- काठमाडौंबाट करिब ८० किलोमिटर टाढा पर्ने सिन्धुपाल्चोकको दुर्गम कर्थलीसम्मको यात्रा गर्दा सयौं वीभत्स एवं कारुणिक दृश्य देखा पर्छन् । स्थिति अत्याशलाग्दो छ, राहतका प्याकेजहरू पुगिरहे पनि पुनर्निर्माणको बृहत् अभियानले ती स्थानका बासिन्दालाई कसरी सम्बोधन गर्ला भन्ने शंका उत्पन्न हुन्छ । मुलुकले भूकम्पको झट्का बेहोरेपछि हङकङका दुई युवा सुरज गुरुङ र निर्मल श्रेष्ठलाई कसरी सहयोग गर्न सकिएला भन्ने हुटहुटी चल्यो । उनीहरूले चिनेजानेका आफन्त एवं देशी–विदेशी साथीभाइहरूसँग कुरा गरेर केही रकम जम्मा पारे अनि केही दिनका लागि कर्थली आइपुगे । यी दुई युवाले संकलित रकम खर्चिएर कर्थलीमा उदाहरणीय काम गरेका छन् ।
- बंगलादेशमा अध्ययनरत १० जना नेपाली विद्यार्थीको समूह भूकम्प आएको २ दिनमै राहत सामग्री, औषधी, ब्ल्यांकेट, त्रिपाल, झुल लिएर नेपाल आइपुग्यो । अधिकांश डाक्टर रहेको उक्त समूहले धादिङ पुगेर राहत र मेडिकल क्याम्प संचालन गर्यो । त्यसको ५ दिनभित्र १३ जनाको अर्को टोली गोरखा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुरमा खटियो । फेरि ६ जनाको समूह त्यसमा मिसियो । युवा चिकित्सक राकेश शाहले ती टिमलाई नेतृत्व प्रदान गरेका थिए । उक्त टिम बिहान ६ बजेदेखि रातको १२ बजेसम्म भोकप्यास नभनी खटिरह्यो । ‘नेपाल अर्थक्वेक रेस्क्यु टिम बंगलादेश’ शीर्षकमा सुरु भएको यो अभियानअन्तर्गत बंगलादेशमा सहयोग जुटाउन पनि नेपाली विद्यार्थीहरू सक्रिय छन् । राकेश भन्छन्– ‘महाभूकम्पको खबर सुनेपछि विद्यार्थीले आफ्नो पकेट मनि कटाएर सहयोग गरे, स्थानीय बंगाली समुदाय तथा विश्वविद्यालयहरूको सहयोगले त्यसमा ऊर्जा प्रदान गर्यो ।’
- इटालीबाट नेपाल आउने भएपछि साथीहरूले भने– ‘जाऊ अल्बर्टो, नेपालमा केही गर । नेपालको जय होस् ।’ यसैलाई मनन गर्दै अल्बर्टाेले फेसबुक पेज बनाए– ‘जय नेपाल ।’ त्यही पेजमार्फत उनले आफ्ना साथीहरूसँग सहयोगका लागि आह्वान गरे । अल्बर्टो हाल भूकम्प प्रभावित क्षेत्रमा जुटेको रकमलाई खर्चिरहेका छन् । बिरामी आमालाई छाडेर भूकम्पपीडितलाई सघाउन नेपाल आएका युवा अल्बर्टोले आफुलाई ८० प्रतिशत नेपाली मानेका छन् । उनी कुनै संघसंस्थाका सदस्य होइनन्, तर धेरै पटक नेपाल आएकाले गाँसिएको नेपाल–नाताका कारण उनी ज्यान जोखिममा पारेर भए पनि लागिरहेका छन् । अल्बर्टो यसरी निडरताका साथ खटिएका छन्, लाग्छ उनी स्वयं भग्नावशेषबाट निकालिएका हुन् । उनको शरीरभरि चोटै चोट छ । ‘यी चोटहरूप्रति मेरो कुनै गुनासो छैन,’ अल्बर्टो भन्छन्– ‘मैले सयौं नेपाली तन्नेरीहरूको साथ पाएको छु र भूकम्पपीडितका लागि प्रभावकारी ढंगले काम गर्न पाएको छु ।’
- महाभूकम्पले काभ्रे कुन्ताबेसीस्थित आफ्नै घर उडाइदिएको छ तर युवा अर्थक्वेक इन्जिनियर समीर नेपाल रत्तिभर पनि नडमगाई भोलिपल्टदेखि नै भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छन् । गजबको कुरा उनले कुनै प्रचार खोजेनन् । काम गर्न जाने ठाउँमा कुनै ब्यानर पनि टाँगेनन् । जुन ठाउँमा धेरै आवश्यकता महसुस गरे, त्यसलाई प्राथमिकता दिएर काम थाले । उनको समूहले हालसम्म ७ हजार ६ सय ६३ टेन्ट, २ हजार ८ सय ३७ ब्लांकेट, १ हजार ३ सय ७२ म्याट तथा ९ हजार ५९ परिवारलाई रासन बाँडिसकेको छ । ‘टहरा बनाउँदा हातमा ठेला नै उठ्यो ।’ समीरले आफ्नो हात देखाउँदै भने, ‘६० वटा अस्थायी टहरा बनाउन आफै खटें । अहिलेसम्म १ सय २४ वटा टहरा बनाइसक्यौं ।’ अब ५ सय टहरा बनाउने उनीहरूको लक्ष्य छ । विभिन्न जिल्ला पुगेपछि समीरले महसुस गरेका छन्, युवा नेपालीहरू सामूहिक कार्यका लागी एकदमै खट्ने रहेछन् । अब अस्थायी स्कुलहरू बनाउने, शिक्षाको क्षेत्रमा सहयोग गर्न जुट्ने उनले बताए ।
०००
महाभूकम्पपछि राहत, उद्धार र पुनर्निर्माणमा सक्रिय केही प्रतिनिधी युवाहरूको कामको विवरण हो यो । स्वत:स्फूर्त रूपमा विपद्को यो घडीमा सहयोग गर्नुपर्छ भन्ने भावनाका कारण हजारौं युवा अहिले स्वंयसेवामा जुटेका छन् । उनीहरूलाई कसैले आव्हान गरेको छैन, खटाएको पनि होइन, यस प्रकारको महाविपत्ति आइपर्दा ज्यान जोखिममा पारेर भए पनि यसरी खट्नुपर्छ भनेर जनचेतना फैलाएको प्रभाव पनि होइन । तैपनि एकाएक सचेत युवापुस्ता भित्रैबाट दुखेको नेपाली मनमा मल्हम लगाउन निरन्तर सक्रिय छ । खल्तीमा पैसा नभएका विद्यार्थीदेखि परिवार धान्न मात्र पुग्ने कमाइ भएका युवाहरूसम्म सहयोगी भावनाका साथमा भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । जुन समग्र नेपालले गर्व गर्न लायक पक्ष हो ।
राजनैतिक दल तथा तिनको नेतृत्व, बलियो भनिएको कर्मचारीतन्त्र र त्यसको नेटवर्क, एवं अन्य हजारौं संघसंस्थाभन्दा सबल देखिए, नेपाली युवाहरू । कुनै व्यवस्थित नेटवर्कमा नभए पनि उनीहरू एकाएक फिल्डमा उत्रिए । जे जसरी हुन्छ सहयोग गर्नुपर्छ भन्ने भावना प्रस्तुत गरे । यी युवाहरू, जसलाई सहयोग गर्न राहत, उद्धार र पुननिर्माणमा जुटेका छन्, उनीहरू आफ्नै खाने– बस्ने कुराको टुंगोबेगर पनि सहयोग गरिरहेका छन् ।
महाभूकम्पपछि सयौं पटक पराकम्प गएको छ, अति प्रभावित भनिएका जिल्लामा त पराकम्पको प्रभाव अझ चर्को छ तर नडराई उनीहरू सहयोगको अभियानलाई दौडाइरहेका छन् । राज्य कहाँ छ, हामीले कहिले राहत पाउने भनेर जनताले आशाको नयन डोर्याउँदा ती युवाहरूको साथ पाएको छ, जो आफुसँग उपलब्ध सामग्रीका साथ मायालु मन र भावनाका साथमा पीडितको घाउलाई निको पार्न गाउँ–गाउँ पुग्यो । यी युवाहरू कुनै क्षेत्र, जात, धर्म र विचारभन्दा माथि उठेर सहयोगमा सक्रिय रहे । महाभूकम्पले मुलुकका अधिकांश क्षेत्रमा क्षति पुर्याएको छ, तर आफ्नो क्षेत्रको आंशिक क्षतिभन्दा बढी पीडित क्षेत्रमा सहयोगको खाँचो छ भन्ने ती युवाले बुझे । झापाको मेचिनगर, मोरङको विराटनगरदेखि राहत सामग्रीसहित आएका युवाहरू रसुवा, सिन्धुपाल्चोक र दोलखाका विकट गाविससम्म पुगे । अरब तथा अन्य मुलुकका पुगेर श्रमिकको जीवन बिताइरहेका युवाहरूले पनि सहयोगका निम्ति ह्दय खोले । गत शुक्रबार मात्र कतारको प्रवासी नेपाली समूहले दोलखामा १ करोड रुपैयाँभन्दा बढी मूल्यको राहत र पुनर्निर्माणका सामग्री प्रदान गरेको थियो । यस्ता सयौं उदाहरण देखिए, जसमा देश विदेशका नेपाली युवाहरूकै सक्रियता थियो ।
कतिपय युवा त महाभूकम्पबाट बचेर पनि सहयोगका क्रममा राहत र उद्धार लिएर जाँदा मृत्युवरण गर्न पुगे । सेनाका क्याप्टेन टपेन्द्र रावल, युवा संघका राजेन्द्र श्रेष्ठलगायतका युवा एवं केही सुरक्षाकर्मीको राहत एवं उद्धारका क्रममा मृत्यु भयो । दर्जनौं युवा उद्धार र अन्य सहयोगका क्रममा घाइते भए । तथापि उनीहरू विचलित देखिँदैनन् । प्रारम्भिक दिनदेखि नै खटेका युवाहरू थाकेका देखिँदैनन् । मुलुक संकटमा परेको समयमा युवाहरू नै लाग्नुपर्छ भन्ने भावनाको विकास भएको छ । सबै एकजुट भएका छन् र निरन्तर सक्रिय छन्, यो नै मुलुकको सबैभन्दा बलियो सम्पत्ति भएको विज्ञहरूको भनाइ छ ।
अर्को राम्रो उदाहरण हो, काठमाडौं लिभिङ ल्याब (केएलएल)को अभियान । यसले सुरुवात गरेको म्यापिङमा क्राउड सोर्सले सूचना प्रदान गर्यो, जसका कारण प्राकृतिक विपत्तिको उद्धारमा सहज भयो । काठमाडौं र आसपासका जिल्लाहरूको म्यापिङले कुन स्थानमा कति क्षति भयो यथार्थ विवरण दियो । यो प्रविधि विकासकर्ता र म्यापिङ गर्ने क्राउड सोर्स युवाहरू कै संस्था हो ।
‘युवाहरू प्रविधिमैत्री भएकाले पनि उनीहरूको सक्रियता प्रभावकारी देखिएको हो,’ वरिष्ठ प्रहरी उपरीक्षक राजीव सुब्बाले भने– ‘विपद् व्यवस्थापनसम्बन्धी कुनै ज्ञान नभए पनि नेपाली युवाहरू आगामी दिनमा आइपर्ने प्राकृतिक विपत्तिमा कसरी सक्रिय रहन सकिन्छ भन्ने बलियो अनुभव हासिल गर्दैछन् ।’ प्रविधिको अधिकतम उपयोग गर्दै सहयोगको अभियानलाई अघि बढाउन सकिन्छ भन्ने उनीहरूले राम्रोसँग बुझेको सुब्बाको तर्क छ । यो युग परिवर्तनको संकेत हो, प्राध्यापक सुवेदी भन्छन्– ‘अबको दिनमा यो पुस्ताले भूकम्पलाई विम्ब बनाएर विनिर्माणको श्रृंखला सुरु गर्नेछ, त्यसमा असफल पुरानाहरू आफैं किनारा लाग्नेछन् ।’
रोट्रयाक्ट र समीर
समीर नेपाल विश्वव्यापी नेटवर्क भएको रोट्रयाक्टको नेपालस्थित डिस्ट्रिक ३९९२ का अध्यक्ष हुन्, तर संस्थालाई सक्रिय गराएर त्यसअन्तर्गतको समूहलाई उनले विपद् व्यवस्थापनमा सहयोग गर्न सबल नेतृत्व प्रदान गरे । हालसम्म उनको समूहले ७ हजार ६ सय ६३ वटा टेन्ट बाँड्यो । २ हजार ८ सय ३७ वटा ब्लांकेट, १ हजार ३ सय ७२ वटा म्याट र ९ हजार ५९ परिवारलाई राशन बाँड्यो । उनी आबद्ध संस्थामा डाक्टर, नर्स, मनोविज्ञ सबै खालका युवाहरूको उपस्थिति छ । ३ हजार २ सय सदस्य रहेको रोट्रयाक्ट डिस्ट्रिकअन्तर्गत ९१ वटा क्लब छन् । देशभरी छरिएर रहेका युवाहरूले भूकम्प प्रभावित नजिकैका जिल्ला पुगेर पीडितहरूको घाउमा मल्हम लगाउने प्रयास गरे । पूर्व–पश्चिमसम्म सञ्जाल फैलिएको रोट्रयाक्ट डिस्ट्रिकका युवाहरूले ध्वस्त भएका विश्व सम्पदा सूची क्षेत्र पुगेर सरसफाइ गर्ने काम पनि गरे ।
बंगलादेशका नेपाली विद्यार्थीहरू
बंगलादेशमा अध्ययनरत धेरै नेपाली विद्यार्थी नेपालका भूकम्प प्रभाबित जिल्लाहरू पुगेर सेवा गरे । त्यहाँ करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । भूकम्प आएको दुई दिनमै राहत सामग्री, औषधि ब्लांकेट, त्रिपाल, झुल लिएर बंगलादेशबाट दुई दिनमै १० जनाको समूह नेपाल आइपुग्यो । त्यो टोलीमा सबै जना युवा डाक्टरहरू थिए । यो समूहले धादिङ पुगेर राहत र मेडिकल क्याम्पको काम गर्यो ।
त्यसको ५ दिनपछि बंगलादेशबाट १३ जनाको दोस्रो समूह फेरि राहत सामग्री बोकेर नेपाल आइपुग्यो । गोरखा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर जिल्लामा राहत सामग्री र औषधि लिएर । त्यो समूह फर्किएको केही दिनमै फेरी ६ जनाको तेस्रो समूह पनि पीडितहरूलाई सहयोग गर्न नेपाल आइपुग्यो । अहिले सम्म विभिन्न चारवटा समूहले नेपाल आएर प्रभाबित क्षेत्रमा आफै पुगेर हेल्थ क्याम्प सञ्चालनसँगै राहत सामग्री वितरण गरे ।
ढाकास्थित ड्याफोडिल इन्टरनेसनल युनिभर्सिटिमा (डिआइयु) मास्टर इन् पब्लिक हेल्थ (एमपिएच) अध्ययनरत डा. राकेश शाहले बंगलादेशमा सक्रियतापूर्वक नेपालको सहयोगका लागि अभियान सञ्चालन गरेका थिए । विश्वव्यापी नेपाली विद्यार्थी संगठनमा आबद्ध डा. शाहले उक्त संगठनमार्फत सुरु गरेको नेपाल अर्थक्वेक्क रेस्क्यु टिम बंगलादेश नामक अभियानले व्यापक सहयोग पायो । ‘भूकम्प आएकै दिन ४ बजेतिर युनिभर्सिटीको हलमा बसेर छलफल गर्यौं ।’ डा. राकेशले भने, ‘विश्वव्यापी नेपाली विद्यार्थी संगठनका साथीहरूबीचको सल्लाहले अभियान सञ्चालन गर्ने तयारीमा लाग्यौं ।’
अल्बर्टो र नेपाली युवाहरू
भूकम्पलगत्तै एउटा विदेशी अनुहार उद्वार कार्यमा दत्तचित्तले खटिएका छन् । चाहे बुङमतीको धराप घर भत्काउन होस् वा काभ्रेको तामाङ गाउँमा खाद्यान्न बाँड्न, उनको सक्रियता लोभलाग्दो छ । उनी को हुन् ? एनजिओ/आइएनजिओको प्रतिनिधि ? राजनीतिक दलका कार्यकर्ता ? क्लबका सदस्य ?
नाम– अल्बर्टो लुजी । नागरिक–इटली ।यत्ति हो उनको परिचय । अल्बर्टोले कुनै ब्यानर बोकेका छैनन् । उनकै भाषामा भन्ने हो भने– ‘म ८० प्रतिशत नेपाली हुँ । कुनै संघसंस्थाको सदस्य होइन ।’ अल्बर्टो थुप्रै पटक नेपाल आएका छन् । ‘बिरामी आमालाई स्याहारेर बसेको थिएँ’ अल्बर्टोले भने– ‘मैले घुमेको, रमाइलो गरेको ठाउँ ध्वस्त भएको सुनेपछि आमालाई चाँडै फर्कन्छु भनेर नेपालका लागि टिकट लिएँ ।’ अन्तत: उनी वैशाख १४ गते सोमबार त्रिभुवन विमानस्थलमा ओर्लिए । लगत्तै गोदावरीतर्फ हान्निए, जहाँ उनका साथी थिए ।
त्यहाँ पुगेपछि उनले त्यस्तो दर्दनाक दृश्य साक्षात्कार गर्न पुगे, मन थाम्नै सकेनन् । घर भत्किएर एउटा परिवारको विजोग थियो । घरका तीन साना छोराछोरी त्रस्त थिए । अल्बर्टोेले पीडितका लागि टहरो बनाइदिए र जोखिम मोलेर धराप अवस्थामा रहेको घर भत्काउन थाले ।
कतिले उनलाई सतर्क गराए– ‘त्यो घरभित्र नपस्नु, लड्नै लागेको छ ।’ तर, अल्बर्टो रोकिएनन् । दह्रो आत्मविश्वासका साथ उनी धराप घरको तलामा उक्लिए ।
अल्बर्टोले हरिसिद्धिमा पुगेर धराप अवस्थाका घर भत्काए । त्यहाँ पनि उनले स्थानीय तन्नेरीको साथ पाए । त्यसपछि उनी बुङ्मतीका घरहरू भत्काउन लागे । यतिबेलासम्म उनलाई काठमाडौंका २ सयभन्दा बढी युवायुवतीले पच्छ्याइसकेका थिए ।
बुङ्मतीको धराप संरचना भत्काउन हरिसिद्धिका बासिन्दा ओइरिए । ‘मैले कसैलाई बोलाइनँ,’ अल्बर्टोेले भने– ‘उनीहरू आफ्नै खुसीले आए र खटेर सहयोग गरे ।’
अल्बर्टोलाई पच्छ्याउने युवायुवतीले ‘जय नेपाल’ अंकित टिसर्ट लगाएका छन् । देख्नेहरूले भन्दा रहेछन्– ‘यिनीहरू कांग्रेस पार्टी निकटका युवाहरू हुन् । अल्बर्टोकै समूहका आशिष श्रेष्ठ भन्छन्– ‘कुनै पार्टीको ट्याग भिराउँदा अलि खल्लो लाग्दो रहेछ । किनभने हामी कसैले अह्राएर, खटाएर काम गरिरहेका छैनौं । स्वतस्फूर्त रूपमा जुटिरहेका छौ ।’
युवायुवतीहरू अल्बर्टोको साथ लागेर काभ्रे, सिन्धुपाल्चोकका क्षतिग्रस्त गाउँ पुगेका छन् । जहाँ जस्तो समस्या छ, त्यही अनुसार काम गरेका छन् । ‘सिन्धुपाल्चोकको एक गाउँमा भूकम्पले खानेपानी योजना नै ध्वस्त बनाइदिएछ’ आशिष भन्छन्– ‘उनीहरूका लागि पानीको स्रोतसम्म पुगेर आवश्यक कार्य गर्नेछौं ।’ यसका लागि चाहिने पाइप लगायतका सामग्री अल्बर्टोेले निजी स्रोतबाट जुटाउने भएका छन् ।
रसुवामा स्वप्निल
‘रसुवाको भोर्ले गाविस वार्ड नम्बर १० मा अझै उद्धार टोली पुगेको छैन, राहत पुर्याइएको छैन ।’ साथीमार्फत खबर पाएपछि बत्तीसपुतलीमा रेस्टुराँ सञ्चालन गरिरहेका स्वप्निल पुरी चैनले बस्न सकेनन् । उनले सोचे–
‘आफ्नो बलबुतोले भ्याएसम्म सहयोग गर्छु ।’ अन्तत: आफ्नै खल्तीको रकम खर्चिएर उनी भोर्ले गाविस पुगें । साथमा अमित राज कर्णिकार एवं दुई विदेशी नागरिक जमिल परेली र सखिल परेली सामेल भए । उनीहरूले स्थानीय जनकल्याण विद्यालयको आँगनमा क्याम्प खडा गरे अनि दुई साताभन्दा बढी त्यही बसेर भूकम्पपीडितको घाउमा मल्हमपट्टी लगाइदिने काम गरे ।
तामाङ समुदायको बस्ती रहेको २ सय २५ घर पूरै ध्वस्त थियो । थुप्रै घाइते थिए । कतिको शरीरको घाउ कुहिएको थियो र त्यहाँ झिँगा भन्किरहेका थियो । ‘सुरुमा हामीले उनीहरूको घाउ सफा गर्यौं र औषधी लगाइदियौं,’ स्वप्निलले भने– ‘त्यसपछि अस्थायी बसोबासका लागि चाँजोपाजो मिलाउन थाल्यौं ।’ उनीहरूले आफ्नै खल्तीको पैसा खर्चिएर ७ जना अनाथ बालबालिकालाई अस्थायी टहरा बनाएर राखिदिएँ । उनीहरूका लागि आवश्यक लत्ताकपडा र खानेकुराको व्यवस्था गरिदिए ।
उनीहरूले रसुवाकै एक घाइते युवतीलाई काठमाडौं ल्याएर चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उपचार गराइरहेका छन् ।
तामाङ बस्तीका घाइतेहरूको उपचार गर्ने, अस्थायी टहरा बनाइदिनेदेखि आवश्यक खाद्यान्न व्यवस्था गर्नेसम्मको काममा उनीहरू आलोपालो गरी २० दिनसम्म बसे । काठमाडौं फर्किएपछि उनीहरूले छुट्टै फेसबुक पेज बनाए र त्यसै मार्फत सहयोगका लागि आह्वान गरे । देश विदेशका थुप्रै युवायुवती उनीहरूको अभियानमा स्वत:स्फूर्त सहभागी हुन आइपुगे ।
सुजन र सिन्धुपाल्चोक
जब भूकम्पले सिन्धुपाल्चोकलाई थिलथिलो बनायो, त्यहीका केही युवाहरू डरत्रास भूलेर सहयोगका लागि खटिए । तिनै युवाहरूमध्येका एक थिए, सुजन श्रेष्ठ । मार्मिङ गाविसस्थित चाकु बजारका यी युवा घाइतेहरूको उद्वार गर्नेदेखि राहत बाँड्नेसम्मको काममा निरन्तर खटिरहे । दुवैतिर ठूला दुई पहाडले घेरिएको चाकु बजारका बासिन्दालाई पहिरो खसेर वा भोटेकोसी थुनिएर अझ ठूलो विपत्ति आउला भन्ने भय थियो । घर बसिनसक्नु थियो । भागेर जाने ठाउँ थिएन । यद्यपि त्रस्त स्थानीयवासी भागदौड गरिरहेका थिए । ‘यसरी भागदौड गर्दा बूढाबूढी, बालबच्चा किच्चिएर मर्ने डर थियो,’ सुजनले भने– ‘त्यसैले हामीले सबैलाई तपाईंहरूलाई केही हँुदैन, हामी सुरक्षा दिन्छौ. भनेर आश्वस्त बनायौं ।’
सुजनसहित तीन–चार जना युवा मिलेर त्यहाँ टेन्ट टाँगिदिए । चाकुवासीले त्यही टेन्टमुनि रात काटे । भूकम्पले कतिपयलाई घाइते बनाएको थियो । यद्यपि उनीहरूको उपचार गर्न त्यहाँ न औषधी थियो, न दक्ष जनशक्ति नै । अन्तत: उक्त काममा पनि सुजनको टोली नै अघि सर्यो । उनीहरूले नजिकैको उपस्वस्थ्यचौकीको ताला फोरेर औषधी ल्याए र घाइतेहरूको प्राथमिक उपचार गरिदिए । शनिबारको बिदामा त्यस क्षेत्र घुम्न गएकाहरू अलपत्र परेका थिए । उनीहरूलाई दाल, चामल जुटाइदिने काममा पनि यही टिम अग्रसर भयो ।
सुरज, निर्मल र कर्थली
‘नेपालबाट हङकङ फर्किएको १ महिनामात्र भएको थियो, अचानक महाभूकम्पको खबर सुन्नुपर्यो,’ हङकङस्थित कान्तिपुर संवाददाता निर्मल श्रेष्ठले सम्झिए– ‘अब के गर्ने ? देश दुखेको समयमा चुप लागेर बस्न मनले मानेन्, केही त गर्नैपर्छ तर फेरी नेपाल जान्छु भन्नलाई पनि गाह्रो थियो ।’ निर्मलले डेनियल इम्प्लोएमेन्ट एजेन्सीका साथी सुरज गुरूङसँग सल्लाह गरे । सुरज पनि नेपाल फर्किएर पीडितहरूलाई सहयोग गर्न चाहन्थे । यी दुई युवाको कुरा मिलेपछि उनीहरू आफ्नै खल्तीबाट रकम हालेर सहयोग अभियान संचालन गर्न थाले । चिनेजानेका साथीभाइ, आफन्त एवं मित्रवत् सम्बन्ध रहेका विदेशीहरूलाई आफ्नो योजना सुनाए । सबैले खुसीका साथ सहयोग गरेपछि यी युवाहरू नेपाल आउने योजनामा जुटे ।
सिन्धुपाल्चोकको विकट कर्थलीमा रहेका ४० दलित घर पूर्ण रूपमा क्षति भएको विवरण पाएपछि उक्त क्षेत्रमा अस्थायी टहरा निर्माणको उद्देश्यका साथ उनीहरू त्यहाँ पुगे । ‘हामीले धेरै त गर्न सक्दैनौं तर सानो अभियान संचालन गर्न सक्छौं भन्ने लाग्यो ।’ निर्मलले भने– ‘हङकङ, मकाउ र चिनमा रहेका इष्टमित्रको साथ र आर्थिक सहयोगलाई ‘हामी उठ्नेछौं’ शीर्षकको अभियानमा लगाएर काम गर्ने निर्णय लियौं ।’
कर्थली वडा नम्बर–७ को पोखरेलाई छनौट गरिसकेपछि सरोकारवाला व्यक्तिहरूको सुझावमा यो जोडीले ४० परिवारलाई अस्थायी घर, स्थानीय ईश्वरीमाला प्राथमिक विद्यालयको पुनर्निर्माण एवं स्थानीय बालबालिकाहरूका लागि बालउद्यानसहित १० वटा शौचालय निर्माण गरेको छ ।
यो जोडिले दीर्घकालीन सहयोगका लागि ईश्वरीमाला प्राविमा अध्ययन गर्ने बालबालिकाको शैक्षिक विकासलाई मद्दत पुगोस् भनेर जेहेन्दार छात्रवृत्ति कोषका लागि ३ लाखको अक्षय कोष खडा गरेको छ । त्यस्तै विद्यालयको जस्ताको छानो भएको भवनलाई ढलान गर्ने, विद्यालयको फर्निचर र फर्निसिङ, विद्यार्थीहरूलाई दुईवटा कम्प्युटर, पठनपाठनमा सहयोग पुग्ने शैक्षिक सामग्रीहरू, दुईवटा शौचालयसहित विद्यालयको अन्य पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समितिले पेस गरेको बजेटअनुसार २१ लाख ५ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
निर्मलका अनुसार भूकम्पले घरवारविहीन हुनुपर्दा बालबालिकामा मनोवैज्ञानिक त्रास छ । ‘वालमस्तिष्कमा पर्ने त्यस्तो प्रभाव कम होस् भनेर ६ लाख रुपैयाँको लागतमा यहाँ आधुनिक बालउद्यान पनि निर्माण गरेका छौं ।’ निर्मलले भने–‘यस किसिमको बाल उद्यान सम्भवत: यत्तिको दुर्गम क्षेत्रमा स्थापना भएको नेपालकै पहिलो सार्वजनिक बाल उद्यान हो ।’ टिमले मृतकका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ सहयोग पनि गरेको थियो ।
डा. राकेश शाह
नेपालका लागी सहयोगको अभियान कसरी सुरु भयो ?
मैले विश्वव्यापी नेपाली विद्यार्थी संगठनका अध्यक्ष यादव भट्टराईसँग फोनमा कुराकानी गरें । के सहयोग गर्ने भनेर कुरा गर्दागर्दै फोन काटियो । त्यता अभियान सुरु गर्नुहोस् । यता मैले सक्दो सहयोग गर्छु भन्नुभयो । विश्वव्यापी नेपाली विद्यार्थी संगठनमा आबद्ध साथीहरू ३ बजेतिर जम्मा भयौं, नेपालमा के, कसरी सहयोग गर्ने भनेर छलफल भयो । त्यहाँ हामी लगभग २० जना नेपाली विद्यार्थी थियौं । स्वदेशका लागि केही सहयोग गरौं भनेर बंगलादेशमा रहने साथीहरूबाट निरन्तर फोनहरू आइरहे । ६ बजेतिर त हामीले नेपाली र बंगलादेसि समुदायमाझ सहयोगका लागी आह्वान गरिसकेका थियौं ।
अभियानले कत्तिको सहयोग पायो ?
हरेक कलेजका नेपाली विद्यार्थीहरूलाई फोन, इन्टरनेटमार्फत जानकारी गरायौं । सहयोग गर्न धेरै तत्पर भए । कतिपयले त नेपाल नै जान चाहन्छौं भने । नगद, राहत सामग्री, औषधि, लत्ताकपडा जुटायौं । ५० लाख बराबरको औषधि त नि:शुल्क बटुल्न सफल भयौं । सोचे भन्दा पनि ठूलो मात्रामा सहयोग जुट्यो । त्यत्रो त अपेक्षा नै थिएन । विद्यार्थीहरूका तर्फबाट पनि करोडौंको सहयोग जुटेको छ । नेपाली र बंगाली समुदायले सहयोग गर्न कुनै कसर बाँकी राखेनन् । बंगाली कलाकारहरूले नेपालको सहयोगका लागि चारवटा कन्सर्ट पनि गरे ।
राहत कसरी पठाउनुभयो नेपाल ?
अहिलेसम्म चारवटा समूह राहत सामग्री लिएर हवाईजहाजबाट नेपाल आयो । हरेक पटक नि:शुल्क सामान ल्याउन दियो । परराष्ट्र मन्त्रालयको सहयोगमा त्यो सम्भब भयो । बंगलादेशको सबैभन्दा ठूलो युनिभर्सिटी बंगाबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटी (बिएसएमएमयु) का भाइस चान्सलरको पनि ठूलो सहयोग रह्यो ।
अब चाहिँ कसरी अघि बढ्ने योजना छ ?
हामीसँग अझै पनि पर्याप्त राहत सामग्री छ । ब्लांकेट, औषधि, कपडाहरू कसरी नेपाल ल्याउने भन्ने समस्या छ । हामीसँग भएको स्रोत, साधन परिचालन गर्ने योजनामा छौं । अब भत्किएका स्कुल र विद्यार्थीहरूको स्वास्थ्य एवं शिक्षामा सहयोग गर्न जुटिरहेका छौं । विश्वव्यापी नेपाली विद्यार्थी संगठनले पनि यो क्षेत्रमा सक्रियतापूर्वक अभियान सुरु गरेको छ । हामी तनमनले यसलाई अघि बढाउँछौं ।