साप्ताहिक संवाददाता
जून महिना : एक सेकेन्ड बढी
तपाईंको जन्मदिन जून ३० हो भने तपाईंले यो वर्ष एक सेकेन्ड बढी समय जन्मदिन मनाउन पाउनुहुनेछ। यसको अर्थ यो वर्षको जून महिना एक सेकेन्ड बढी समयको छ। यस पटक घडीले ११ बजेर ५९ मिनेट ५९ सेकेन्ड बजेपछि सीधै १२ नबजाएर ११ मिनेट ५९ सेकेन्ड ६० सेकेन्ड पश्चात् बल्ल १२ बजाउनेछ। पेरिस अब्जर्भेटरीले त्यसको घोषणा गरिसकेको छ। यसलाई लिप सेकेन्ड भनिन्छ। १०७२ देखि अहिलेसम्म २६ पटक घडीमा लिप सेकेन्ड जोडिएको छ। पृथ्वीको घुम्ने शक्ति अर्थात् रोटेसनमा विस्तारै कमी आइरहेको छ। फ्रान्सस्थित इन्टरनेसनल अर्थ रोटेसन सर्भिसका वैज्ञानिकहरूले पृथ्वीको रोटेसनको निगरानी गरिरहेका छन्। उनीहरूले आवश्यकताअनुसार समयमा फेरबदल पनि गर्छन्।
पृथ्वीको समय तथा आणविक समयलाई मिलाउन यसो गरिन्छ। यसका कारण विश्वका सफ्टवेयर कम्पनीहरूको समेत ध्यान तानिएको छ। सन् २०१२ मा पनि लिप सेकेन्ड जोड्दा धेरै कम्पनीका सफ्टवेयर क्र्यास भएका थिए। यद्यपि यो वर्ष सफ्टवेयर कम्पनीहरूले पहिले नै सचेतता अपनाएकाले त्यस्तो समस्या देखा पर्ने सम्भावना भने छैन।
स्काइपबाट सित्तैमा फोन
स्काइपबाट अब नेपाल टेलिकम र एनसेलका सिममा सित्तैंमा फोन गर्न सकिन्छ। यसबाट विदेशमा समेत फोन गर्न मिल्छ। दुवैतिर इन्टरनेट भएको अवस्थामा पहिले पनि फोन गर्न सकिने सुविधा थियो जसमा डाटा शुल्क लाग्थ्यो, तर अब भने फोन गर्नेको मोबाइलमा इन्टरनेट भएपछि फोन उठाउनेको मोबाइलमा इन्टरनेट नभए पनि हुने भएको छ। स्काइपले यो नयाँ व्यवस्था लागु गरे पनि फोन गर्नेको नम्बर स्क्रिनमा नदेखिने भएकाले सुरक्षाको दृष्टिकोणले भने यसलाई केही जटिल मानिएको छ।
भग्नावशेष उठाउने मेसिन
दाङको घोराहीका दुई युवा गोपाल रोका र शंकर सुनारले मानिसको हातले जस्तै ढुंगा माटो र इँटालाई सुरक्षित रूपमा उठाएर राख्न सक्ने रोबोटिक आर्मको निर्माण गरेका छन्। यसको सहयोगले भूकम्पपछिको भग्नावशेषलाई सुरक्षित रूपमा उठाउन र राख्न सकिन्छ। यसका कारण भग्नावशेष खोतल्दा पुरिएका जीवित मानिसको ज्यान जान जोगाउन सकिने सम्भावना पनि रहन्छ।
रोबोटिक आर्मले हाइड्रोलिक प्रणालीबाट काम गर्ने भएकाले मानिसको हातले जस्तै काम गर्छ। त्यसैले यसको नाम रोबोटिक आर्म अर्थात यन्त्र भुजा राखिएको हो। रोका तथा सुनारले पहिले पनि सोलार कार, चोर पत्ता लगाउने यन्त्र, मोडल अफ जेनेरेटर, रेन गज आदिको निर्माण गरेका छन्। लगानी नभएकाले उनीहरूले ती सबै मेसिनका नमुना मात्र बनाएका छन्।