विवाह समारोहमा ढाकाको दौरा–सुरुवालको प्रचलन बढ्दै गएको छ । हिजोआज अधिंकाश दुलाहाले ढाकाको दौरा–सुरुवालको सेट नै रुचाउँछन् । आजभोलि युवाहरू विवाह, पार्टी, सभा–समारोह मात्र होइन बाहिर हिँड्डुल गर्दा पनि सादा दौरा–सुरुवाल रुचाउन थालेका छन् । नेपाली राष्ट्रिय पोसाकका रूपमा लगाइने दौरा सुरुवाल आजभोलि फेसनका रूपमा पनि लोकप्रिय हुन थालेको छ ।
पछिल्लो समय नेपाली राष्ट्रिय पोसाक दौरा–सुरुवाल, कोट र पाल्पाली ढाकाटोपीमा युवापुस्ताको आकर्षण बढ्दै गएको यसको व्यापारमा देखिएको वृद्धिले प्रष्ट पार्छ । विशेष गरेर विवाह, पास्नीजस्ता उत्सवमा दौरा–सुरुवाल लगाउने चलन अनिवार्य जस्तै बन्दै गएको छ ।
विवाह उत्सवमा दुलाहाले मात्र नभएर विवाहमा सरिक हुने पुरुषहरू सबैले दौरा सुरुवाल प्रयोग गर्ने चलन बढ्दै गएकाले यसको व्यापारसमेत वृद्धि भएको छ । राजधानीको बाङ्गेमुढामा विगत ५० वर्षदेखि नेपाली पोसाकको व्यापार गर्दै आएका वीरेन्द्र बज्राचार्यका अनुसार पञ्चायतकालमा यसको व्यापार ठूलो थियो, बीचमा केही सुस्त भएको यसको व्यापार हिजोआज पुन:चम्किएको छ । फेसनका रूपमा सादा दौरा–सुरुवाल रुचाउन थालिएको छ, भने उपहार स्वरूप विदेश पठाउने चलन पनि बढेर गएको छ ।
युवा पुस्तामा पलाउँदो राष्ट्रियता मोह, सभा समारोहमा जाँदा विशेष पहिरनका रूपमा नेपाली दौरा–सुरुवालको प्रयोग, निजामती कर्मचारी तथा सेना–प्रहरीमा नेपाली पोसाकलाई अनिवार्य गरिएकाले पनि यसको व्यापार चम्किएको छ । सिलाइबाट मात्र मासिक ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी हुने बज्राचार्य बताउँछन् ।
नेपालको राजनीतिमा राष्ट्रियताको मुद्दाले स्थान जमाउँदै गएपछि राष्ट्रिय पोसाकको व्यापारले तीव्रता पाएको छ । राष्ट्रिय पोसाकमा प्रयोग हुने कपडाको मूल्यका आधारमा सिलाइ मूल्य जोड्ने व्यापारीहरू सामान्य नेपाली राष्ट्रिय पोसाकको मूल्य ४ हजारदेखि १ लाख रुपैयाँसम्म पर्ने बताउँछन् । कपडा र सिलाइको गुणस्तरले यसको मूल्य निर्धारण गर्ने गरेको छ ।