साप्ताहिक संवाददाता
कलाकार : अकेशा विष्ट, सोनाम पाखि्रन, सौरमराज तुलाधर, प्रकृति श्रेष्ठ, माकन राई तथा राजेन्द्र खड्गी ।
संगीतकार : सुगम पोखरेल र कमल खत्री ।
आज शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र 'जिन्दगी रक्स' मा युवापुस्ताको कथा समेटिएको छ । जिन्दगीलाई रकिङ बनाउन खोज्दा आउने समस्याको वरिपरि यो चलचित्रको कथा घुमेको छ । यो चलचित्र बिदा मनाउन हिँडेका साथीहरूको समूहको यात्रा-घटनामा आधारित छ । दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका सञ्चारकर्मी निकेश खड्का यही चलचित्रमार्फत निर्देशकका रूपमा डेब्यु गर्दैछन् । चलचित्र जिन्दगी रक्स युवापुस्ताको सोच तथा जीवन जिउने शैलीमा केन्दि्रत छ । चलचित्रमार्फत एकसाथ तीन नयाँ अनुहारले नायक-नायिकाका रूपमा डेब्यु गर्दैछन् । कान्तिपुर टेलिभिजनकी भिजे अकेशा विष्ट, पुराना भिजे तथा म्युजिक भिडियो निर्देशक सोनाम पाखि्रन तथा सौरमराजले यही चलचित्रमार्फत डेब्यु गर्न लागेका हुन् । चलचित्रमा अकेशाले टमब्वाइ शैलीको भूमिका निर्वाह गरेकी छिन् भने नायक सौरम प्लेब्वाईका रूपमा प्रस्तुत भएका छन् । हरि हुमागाईंले छायांकन गरेको यो चलचित्रका गीत-संगीत लोकप्रिय भैसकेका छन् ।
माई प्रमिस
निर्देशक : सुरज सुब्बा नाल्बो
कलाकार : केकी अधिकारी, रमेशचन्द्र राई, विल्सन विक्रम राई, अनुराग कुँवर, मार्टिन खान तथा नरकुमार लिम्बू ।
संगीतकार : महेश खड्का
निर्देशक सुरज सुब्बा नाल्बो लामो समयपछि आज शुक्रबार सार्वजनिक हुने चलचित्र 'माई प्रमिस' मार्फत दर्शकमाझ आउन लागेका छन् । प्रेमकथामा आधारित यो चलचित्रमार्फत नयाँ अनुहार रमेशचन्द्र राईले नायकका रूपमा डेब्यु गर्दैछन् । विदेशमा बेचिने नेपाली युवतीहरूलाई विदेशमा कार्यरत नेपाली लाहुरेहरूले कसरी उद्धार गर्छन् भन्ने यथार्थ घटनालाई चलचित्रमा आकर्षक शैलीमा चित्रण गरिएको छ । चलचित्रमा विदेशमा कार्यरत लाहुरेहरूको जीवनशैलीसमेत चित्रण गरिएको छ । चलचित्रकी नायिका केकी अधिकारीले विदेशमा बेचिएकी नेपाली चेलीको भूमिका निर्वाह गरेकी छिन् । गोविन्द राईको नृत्य निर्देशन रहेको यो चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ सञ्जय लामा यसका छायांकार हुन् ।