साप्ताहिक संवाददाता
निर्देर्शक : मोहित सूरी
कलाकार : इमरान हाशमी, विद्या बालन, राजकुमार राव तथा मधुरिमा तुली।
संगीतकार : जीत, मिथुन, अमि।
आज शुक्रबारदेखि प्रदर्शनमा आउने बलिउडको चलचित्र ‘हमारी अधुरी कहानी’ को कथा विद्या (विद्या वालन) तथा करण (इमरान हाशमी) को वरिपरी घुम्छ। लामो समयपछि चलचित्रमा फर्किएकी अभिनेत्री विद्या बालनले यो चलचित्रमा शसक्त भूमिका निर्वाह गरेकी छिन्। विद्याले एकल आमाको भूमिकाकालाई आकर्षक शैलीमा प्रस्तुत गरेकी छिन्। बुवाको ठेगान नभएपछि एकल आमा विद्या रात–दिन आफ्ना छोरालाई त्यो जिन्दगी दिन जुटिरहन्छिन् जसको कल्पना उनले कहिले गरेकी हुन्नन्। करणसँग सम्बन्धका लागि समय छैन। उनी होटल बनाउन व्यस्त छन्। भाग्यले करण र विद्यालाई पुन: एकपटक भेटाउँछ। विद्याले पनि आफ्नो अतीतलाई पछाडि छाडेर नयाँ जीवन थालनी गर्ने अवसर पाउँछिन्। जब दुबै भविष्यका लागि सपना सजाउन थाल्छन्, त्यही बेला विद्याका श्रीमान् हरि (राजकुमार राव) उनीहरूको जीवनमा देखा पर्छन्।
जुरासिक वल्र्ड
निर्देशक : कोलिन ट्रेभोरो
कलाकार : ब्रिस डलास होवार्ड, क्रिस प्रेट, विन्सेन्ट डी. ओनोप्रियो, निक रोबिन्सन, टे सिम्पस्किन, ओमर साइ, क्रिस प्राट तथा इरफान खान।
हलिउडको सफल चलचित्र ‘जुरासिक पार्क’ को चौथो सिक्वेल चलचित्र ‘जुरासिक वल्र्ड’ को विश्वव्यापी प्रदर्शन आज शुक्रवार प्रारम्भ हुँदैछ। युनिभर्सल पिक्चर्सको यो चलचित्रमा बलिउडका अभिनेता इरफान खानले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। चलचित्रमा उनी जुरासिक वल्र्डको मालिकका रूपमा देखा पर्छन्। चलचित्रका मुख्य पात्र ब्रिस डलास होवार्ड तथा क्रिस प्रेटटाइ सिम्प्किन्स जुरासिक पार्कको कर्मचारीको भूमिकामा छन्। चलचित्रको कथाअनुसार इरफानले एउटा खतरनाक डाइनोसर रचना गर्छन्, जसले विश्वमा विध्वंश मच्चाउँछ। यो थ्रिलर चलचित्रले विगतका जुरासिक पार्कको सफलताको इतिहास दोहोर्याउने अनुमान छ। चलचित्रमा प्रस्तुत नयाँ डाइनोसरलाई डरलाग्दो स्वरूप प्रदान गरिएको छ। त्यसो त यो चलचित्रले आमदर्शकलाई जागरूक बनाउने प्रयाससमेत गरेको छ।