साप्ताहिक संवाददाता
गौशालाका देव पशुपतिनाथ र स्याङ्जामा जन्मिएका मानव पशुपतिनाथसँग केही कुरा गजबसँग मिल्छन् । स्याङ्जाका पशुपतिनाथ भनेका लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्मा हुन् । उनको नागरिकताको नाम पशुपतिनाथ शर्मा हो । संसारभरका हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ भएकै मुलुकमा जन्मिएका पशुपतिनाथ शर्मा अहिले सर्वाधिक सफल गायक सावित भएका छन् । संयोग, महानपर्व तीजमा नेपाली नारीहरू पशुपतिनाथको आराधना गर्छन् र पशुपतिनाथ शर्माको गीतमा कम्मर मर्काउँछन् । ‘पिताजीले राखिदिएको नाम संयोगले मिलेको छ’ पशुपतिनाथ मन्दिर परिसरमै गफिँदै पशुपतिले भने– ‘दाइको विश्वनाथ मेरो पशुपतिनाथ राखिदिनुभएछ, समय क्रममा म पशुपतिलाई नै लक्षित गरेर मनाइने तीज पर्वका गीतको सर्जक बन्न पुगे ।’ त्यसो त पशुपतिले अहिलेसम्म पशुपति परिसरमा परिक्रमा गर्ने बाहेक पूजाआजा गरेका छैनन् । पशुपतिले थपे– ‘त्यसैले म मन्दिरको भगवान पुज्नेभन्दा पनि आत्माशुद्ध गरेर मनको भगवानलाई सधैं प्रार्थना गर्छु— सधैं राम्रो र असल कार्य मात्र गर्नुपरोस् ।’
यो वर्ष पशुपतिले नाच्ने किसिमकै ९ वटा तीज गीत महिला गायिकाहरूका साथमा गाएका छन् । समसामयिक विषयमा आधारित गीत गाउने पशुपतिले ‘डान्स बिट’ का को नाचेर थाक्ने, आइज कान्छी कति पैसा राख्ने जस्ता गीत पनि गाएका छन् । उनका गीत अरूका भन्दा केही फरक हुन्छन्, शब्दमा मात्र होइन, संगीतमा समेत फरकपन भेटिन्छ । खासकुरा त अपवादबाहेक उनी अरूले सिर्जना गरेका गीत–संगीतमा गाउँदैनन् पनि । ‘मेरो आफ्नो शैली कायम रहोस् भनेर आफैंले गीत सिर्जना गरेका गीतमात्र गाएको हुँ,’ पशुपति भन्छन्– ‘फेरि सबै गीतमा मेरो स्वर फिट नहुन सक्छ भनेर सचेत रहन्छु ।’ यो वर्षे प्रस्ताव आएअनुरूप सबै तीज गीत गाएको भए ५० वटा गीत हुने पशुपति बताउँछन् । पशुपति भन्छन्– ‘मैले आफ्नो बाहेक अरूको गीत नगर्ने नै निर्णय लिनु बुद्धिमता हुने मानें ।’ गीत लेख्ने देखि संगीत एवं स्वर भर्ने र म्युजिक भिडियो निर्माणसम्ममा आफ्नो सिर्जनात्मक क्षमता उपयोग गर्छन् पशुपति । गाएका सबै गीतमा उनको अभिनय पनि हुन्छ ।
गत वर्ष एकदर्जन तीज गीत गाएका पशुपतिका अनुसार अर्को वर्ष उनी बढीमा ५ वटा मात्र तीज गीत तयार गर्नेछन् । संख्यात्मक रूपमा धेरै गीत गाउनेभन्दा पनि उत्कृष्ट ५ गीत गाउनु ठीक हो भन्ने लाग्न थालेको छ उनलाई । यो वर्ष पशुपतिले देविका केसीसँग तेरो तागत माने पैसो, जानकी तारामी मगरसँग पानी पुरी चटपटे, शान्तिश्री परियारसँग झाँक्री बा, अनिता चलाउनेसँग नाचिदेऊ मैया भाँचिदेउ कम्मर, सुनिता परियारसँग मेरा बूढाको के मिलेन के, जमुना सनमसँग मै राम्री छैन र भन्देऊ न मायालु, चन्द्रा कार्कीसँग सलल राम्चेको पहिरो झलल बेनीको बजार, सम्झना लामिछानेसँग ल आउ नाचेर को थाक्ने ?, पार्वती क्षेत्रीसँग तीजमा सम्झना माइती घरको गीत गाएका छन् । जसमध्ये अधिकाशं गीत हिट छन् । सबै गीतको युट्युब भ्युअर्स रेकर्ड पनि राम्रो छ ।
तीजे गायक भनेर लाग्ने ट्यागका सम्बन्धमा पशुपति ठाडै असहमति जनाउँछन् । ‘अरू पुरुषले पनि तीज गीत गाएका छन्, तर खै किन हो आरोपचाहिँ मलाई मात्र लाग्छ,’ पशुपति भन्छन्– ‘तीजको सन्दर्भ पारेर मैले फरक–फरक परिवेशका गीत गाएको हुँ, कतिपयले तीजमा उच्छृखंलता भित्र्याए, त्यसपछि विकृति आयो अनि आरोप चाहिँ मलाई लाग्यो ।’ पशुपतिका अनुसार उनले अहिलेसम्म प्राप्त गरेका सबै प्रतिक्रिया सकारात्मक छन् । आलोचना हुन सक्छ तर गाली खानुपर्ने अवस्था अहिलेसम्म झेल्नुपरेको छैन, पशुपति भन्छन्– ‘दर्शक श्रोतालाई चित्त नबुझ्ने किसिमको गीत भयो भनें बरु म आफैं बन्द गर्छु ।’ गत वर्ष जातीय भेदभावविरुद्ध देविका केसी र उनले गाएको तीज गीत हामी नेपाली हौं विवादमा तानिएपछि त्यसको प्रवद्र्धन नगरेको अनुभव पशुपतिले सुनाए । रिझाएकै कारण दिदी–बहिनीहरूको अपार माया पाएको बताउने पशुपति सबैको प्यारो गायक बनिरहन निरन्तर मेहनत गर्ने कुरा बताउँछन् । सस्तो चर्चाका निम्ति संगीत सिर्जना नगर्ने प्रण पनि पशुपतिले गरेका छन् । शर्मा भन्छन्– लोकगीत होस् वा तीज गीत त्यसले लोकको मर्म र भावलाई बोक्नुपर्छ, विद्यमान सामाजिक परिवेशलाई प्रतिनिधित्व गर्न सक्नुपर्छ, साथसाथै सन्देशमूलक पनि हुनुपर्छ ।’ दिदी–बहिनीहरूले नाच्ने क्रममा गीतको भाव बुझिदिए आफ्नो मेहनत सार्थक हुने पशुपति बताउँछन् ।
पशुपति आफूलाई सर्वश्रेष्ठ गायकका रूपमा पनि चिनाउन चाहँदैनन् । शर्माका अनुसार उनीभन्दा राम्रो स्वर भएका थुप्रै गायक छन् तर फरक किसिमको सिर्जना र स्वरका कारण उनी चलेका हुन् । ब्लकबस्टर हिट गीत ‘काम पाइएन डिग्री पास गरेर, भैंसी पाले गाउँतिर झरेर, चिन्ता छैन केही मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई बेलायत नि यै’ का गायक पशुपतिको पोखरा फेवाताल घुम्नलाई शीर्षकको अर्को गीतका युट्युब भ्युअर्स १८ लाख छन् । हाल गायिका देविका केसीका साथ क्यानाडामा प्रस्तुति दिइरहेका पशुपतिका अधिकाशं गीत युट्युबमा ५ लाखभन्दा बढीले हेरेका छन् । अहिले त बजारले नै पशुपतिको स्वरको नयाँ गीत कस्तो आएछ भनेर सर्च गर्न थालिसकेकाले पनि उनका सबै गीत दर्शकश्रोताको रोजाइमा पर्छन् । पशुपतिले गायन क्षेत्रमा सक्रियता बढाएको ०५८ सालदेखि नै भएपनि औपचारिक रूपमा संगीत उद्योगमा उनको नाम चल्न थालेको ०६५ सालदेखि हो । ०६० सालमा स्याङ्जा माथि बन गाएर उनको सांगीतिक यात्रा सुरु भयो तर उनको हिट हुन भने ०६५ सालसम्म कुर्नुपर्यो ।
०६५ सालको तीजमा उनले राधिका हमालसँग आफ्नै शब्द र भाकामा टलक्कै ऐना टल्कियो, ख्याल गर जोवन ढल्कियो गाए । यो गीत र म्युजिक भिडियो बजारमा खुब जम्यो । आशिष म्युजिकका रामजी पन्तको आग्रहमा क्यारम अचम्मै राम्रो नाच्छे मोरीले, क्यारम मरक्कै कम्मर भाँच्छे मोरीले गीत बनाए । उक्त गीत पनि हिट भयो । ०६५ सालपछि नै फरक शैलीका दोहोरी गीत सिर्जना गर्ने ट्ेरन्ड पनि उनैले सुरु गरे । बल्ल पो पिर पर्न थाल्यो, यसै हो र घर यस्तो भएको आमा नै गतिली छैन, छोरीले के मान्थी भनेको शीर्षकको व्यंग्यात्मक गीत बनाएर उनले आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिए । सामाजिक परिवेशकै क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने गीत त झनैं सुपरहिट भयो । हालसम्म २५ वटा एल्बम र कुल १० दर्जन दोहोरी रचिसकेका पशुपतिका हरेक गीतमा विगत र वर्तमानलाई ठट्यौले ढंगले अभिव्यक्त गरिएको छ । ०६० सालमा १ लाख राशिको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा भाग लिएर उनी फाइनलसम्म पुगेका थिए । यस्तै चलचित्र विकास बोर्डले आयोजना गरेको दोहोरीमा पनि उनी प्रथम भए । राष्ट्रियस्तरका १७ वटा स्पर्धामध्ये ११ मा प्रथम भएका पशुपति बाँकीमा द्वितीय भए । उनका तीज गीतमा माइतीका विरह र जिरहका शब्द छोडेर अहिलेका नारीका यथार्थपरक जीवनशैली उतारिएको हुन्छ । पशुपति भन्छन्– ‘यो शैलीलाई स्थापित गर्न मैले निकै मेहनत गर्नुपर्यो, विषयवस्तुको गहिरो ज्ञान र संगीतमा पनि नयाँ किसिमको प्रयोग नगरेको भए सम्भवत: म यो पशुपति शर्माका रूपमा चिनिने थिइनँ ।’
१ जानकी तारामी मगर, पानी पुरी चटपटे...
पानी पुरी चटपटे शीर्षकमा पशुपति शर्मा र जानकी तारामी मगरले गाएको गीत यो वर्षका सर्वाधिक हिट तीजमा पर्न सफल भैसकेको छ । गीतको म्युजिक भिडियो युट्युबमा ८ लाख पटक हेरिएको छ । मोजमस्तीका कारण सम्पन्न व्यक्ति कसरी विपन्न हुन्छ र उसले जीवन चलाउन सानो पेसा अँगाल्न बाध्य हुनुपर्छ भन्ने भाव झल्काउने यो गीत हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गरेर तयार गरिएको हो । दर्शक श्रोताबाट अपेक्षा गरेभन्दा राम्रो माया र प्रतिक्रिया पाएको गायिका जानकी तारामीले बताइन् । एकता फिल्म्सको ब्यानरमा बब्बु थापाले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा पशुपति र जानकीले नै अभिनय गरेका छन् । यसअघि पशुपति र जानकीले नै गाएको ढाड दुखेर मार्यो शीर्षकको गीतलाई पनि दर्शकले उत्तिकै रुचाएका थिए । जानकीले यो वर्ष पाँचवटा तीज गीत गाएको बताउँदै भनिन्– ‘राम्रो सिर्जनाबाट दर्शकको माया पाइँदो रहेछ भन्ने कुरा पानी पुरी चटपटेले पुष्टि गरेको छ ।’ ०६७ सालदेखि जानकीले दोहोरी गायनमा करिअर सुरु गरेकी हुन् ।
२ देविका केसी, तेरो तागत माने पैसो...
देविका केसीले हरेक वर्ष तीज गीत तयार पार्दै आएकी छिन् । देविकाका साथमा यो वर्ष पशुपतिले गाएको पैसो शीर्षकको गीत २ सातामै युट्युबमा २ लाखभन्दा बढी हेरिसकेका थिए । गत वर्षको तीजमा पशुपतिका साथमा गाएको जातीय विभेदविरुद्धको गीत हामी नेपाली हौंमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने माग उठेपछि उक्त गीतको प्रोमोसन नै रोकिएको थियो । यसपटकको पैसोको गीत व्यवहारिक भएकाले दर्शकको पर्याप्त माया पाएको देविका बताउँछिन् । पैसाले गर्दा सम्बन्धहरूमा उत्पन्न हुने समस्यामा आधारित सन्देशमूलक गीत गाएको देविका बताउँछिन् । देविका पशुपतिसँगको सहकार्य आफ्ना लागि लाभदायक सावित हुने कुरामा ढुक्क छिन् । हाल तीजको कार्यक्रमको सिलसिलामा उनीहरू क्यानाडामा छन् । देविका एकदशक अघिदेखि दोहोरी गायनमा सक्रिय छिन् । उनका एक दर्जन हिट दोहोरी गीत छन् ।
३ सम्झना लामिछाने मगर, को नाचेर थाक्ने ?...
पशुपति शर्मा र सम्झना लामिछाने मगरको सहकार्यलाई पनि दर्शक श्रोताले उत्तिकै रुचाएका छन् । यो वर्ष उनीहरूले गाएको तीज गीत को नाचेर थाक्ने ? लाई युट्युबमा अढाइ लाख पटक हेरिएको छ । गत वर्ष यो जोडीले गाएको तीज गीत ‘सितारा बितारा’ युट्युबमा ४ लाख पटक हेरिएको थियो । ०६८ सालदेखि गायनसँग जोडिएकी सम्झनाका सबलाई एकदिन बैंशले छुन्छ नि, फूल फूलेर पहेंलै भयो, घरमा पराल बारीमा बन्सो, वनैमा फूल बसायो, मायाले नबोली फसायो, जति खायो झन मज्जा आउने यो रक्सीको गन्धजस्ता हिट दोहोरी गीत छन् । पछिल्लो समय लोकप्रिय हुने बाटोमा रहेकी सम्झना प्रारम्भिक दिनमा दोहोरी साँझमा गीत गाउँथिन् । सम्झनाले मगर भाषाको चलचित्र म्याडमिनमा नायिकाका रूपमा अभिनय गरेकी छिन् । सम्झना हाल देशभक्तिपूर्ण लोकआधुनिक गीत सार्वजनिक गर्ने तयारीमा छिन् ।
४ शान्तिश्री परियार, सातो फुक झाँक्री बा...
‘पशुपति दाइसँग काम गर्ने इच्छा धेरै अघि देखिको थियो’ गायिका शान्तीश्री परियारले भनिन्– ‘धेरै अनुरोध गरेपछि मात्र साथमा गाउने मौका पाए ।’ ३ वर्ष अघिदेखि सांगीतिक क्षेत्रमा सक्रिय शान्तिश्रीले यसपटकको पशुपतिको राम्रो तीज गीत पाएकाले आफु दंग भएको बताइन् । सातो फुक झाँक्री बा युट्युबमा करिब ४ लाख पटक हेरिएको छ । रामचन्द्र काफ्लेका साथमा लग्यो–लग्यो नि मन चोरी, मिलन लामासँग गाईलाई दाम्लो बाच्छीलाई फुर्लुङ, कुलेन्द्र विकसँग एकतर्फी मायाले कति पीडा दिन्छ जस्ता हिट गीत गाएकी रोल्पाकी शान्तिश्री ०६४ सालमा काठमाडौं आएर दोहोरी साँझमा आबद्ध भएकी थिइन् । रोल्पा जिल्लास्तरका ४ वटा प्रतिस्पर्धामा प्रथम भएकी शान्तिश्री दाङमा आयोजित राष्ट्रियस्तरको दोहोरी प्रतियोगितामा दोस्रो भएकी थिइन् । घर छ तिनतले गाएर सांगीतिक यात्रा प्रारम्भ गरेकी शान्तिश्री संगीतमै जीवन समर्पित गरेकाले अझै राम्रा गीत गाउने बताउँछिन् ।
५ अनिता चलाउने, नाचिदेऊ मैयाँ भाँचिदेऊ कम्मर...
अनिता चलाउनेले यो वर्ष पहिलो पटक तीज गीत गाएकी हुन् । उनको यो पहिलो अनुभव सार्थक भएको छ । पहिलो कुरा उनले चर्चित गायक पशुपति शर्मासँग गीत गाउने मौका पाइन्, दोस्रो गीत युट्युबमा हिट भएको छ । युट्युबमा नाचिदेउ मैया भाँचिदेउ कम्मर शिर्षकको उक्त गीत २ लाखभन्दा बढी पटक हेरिएको छ । ०६७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि हालसम्म संगीतको विद्यार्थीका रुपमा अध्ययनरत रहेको बताउने अनिताले केही आधुनिक गीतसमेत गाइसकेकी छिन् । त्यसबाहेक उनले सुमन गौतमसँग गाएको पहिलो दोहोरी गीत भरिएको जवानी सार्वजनिक हुने क्रममा छ । ‘अब आगामी वर्ष पनि तीज गीत गाउने योजना बनाएकी छु’ अनिताले भनिन्– ‘यसपटकको सफलताले उत्साहित बनाएको छ ।’ पशुपतिसँग नै उनले अर्को दोहोरी गीत पनि गाउने तयारी भैरहेको छ ।
६ सुनितामी परियार, मेरा बूढाको के मिलेन के...
४ वर्षदेखि तीज गीत गाइरहेकी सुनितामी परियारले यो वर्षको तीज गीतमा पशुपति शर्मासँग गीत गाउने इच्छा राखिन् । मेरा बूढाको के मिलेन के ? शीर्षकमा उनीहरूले गाएको गीतलाई दर्शकले निकै रुचाएका छन् । सुनितामीको आफ्नै कम्पनी सरगम संगीतबाट बजारमा आएको यो गीतको म्युजिक भिडियो करिब ३ लाख पटक हेरिएको छ । ‘पशुपति दाइसँग गीत गाउन पाउँदा एकदमै खुसी छु’ सुनितामीले भनिन्–‘पशुपति दाईका सिर्जना मौलिकतामा आधारित हुने भएकाले व्यावहारिक जनजिवनमा ती सिर्जना लोकप्रिय हुन्छन् ।’ यसभन्दा अघि गायक रमेशराज भट्टराईसँग म त तिम्रै नाममात्रै लिएर सपनामै बोलाउन थाल्छु तीज गीत गाएकी सुनितामीले पहिलो पटक २०६८ सालमा ५ वटा तीज गीतको संग्रह माइतीको माया सार्वजनिक गरेकी थिइन् । रामजी खाँडका साथमा उनले लोकदोहोरी गीत इतिहासको पानामा नाम लेख्न पाउ गाएकी थिइन् । शास्त्रीय संगीतकी विद्यार्थी सुनितामी भन्छिन्–‘नेपाली संगीतमा अमर हुने गरी काम गर्ने मन छ ।’
७ जमुना सनम, मै राम्री छैन र ?...
एकदशक अघिदेखि गायनमा सक्रिय जमुना सनमले ७ वर्ष अघिदेखि निरन्तर तीज तयार पार्दै आएकी छिन् । यो वर्ष उनले ४ वटा तीज गीत गाइन्, जसमध्ये पशुपति शर्मासँग गाएको मै राम्री छैन र ? सबैभन्दा लोकप्रिय छ । पशुपतिका अतिरिक्त विनोद ढकाल, यमजी बिसीसँग तीज गीत तयार पारेको उनले बताइन् । २०६६ सालमा पहिलो पटक रिता केसीका साथमा गाएको तीज गीत ओए सुन्तली ब्लकबस्टर हिट भएको जमुनाको भनाइ छ । प्रकाश कटुवालका साथमा गाएको रातो साडी सप्को काँधमा लाई पनि दर्शक श्रोताले रुचाए । दोहोरी गायनमा पनि जमुनाका हिट गीतहरू उत्तिकै छन् । कुशल बेलबासेका साथमा गाएको रातो घलेकीमा तथा बिरु लामासँग गाएको बग्यो खोली सागर भेट्नलाई उनका हिट दोहोरी गीत हुन् । यस्तै पशुपति शर्माका साथमा सालैज्यो भाकाको माया भुल्ने के होला दबाईले पनि दर्शकको माया पाएको थियो । अर्घाखाँचीमा जन्मिएकी जमुना सुरु–सुरुमा बुटवल बसेर गीत संगीतमा सक्रिय थिइन् । २०६६ सालमा काठमाडौं आएकी जमुनाले एक दर्जन प्रतियोगात्मक दोहोरी गायनमा प्रथम स्थान हासिल गरेकी छिन् ।
८ चन्द्रा कार्की, सलल राम्चेको पहिरो झलल बेनीको बजार...
पशुपति शर्मासँग गीत गाउने धोको पूरा भएको छ, गायिका चन्द्रा कार्कीको । पोखरा बसेर संगीतकर्ममा सक्रिय चन्द्राले पशुपतिसँगको सहकार्यका कारण राम्चेको पहिरोमा आधारित समसामयिक गीत गाउन पाएको बताइन् । ४ वर्ष अघिको तीजमा राजन कार्कीसँग नाच माया छम छम गाएर संगीत क्षेत्रमा प्रवेश गरेकी चन्द्राले अर्को वर्ष सरला पान्डेका साथमा लाइन्छ मज्जाले र माइतीमा जम्मा शीर्षकका गीत गाएको उल्लेख गरिन् । पशुपति शर्माको शब्द एवं लयमा हालै पानी मुनी–मुनी शीर्षकको गीत आफू तथा चोलेन्द्र पौडेलले पनि गाएको चन्द्राको भनाइ छ । श्रीष देवकोटासँग माया लगाउन मिल्छ र रोइला गीत गाएकी चन्द्राले इन्द्र जिसीसँग कलेजबाट हिडियो दोहोरी गीत गाएकी छिन् ।