साप्ताहिक संवाददाता
चिकित्सा क्षेत्रमा प्राप्त पछिल्लो उपलब्धिपछि अब मुटुको ओपन हार्ट सर्जरी गर्नु नपर्ने भएको छ । ओपन हार्ट सर्जरीको विकल्पमा वैज्ञानिकहरूले निर्वाध रगत प्रवाह हुने ठूलो कृत्रिम ‘स्टेन्ट’ नलीको विकास गरी त्यसको सफल परीक्षण गरेका छन् । बेलायतको ब्राइटन रोयल ससेक्स काउन्टी अस्पतालले विश्वमै पहिलोपटक मुटुरोगीहरूका लागि ‘स्टेन्ट’ प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले ६७ वर्षीय मुटुरोगी माइक एमोसको मुटुमा सफलतापूर्वक ‘स्टेन्ट’ प्रत्यारोपण गरेको हो ।
अहिले विकास गरिएको कृत्रिम ‘स्टेन्ट’ नलीबाट निर्वाध रगत प्रवाह सम्भव भएपछि ओपन हार्ट सर्जरी आवश्यक रहने छैन । अहिले विकास गरिएको स्टेन्ट ५ दशमलव ७५ मिलिमिटर फराकिलो छ, जसमा अर्को २ मिलिमिटरको ट्युब पनि जोडिएको हुन्छ । स्टेन्टलाई ‘जोटारोलिम्स’ नामक औषधिले लेपन गरिएको हुन्छ । २० वर्षको अनुसन्धानपछि अहिलेको कृत्रिम स्टेन्टको विकास गरिएको हो जुन कोबाल्ट र क्रोमियम धातुको मिश्रणबाट बनाइएको छ । यस्तो कृत्रिम स्टेन्ट अहिलेसम्म चार जना बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिसकिएको छ ।