तपाईंंको फेसबुकमा विभिन्न गेम खेल्न अनुरोध आउने गरेको होला । कतिपयले त यस्ता गेम खेल्न अनुरोध नपठाउन फेसबुक वालमै चेतावनी दिएको पनि पाइन्छ । क्यान्डी क्रस, फार्म हिरो आदि विभिन्न गेम अनलाइन रूपमा लोकप्रिय छन् ।
फेसबुकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार फेसबुकका १ अर्ब ३० करोड प्रयोगकर्तामध्ये मासिक रूपमा ३१ करोड ५० लाख प्रयोगकर्ताले कमसेकम एउटा गेम खेल्छन् । त्यस्तै गेम खेल्न अनुरोध गर्दै पठाइने नोटिफिकेसनको संख्या पनि बढेको छ । प्रयोगकर्ताले हरेक दिन ७३ करोड ५० लाख नोटिफिकेसन पठाउने गरेको फेसबुकले जनाएको छ । खासगरी स्मार्टफोन, एन्ड्रोइड र डेस्कटप तीनवटै स्थानमा खेल्न मिल्ने गेमबाट धेरैले पैसा कमाउने गरेको तथ्यांक पनि फेसबुकले सार्वजनिक गरेको छ । एकभन्दा धेरै प्लेटफर्ममा गेम खेल्ने प्रयोगकर्ताले एउटै प्लेटफर्ममा मात्र खेल्नेभन्दा साढे तीन घण्टा बढी समय बिताउँछन् । उनीहरूले गेम किन्न पनि त्यति नै पैसा खर्च गर्छन् । उनीहरूले विज्ञापनमा पनि त्यति नै धेरै क्लिक गर्छन् । फेसबुकले गत नोभेम्बरमा गरेको सर्वेक्षणका आधारमा उक्त तथ्य सार्वजनिक गरेको हो ।
यसरी सर्वाधिक खेलिने गेममा क्यान्डी क्रस सागाले सबैलाई उछिनेको छ । सन् २०१२ को अप्रिलमा सोसल नेटवर्कमा लन्च भएको र नोभेम्बरदेखि मोबाइलमा प्रयोग गर्न मिल्ने बनाइएको यो गेम एप्पलको एप स्टोर र गुगल प्ले मार्फत डाउनलोड गर्न सकिन्छ । यसलाई किङ कम्पनीले निर्माण गरेको हो । गत सन् २०१३ का अन्तिम तीन महिनामा मात्र प्रयोगकर्ताले यसका लागि लगभग ५ करोड डलर खर्च गरे । यो खेल निश्चित लेभलसम्म खेलेपछि अर्को लेभल पार गर्न साथीबाट अनुमति अर्थात टिकट लिनुपर्ने हुन्छ । ३ जना साथीले टिकट पठाइदिएपछि वल्ल अर्को लेभलमा पुगिन्छ र त्योभन्दा माथिको लेभल खेल्न मिल्छ । यदि साथीहरूले टिकट पठाइदिएनन् भने त्यही अडकिएर बसिरहनुपर्छ । यसले गर्दा पनि क्यान्डी क्रस खेल्न विभिन्न नोटिफिकेसन आउने गरेको पाइन्छ ।
कुनै समय फेसबुकमा बढी खेलिने गेममा फार्म हिरो सागा दोस्रो र पेट रेस्क्यु सागाले तेस्रो स्थान हासिल गरेका थिए । यसभन्दा पहिले फेसबुकमा फार्मभिल्ल टु शीर्षकको गेम लोकप्रिय थियो । गत वर्षको मार्च महिनामा क्यान्डी क्रसले फार्मभिल्ललाई पछि पार्यो । यसले संसारमै सर्वाधिक बढी खेलिने खेलका रूपमा कीर्तिमान बनायो । यी तीनवटै गेम किङ कम्पनीका उत्पादन हुन् । किङ भन्दा पहिले जिंगा कम्पनीका उत्पादन फेसबुकमा लोकप्रिय थिए । जिंगाले सन् २०१२ को मध्यदेखि सन् २०१३ को अन्त्यसम्ममा ६३ प्रतिशत प्रयोगकर्ता गुमायो ।
स्ट्याटिस्टा डटकमका अनुसार यही अगस्ट महिनामा क्यान्डी क्रस सागाका प्रयोगकर्ता लगभग १५ करोड पुगेका छन् भने दोस्रा नम्बरमा रहेको क्यान्डी क्रस सोडा सागाका प्रयोगकर्ता ३ करोड ६० लाख छन् । त्यसपछि क्रमश: अन्य गेम छन् । यद्यपि क्यान्डी क्रसको तुलनामा तिनका प्रयोगकर्ताको संख्या निकै कम छ ।
पछिल्लो समयमा विभिन्न प्रकारका गेम बजारमा प्रचलित छन् । यस्ता गेम मोबाइलदेखि लिएर कम्प्युटर र ठूला गेम जोनसम्ममा खेल्न सकिन्छ, तर पनि फेसबुकमार्फत आएका गेम खेल्नेहरू धेरै छन् । यद्यपि पैसा हुनेहरू भिडियो गेमका लागि आवश्यक सामग्री किनेर घरमै पनि गेम खेल्छन् । नहुनेहरू गेम जोनमा गएर खेल्छन् । यस्ता गेममा विशेष गरी एक्सन, एड्भेन्चर वा स्पोर्ट्स गेम नै प्रचलित भएको पाइन्छ । यी गेम अफलाइन गेमका रूपमा प्रचलित छन् । अनलाइन रूपमा पनि इन्टरनेटमै विभिन्न गेम खेल्न सकिन्छ । कतिपय खेलाडी व्यवसायिक रूपमै पनि यस्ता गेम खेल्छन् ।
फेसबुकमा धेरै खेलिने गेम
संख्या | गेमको नाम | प्रयोगकर्ताको संख्या |
१ | क्यान्डी क्रस सागा | १५ करोड |
२. | क्यान्डी क्रस सोडा सागा | ३ करोड ६० लाख |
३. | फार्म हिरो सागा | २ करोड ९० लाख |
४. | एइट बल पुल | २ करोड ६१ लाख |
५. | क्रिमिनल केस | २ करोड ४१ लाख |
६. | क्लास अफ क्लान्स | २ करोड २९ लाख |
७. | पेट रेस्क्यु सागा | २ करोड |
८. | ट्रिभिया ज्याक | १ करोड ८२ लाख |
९. | सबवे सर्फर्स | १ करोड ७० लाख |
१०. | ड्रागन सिटी | १ करोड ४६ लाख |