भूकम्पमा आफ्नी हजुरआमा गुमाएर पीडित बनेका नुवाकोटका निर्मल तामाङ् अन्तत: भारतको चर्चित रियालिटी सो डान्स इन्डिया डान्समा उत्कृष्ट १० मा परेका छन् । नुवाकोट त्रिशुलीबजारका निर्मल आफै भूकम्पमा परेर सामान्य घाइते भएका थिए । भूकम्पले आफ्नो घर ढलेपछि सुरक्षा खोज्दै भारत पुगेका निर्मल अन्तत भारतको जी च्यानलबाट प्रसारण हुने डिआइडीमा हजारौं डान्सरहरुलाई पछि पार्दै उत्कृष्ट १० मा पुगेका हुन् ।
भारतीय सेनाका अवकाशप्राप्त सैनिक शेरबहादुरका कान्छा छोरा निर्मलले भारतमै प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए । सानैदेखि नृत्यमा रुची राख्ने निर्मलले उतिखेरै भविष्यमा चर्चित डान्सर हुने सपना बुनेका थिए । नेपाल आएपछि नुवाकोटमै डान्स सेन्टर खोलेका तामाङ्लाई भूकम्पले नयाँ जीवनको खोजी गर्न बाध्य बनायो । भारत पुगेर आफ्ना स्कुले शिक्षकहरुको सहयोगमा जि टेलिभिजनको डीआइडी पुगेका तामाङ्ले सुरुदेखि नै निकै राम्रो कौसल देखाएका थिए । उनी यहि कार्यक्रमका लागि नेपालबाट आएको बताएपछि उनको विशेष परीक्षा लिइएको थियो । प्रारम्भिक परीक्षामा निकै राम्रो नृत्य प्रस्तुत गरेपछि उनलाई कार्यक्रममा समावेश गरिएको थियो ।
‘म नेपालबाट आएको हुँ । हालैको भूकम्पमा मेरी हजुरआमा बित्नुभयो । त्यो पीडा बिर्सन चाहन्छु साथै भूकम्प पीडित सबै नेपालीको अनुहारमा खुसी देख्न चाहन्छु ।’ डिआईडी चयन कार्यक्रममा उत्कृष्ट १ सय मा परेपछि निर्मलले भनेका थिए, ‘सानैदेखि राम्रो डान्सर हुने मेरो इच्छा थियो, आज त्यो साकार हुने देखिरहेको छु ।’
उनको यो भनाइसँगै कार्यक्रमका मुख्य निर्णायक बलिउड अभिनेता मिथुन चक्रवर्तीले उनलाई अँगालो हालेका थिए भने अन्य निर्णायक गाइती सिद्धिकी, मुदासर खान र पुनित पाठकले उनलाई अँगालो हालेका थिए । डिआइडी सिजन ५ को प्रोफाइलमा उनलाई नेपालको महाभूकम्पबाट झण्डै मृत्यु भएका सहभागी निर्मलले उत्कृष्ट काम गरिरहेको लेखिएको छ ।