो ।
वर्ष २०१४ को फेसन ट्रेन्डअन्तर्गत विन्टर आउटर वेयरतर्फ ओभरकोटको प्रभाव बढी देखियो, जसमा ब्लाङ्केट कोट हिट सावित भयो । भोल्युम, लम्बाई, सफ्ट फ्याबि्रक र एक्सक्लुसिभ डिजाइनका लागि परिचय बनाएका यी ओभरकोटलाई वुल ड्रेस, स्लिक जम्पसुट, टेलर्ड शोट्स र थाई हाई बुट, सिल्क ब्लाउज, वाइड लेग पाइन्टसित जोडा मिलाएर लगाउने शैली लोकप्रिय रह्यो । यसैगरी ट्रेन्चकोट, केप कोट, ओभरसाइज्ड कोट, पेस्टल क्रोम्बी तथा र्याप कोट विन्टर आउटर वेयरका रूपमा हिट रहे ।
जाडोमा स्पोर्टी र सिक लुक भएको, ट्रेन्डी र कम्फी देखिने जम्पर ज्याकेटको धुम रह्यो । लङ स्कर्ट, प्रिन्टेड टिसर्ट, टेलर्ड पाइन्ट आदिसित यसको जोडा निकै रुचाइयो । क्रप्ड सिलहुट्, ल्याभिज डिटेलिङ तथा विविध कलर रेन्जमा उपलब्ध क्रप्ड फर ज्याकेट पनि जाडोमा पपुलर रह्यो । स्लिम फिट पाइन्ट, प्रिन्टेड बटन डाउन एवं क्रप्ड निट्ससित यसले जोडा जमायो । जाडोको साथीका रूपमा ज्याकेट एम्बेलिस्ड बाइकर ज्याकेट, मिनी स्कर्ट, मिडी स्कर्ट, सेक्सी सर्ट ड्रेस, लेदर पाइन्ट, एङ्कल एवं थाइ हाई बुटको जोडाका रूपमा पनि प्रयोग भयो । क्विल्टेड ज्याकेटदेखि ब्वायफ्रेन्ड जिन्स, चंकी निटवेयर, काउब्वाय लुक आदिसित सुहाउँदो देखिएको शियरिङ ज्याकेट पनि खुबै लगाइएको देखियो ।