दसैं र तिहार जस्ता चाडपर्वमा रमाइलो गर्ने विभिन्न उपाय छन्, तर प्रविधिका कारण अब रमाइलोका लागि साथीभाइसमेत नचाहिने भएको छ । स्मार्टफोनमा विभिन्न प्रकारका खेल खेलेर पनि समय बिताउन सकिन्छ । तास नै खेल्न अब स्मार्टफोनले सहयोग पुर्याउँछ । कम्प्युटर भए अझ ठूलो स्क्रिनमा खेल्दा थप मज्जा आउँछ । अनलाइन रूपमा विभिन्न खेल डाउनलोड गरेर खेल्न सकिन्छ । नेपाली डेभलपरहरूले पनि नेपालकै सन्दर्भमा विभिन्न गेम बनाएका छन् । भर्चुअल गेमका कतिपय एप्ससमेत उपलब्ध छन् । भर्चुअल रूपमा खेलिने यस्ता गेमबाट पनि पर्याप्त मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।
म्यारिज
म्यारिज तासका तीन जोडी मिलाएर खेलिन्छ । २ देखि ५ जना व्यक्ति प्रत्येकलाई २१ वटा पत्ता बाँडिन्छ । म्यारिजका पनि विभिन्न नियम छन् । ती नियमका कारण पनि यो बढी रुचिकर हुन्छ । यो खेल भुस डटकममा उपलब्ध छ ।
धुम्बल वा झ्याप
झ्यापको नियम निकै सामान्य छ र नयाँ व्यक्तिले पनि यो गेमका बारेमा एक मिनेटमै बुझ्न सक्छ । यद्यपि यसका लागि खेलाडी सधैं चनाखो हुनुपर्छ र आँखा पनि सबैतिर लगाइरहनुपर्छ । यो तीव्र गतिको खेल मानिन्छ । यो खेल भुस डटकममा उपलब्ध छ ।
बाघचाल
यो खेल दुई जना व्यक्ति मिलेर खेल्न सकिन्छ । यो खेलको विकास रावणकी श्रीमती मन्दोदरीले गरेको मानिन्छ । भनिन्छ, लंकामा एक्लै हुँदा उनी यही गेम खेल्थिन् । एक जना व्यक्तिले चारवटा बाघ र अर्कोले २० वटा बाख्रा चलाएर यो खेल खेलिन्छ । बाघचाल खेल्न बाघचाल डटकममा जान सकिन्छ ।
नेपाल जिल्ला
नेपाललाई ७५ जिल्लामा बाँडिएको छ । यो त्यसैका आधारमा निर्माण गरिएको स्मार्ट पजल गेम हो । यसमा नेपालको नक्सामा जिल्लाहरूलाई सही स्थानमा मिलाएर राख्नुपर्छ । कम्प्युटरको माउसलाई विभिन्न जिल्लामा पुर्याएर क्लिक गर्दै यो गेम खेल्न सकिन्छ । जति छिटो स्थान मिलाएर राखिन्छ, त्यति नै बढी स्कोर आउँछ । यो खेल वन्डरनेपाल डटकममार्फत खेल्न सकिन्छ ।
स्ल्याप नेता (एन्ड्रोइड एप)
यो एन्ड्रोइड एप गेम हो । नामबाटै पनि यसको अर्थ थाहा हुन्छ । यसमा विभिन्न क्यारेक्टरलाई गेमको निर्देशनअनुसार थप्पड हानिन्छ । जब नेता अर्थात् कुनै क्यारेक्टर बोल्न थाल्छ, खेलाडीले त्यसलाई थप्पड हान्नुपर्छ । यो खेल गुगल प्ले स्टोरबाट डाउनलोड गरेर खेल्न सकिन्छ ।
हनुमान–मिसन सञ्जीवनी
यो रामायणको कथामा आधारित एक प्रकारको गेम हो । यो एन्ड्रोइड एपका रूपमा उपलब्ध छ । रामका भाई लक्ष्मणलाई चोट लाग्दा हनुमान विशेष प्रकारको जडिबुटी अर्थात् सञ्जीवनीको खोजीमा हिमालय पर्वततर्फ लाग्छन् । त्यसैलाई आधार मानेर यो गेम डिजाइन गरिएको छ । यो गेममा हनुमान हिमालयमा जाँदाको यात्रालाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ । बाटोमा विभिन्न राक्षससँग लड्दै उनी हिमालय पर्वत पुग्छन् । यो गेम विभिन्न लेभलमा उपलब्ध छ । एक लेभलपछि अर्को लेभलमा जान सकिन्छ । यसलाई पनि गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
गो बनाना
गो बनाना बाँदर र केरामा आधारित एन्ड्रोइड गेम हो । यसमा धेरैभन्दा धेरै–धेरै केरा जम्मा गर्नुपर्छ । यो क्लासिक, एड्भान्स र टाइमर गरी तीन भर्सनमा उपलब्ध छ । खेल्दै जाँदा कोकोनटलाई हिट गरियो भने खेल नै समाप्त हुन्छ । यसलाई गुगल प्ले स्टोरबाट डाउनलोड गरी खेल्न सकिन्छ ।