दसैंको अवसर पारेर कात्तिक ३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘परदेशी’ ले सोमबार ४ वटा गीतको भिडियो सार्वजनिक गर्दै आक्रामक प्रमोसन प्रारम्भ गरेको छ । लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चलचित्रका गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका हुन् ।
बिबि अनुरागीको संगीत रहेको चलचित्र ‘परदेशी’ मा इन्डियन आइडल प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का आदि कलाकारले अभिनय गरेका छन् । विदेशी भूमिमा कमाउनका निम्ति जानेहरुको कथामा निर्माण भएको यो चलचित्रलाई वरिष्ठ लोकसंगीतकर्मी नारायण रायमाझीले निर्देशन गरेका हुन् । यसअघि रायमाझीकै निर्देशनमा प्रशान्त तामाङलाई लिएर निर्माण भएको चलचित्र ‘गोर्खा पल्टन’ व्यवसायिक रुपमा सफल भएपछि भएपछि रायमाझीले ‘परदेशी’ मा पनि प्रशान्तलाई नै हिरो बनाएर चलचित्र निर्माण गरेको बताए ।
अडियो भिडियो सार्वजनिक कार्यक्रममा नायक प्रशान्त पनि उपस्थित थिए । पछिल्लो समय नयाँ दिल्ली बस्दै आएका उनले अब केही समय नेपालमै बिताउने बताए । चलचित्र परदेशीको प्रबद्र्धनमा सक्रिय रहने बताएका प्रशान्तले चलचित्र राम्रो बनेकाले सबैलाई हेरिदिन आग्रह गरे । कार्यक्रममा उनले गीत गाएर सुनाएका थिए । परदेशीको निर्माणमा निर्देशक रायमाझीका अतिरिक्त संगीत उद्यमी राजेश बंशलले लगानी गरेका छन् ।
‘चलचित्र परदेशीले पनि गोर्खापल्टन जस्तै दर्शकको माया पाउनेमा विश्वस्त छौं’ निर्माता वंशलले भनें–‘यो आम नेपालीहरुको भोगाईको विषयवस्तुमा बनेको छ, युवा नेपाली दाजुभाई एवं दिदी बहिनीको व्यथामा आधारित छ । त्यसैले यसको विषयवस्तुले सबैको मन छुनेछ ।’